दुई कथा : अवतार ढकाल (लघुकथा )

दुई कथा : अवतार ढकाल (लघुकथा )

कपन अनलाइन

काठमाडौँ, पौष १७।

एउटा अधबैंसे कथाकार । एउटा नयाँ शहरमा घुम्न आएको थियो, एक्लै । शहरका प्रत्येक जसो दृश्यमा पात्र र कथाका विषयबस्तुहरु खोजिरहेको थियो ।
‘अहो । सर नमस्कार ।’ सामुन्नेबाट आवाज आयो । एउटी २०, २१ बर्षकी युवती दुबै हात जोडेर उभिएकी थिई ।
नचिनेकी युवती । नयाँ ठाउँ । ‘के भनेर बोल्ने ?’ उसले झट्ट कुनै विषय नै फेला पारेन ।
‘म तपाईंका कथाहरुको नियमित पाठक । खुब मन पर्छ । मीठो लेख्नुहुन्छ ।’ युवती सम्मुख हुने गरि एउटा कुर्सीमा बसि ।
उसले अर्कोकप चिया मगायो । यति टाढाको ठाउँमा पनि आफ्नो कथाको तारिफ गरिदिने पाठक
भेट्टाउँदा प्रफुल्ल भयो । युवतीले आफु पनि साहित्यको विद्यार्थी साथै सिकारु सर्जक भएको बताइ ।
युवती दिनभर हराइन कथाकारको दिमागबाट । बेलुका खाना खाएर होटलको कोठामा पसेपछी कथाकार विहानको घटनालाई कथाको रुप दियो । केही सत्य, केही काल्पनिकता । कथाको अन्तमा लेख्यो “उसको केश, उसका आँखा, आँखाको चमक, त्यो मादकता अनि त्यो बौद्धिकता । यो भेट बीस बर्ष अगाडि भएको भए ……….।’
फेसबुक लगअन गर्दै कथा पोस्ट गर्यो । अलिकति तल सार्ने बित्तिकै उही बिहानकी युवतीको कथा देखापर्यो । उहि घटना उहि पात्र, उहि समय र उस्तै लेखाइ । अन्त्य फरक थियो । युवतीको कथाको अन्तमा लेखिएको थियो ः “ ढल्कँदो उमेर, उमेरमा कपाल थियो भन्ने केही प्रमाण भएको टिलिक्क टल्केको टाउको , कदर गर्न लायकको हल्का मादक हेराइ र बौद्धिकता । उसले चियाको चुस्की मुखमा राख्यो मतिर हेर्यो , एकछिन हेरिरहयो र घुटुक्क निल्यो ।“

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।