विना गजूरको मन्दिर हो देश: निर्मल रमण पराजुली (कविता )
कपन अनलाइन
काठमाण्डौ ,पौष १०।
भाषा मुटु हो
संस्कार र संस्कृति शरीर
दुवै रहने स्थल
विना गजूरको मन्दिर हो देश
अभावले विदेश ओर्लेर
मेसीन घुमाऊँ
देश घुम्छ
चाहे दुःखले थकित भएर सास फेरौँ
आशाको अग्लो हिमाल भएर
देश पग्लन्छ
चाहे खुशी भएर महफिल जमाऊँ
त्यहाँ
अझ आफ्नै चेलीका चोला
र चेलाका भोटा
दौरा सुरुवालमा घाटुनाँचसँगै
देश फैलन्छ विदेशमा
देशभित्र के गर्छन् थाहा हुन्न देशका लागि
तर विदेशको बिझाइमा देश !
सम्झनाको मलम बन्छ
अभावमै त
मूल्यबोध हुँदोरहेछ
हरेक चिजको र वस्तुको
अनि जुर्मुराउँछन्
विदेशमा नेपाली मुटुहरू
कतै अनेसासका हिमाल बनेर
कतै एनआरएनका फराक दिल बनेर
कतै नेपाली साहित्यकार समूहमा स्थित
विश्व सञ्जालका अग्ला सगरमाथा बनेर
जहाँबाट हेरौँ
जताबाट हेरौँ
जसरी हेरौँ
घरमै बसेर
घरकै खाएर
घर भत्काउने नेपालीभन्दा
घर छाडेर
दिल दुखाएर
श्रम चुहाएर
विदेश बस्ने नेपालीले
सही अर्थमा
देश बँचाएको छ
भेष बँचाएको छ
भाषा बँचाएको छ
संस्कृति बचाएको छ
संस्कारको सञ्जीवनी
फैलाएको छ
र त भन्न मन लाग्छ
भाषा मुटु हो
संस्कार नसा हुन्
संस्कृति शरीर हो
दुवै रहँनेस्थल
विना गजुरको मन्दिर हो देश
नजिकको देवता
हेलाँ भनेझैँ घरभित्रकैले घर
फोहर गरे पनि
यात्रारत सुदूर पुगेर
दुःख सहेका सहिरहेका यात्रुले
देशको मुटु भाषामा
संस्कृतिमा, संस्कारमा
सञ्जीवनी छरेर
सजीव बनाएका छन्
विना गजूरको मन्दिर
मेरो देशलाई…!
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक