गुराँस : छायादत्त न्यौपाने ‘बगर’ (कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ १५।
समय खाइरहेछ पर्ख र हेरले
निस्तेज बन्दै जीवनका उर्जावान् क्षणहरू
चकमन्न छ जीवनसङ्ग्राम
अग्लो पर्खाल चढेर बाटो थुन्दै छ पुँजीवाद
मालाखेतीमा बेहिसाब मस्त दासमनोवृत्ति
सिपजाँगर विनाका खेतालाहरू
रमाइरहेछन् गुटविन्दु स्वादमा
देख्दैनन् पदासीन आँखाहरू
बल्झिरहने झोपडीका घाउहरू
मस्त तरमारा पैरवीमा हाम्रा मान्छे
कूटनीतिक सामथ्र्यहीन विलासप्रेमी
वैयक्तिक दबदबे पारखीका भक्तहरू
कानै नछामी दौडिन अभ्यस्त मतदाताहरू
उस्तै हिजोजस्तै कटकटिएको दासमन
पाखुरा खुम्च्याई खुम्च्याई भत्काउँछ स्वाभिमान
पुरुषार्थ देख्छन् मालाखेतीमा अकर्मण्य हातहरू
हौसिएको निहुरिमुन्टे नसँग
हुर्किएको विसङ्गति उधिनेर
स्वच्छ स्वाधीन समाज निर्माण हेतु
बजेको विगुल र गरेको विपुल कटुवालीमा
जुझारु चेतनाका वाहक सन्तति
उत्साही आँखा र जोसिला पाइला टेकेर
हिजो बार भाँचेको हुँडार लखेट्ने उच्च मनोबल
गौरवशाली इतिहासका पानाजडित
अनन्त मुस्कान झुलिरहेको गुराँसले
सर्वाङ्ग आमा सजाउन
खै कहिले उठ्ने हामी सपूत ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक