पदै ठूलो कुरो होइन : अर्जुन नेपाल (कविता )

पदै ठूलो कुरो होइन : अर्जुन नेपाल (कविता )

कपन अनलाइन

काठमाण्डौ , माघ ९ ।

हुन त पदै ठूलो कुरो होइन
तर त्यसो भन्दैमा
नारा लाउनी म
घोक्रो सुकाउनी म
पार्टीको लागी भोक र निद्रा नभन्नी म
अनि मूला सचिव नि नपाउनी त
मैले ?

हुन त पदै ठूलो कुरो होइन
पद बाहिर बसेर पनि जनताको काम गर्न सकिन्छ
ल, ठीक छ ।
त्यसो भन्दैमा
पार्टीमा जीवनै सक्नी म
पार्टीमा लागेर व्यापारै
चौपट बनाउनी म
घर बिगार्नी म
अनि नाथे सचिव नै नपाउनी भए राजनीति चैँ किन गर्नु के ?

हुन त पदै ठूलो कुरो होइन ।
पदको आस गर्या  पनि होइन ।
तर …
गाउँ कमिटीको सदस्यबाट
विकास हुनी म,
विद्यार्थी संगठन चलाइदिनु पर्नी मैले
युवा संगठन चलाइदिनु पर्नी नि मैले
पाँचपाँच पटक जिल्ला कमिटी सदस्य हुनी म
अनि अहिले आर नाथे सचिव पनि हुन नपाउनु मैले चैँ ?
हँ ?

हुन त पदै ठूलो कुरो होइन
पद नभए नि केही हुन्न ।
त्यसो भन्दैमा
अप्ठ्यारो बेलाँ पार्टी जोगाउनी म
बाउको गाली खाँदा खाँदै महाधिवेशनको चिसो खानी म
तपाइँहरूलाई नेता बनाउन लाग्नी म
अनि नाथे सचिव नि हुन नपाउनी म चैँ ?

हुन त पदै ठूलो कुरो होइन
नाथे पद चाहिया पनि छैन ।
अँ अनि त्यसो भन्दैमा
मसँगैको साथी जिल्ला अध्यक्ष भइसक्यो
मामाको छोरो आफ्नै पार्टीको केन्द्रीय सदस्य भईसक्यो,
काका अर्काे पार्टीको
केन्द्रीय सदस्य भइसके
अनि म चैँ
जाबो सचिव नि हुन नपाउनी ?

हुन त पदै ठूलो कुरो होइन
पद चाहिया पनि हैन
नाथे पदले मात्र केही गर्नी पनि होइन
तर
यसपालि ज्यान जाला पद छोडिन्न ।
अझ सचिवमा त्यो मूला पो उठ्नी रे,
त्यो सचिवमा उठेपछि म
त्यो भन्दा तल त मरेनि उठ्दिन ।
मेरो इज्जत छैन ?
मेरो हैसियत छैन ?
म सँग दुईचार पैसो छैन ?
त्यसकारण
यसपालि अधिवेशनमा
अध्यक्ष त बन्नी हो बन्नी हो ।
नाथे अध्यक्ष नै नपाए
यत्रो समय राजनीति ग¥या के काम ?
दाइको पछि लाग्या के काम ?
पछि दाइलाई काम लाग्नी को ?
त्यसैले दाइ,
यसपालि त
अध्यक्ष जसरी नि बन्नु पर्छ ।
नभए पार्टीमा बसिराखेर मात्र केही उपलब्धी छैन ।
कुरो बुझ्नुभो नि दाइ ।

हुन त पदै ठूलो कुरो होइन दाइ ।
दाइलाई था छँदै छ नि है दाइ ।
जसरी नि है दाइ ।
है दाइ ?
ल दाइ ?
है है दाइ ?
ल दाइ ? ल ? ल ?
हुन्छ भन्नु न दाइ ।
हस् दाइ । हस् हस् । धन्यवाद दाइ ।
अनि सुन्नु त दाइ
हुन त पदै ठूलो कुरो होइन नि
है दाइ ?
दाइले कुरो बल्ल बुझ्नु भो नि दाइ ।
हस् दाइ ।
गुड मर्निङ दाइ ।

सहकार्य : कपन बानेश्वर साहित्यक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।