कोटेश्वरमा मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर कीर्तिपुरमा लुकाएको अवस्थामा फेला पर्यो

कपन अनलाइन

काठमाण्डौ ,माघ ५।

काठमाडौंको कोटेश्वरमा गए राति मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर कीर्तिपुरमा लुकाएको अवस्थामा फेलापरेको छ ।

टिपरले प्रदेश ३–०२–०२६ प १८२४ नम्बरको मोटरसाइकल ठक्कर दिँदा मोरङको पथरी घर भई भक्तपुरको सल्लाघारी बस्ने २७ वर्षीय प्रकाश लिम्बूको मृत्यु भएको थियो । उपचारका लागि ट्रमा सेन्टरमा लगिएकोमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मोटरसाइकलमा पछाडि सवार काभ्रेको नमोबुद्द नगरपालिका घर भई बनेपा बस्दै आएका ३१ वर्षीय देव लामा घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार हिजो टिपरको नम्बर पहिचान हुन सकेको थिएन् । प्रहरी परिचालन गरी अनुसन्धान गर्दै जाँदा आज बिहान कीर्तिपुर, सुन्दरीघाटस्थित दोभानमा लुकाइराखेको अवस्थामा सो टिपर र चालक फेलापरेका थिए ।

ना१क ४५०२ नम्बरको टिपरसहित चालक रमन कन्स्ट्रक्सनको क्याम्प कीर्तिपुर, सुन्दरीघाट बस्ने ५२ वर्षीय सुब्बा श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।