क्षेत्र नं. ४ नेपाली कांग्रेसमा अधिवेशनको सरगर्मि शुरु
कपन अनलाइन/चैत्र ११, २०७१
देशकै सर्वाधिक चर्चित युवा नेता गगन कुमार थापाको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं. ४ मा नेकाको श्रावण हुने अधिवेशनको सरगर्मि शुरु भएको छ । विगत अधिवेशनमा गगन थापाको एकलौटी प्रभुत्व रहेको यस क्षेत्रमा यो वर्ष उनको प्रभु्रत्व कस्तो रहने हो भन्ने अट्कल पनि चर्चाको विषय बनिरहेकाेछ । त्यसैगरी अधिवेशनबाट को को इकाइमा आउने र को को बुथमा जाने विषयमा पनि मौखिक दावेदारी शुरु भएको छ ।
अघिल्लो अधिवेशनमा जस्तो यसपाला गाविस नरहेको अवस्थामा धेरै इकाइहरु रहने र कुन इकाइबाट कस्ता मानिस अघि बढाउने भन्ने कुरामा नेपाली कांग्रेस क्षेत्रीय कमिटि र सभासद गगन थापा भित्री गृहकार्यमा लागेको श्रोतले बताएको छ । सभासद थाापा यस अधिवेशनमा पनि गत अधिवेशनमा झैं आफ्नो पकड बनाउन प्रयासरत छन् भने उनलाई टक्कर गर्ने व्यक्तिसमेत देखिदैन । तथापि हाल क्षेत्रीय सभापति रहेका न्हुच्छेनारायण श्रेष्ठले खेल्ने भूमिका भने सभासद थापाको लागि सबैभन्दा महत्वपूर्ण मानिन्छ । किनकी सभापति श्रेष्ठ देख्नका लागि थापा लाइनको देखिए पनि कुनै पनि बेला गुट परिवर्तन गरेर प्रकाशमान सिंहको लाइनमा लाग्न सक्ने अट्कल काट्नेहरु धेरै छन् । यदि न्हुच्छे नारायण श्रेष्ठबाट राम्रो सहयोग पाउने हो भने सभासद गगन थापाको लागि क्षेत्र नंं. ४ यसपटक पनि सहज अधिवेशन हुनेछ । यद्यपि केही जिल्ला सदस्य तथा वर्गीय संगठनका केही व्यक्ति गगन थापाको कट्टर आलोचक पनि छन् । तर उनीहरुको सांगठनिक प्रभाव कमजोर भएकाले खासै प्रभाव नपर्ने देखिन्छ ।
क्षेत्रीय सभापति को होला ?
जनसंख्याको आधारमा हेर्ने हो भने नेवार मत यस क्षेत्रमा दोस्रो स्थानमा रहे पनि यस पटकको अधिवेशनमा एकपटक फेरि नेवार प्रतिनिधि नै क्षेत्रीय सभापति हुने सबैको अनुमान छ । गगन थापाले यसपाला क्षेत्रीय सचिव श्यामकृष्ण संगतलाई क्षेत्रीय अध्यक्षको रुपमा ल्याउने धेरैले अनुमान गरेका छन् । सचिव संगतको कामकाज तथा कृयाशिलताले उनलाई सभापति हुन कसैले रोक्न नसक्ने एक जिल्ला सदस्यले कपन अनलाइनलाई बताए । त्यसैगरी साविक चपली गाविसका सानु श्रेष्ठ, साविक महांकाल गाविसका गणेश कोइराला पनि संभावित क्षेत्रीय सभापतिका आकांक्षीका रुपमा देखिएका छन् । हाल क्षेत्रीय सभापतिले न्हुच्छेनारायण श्रेष्ठ उपसभापति केशव ढकालले बुथ प्रतिनिधि हुदै जिल्लामा जाने मनसाय राखेको अवस्थामा क्षेत्रीय सचिव नर्मदा पोखरेल तथा कोषाध्यक्ष मिना पराजुलीले पनि क्षेत्रीय सभापतिको दावी गर्न भने सक्ने देखिन्छ । क्षमतावान् महिला प्रतिनिधि भएका कारण उनीहरुले दावी गरे भने अर्थपूर्ण हुने अनुमान गर्न सकिन्छ । सबैभन्दा ठूलो जनसंख्या भएको तत्कालिन गाविस भए पनि कपनले यसपाला पनि क्षेत्रीय सभापतिमा दावी गर्ने सम्भावना न्यून छ ।
घम्साघम्सी बुथ प्रतिनिधिका लागि
बुढानीलकण्ठ नगरपालिका भएपछि क्षेत्र नं. ४ मा १६ वटा वडा इकाई बन्ने छन् । जसमा ४ महानगरपालिकाबाट र १२ वटा बुढानीलकण्ठ नगरपालिबाट हुनेछन् । १६ जना इकाई सभापति र एक महिला सदस्य सिधै बुथमा जान पाउने भएकोले यी मानिस कस्ता आउने हुन् भन्ने चिन्ता छ सभासद गगन थापालाई । महानगरपालिकाको बुथबाट ११ जनाले बुथबाट प्रतिनिधित्व गरेर जान पाउनेछन् भने नगरपालिकामा जम्मा ४ जनाले बुथको प्रतिनिधित्व गर्न पाउनेछन् । १०० भन्दा धेरै कृयाशिल सदस्य भएको नगरपालिकाको वडाले १ जना थप बुथ सदस्य पाउनेछ । त्यसैगरी आरक्षण बुथ सदस्यको रुपमा नगरपालिकाले २ जनजाति, २ जना दलित र २ जना अल्पसंख्यकलाई प्रतिनिधित्व गरेर जान पाउनेछन् । कार्यकर्ताभन्दा नेता धेरै भनेर चिनिने नेपाली कांग्रेस पार्टीभित्र बुथ सदस्य बनेर माथि जान सदैव घम्साघम्सी हुने गर्दछ । आसन्न अधिवेशनमा पनि बुथ प्रतिनिधिकै लागि घम्साघम्सी हुने प्रायः निश्चित छ । यो घम्साघम्सीमा सभासद गगन थापाले कसरी आफ्ना मानिस चयन गर्लान् त्यो भने हेर्न बाँकी छ । तथापि राजनीतिका सबै पक्षलाई सुक्ष्म विश्लेषण गर्ने रुपमा चिनिएका सभासद थापाले आफू अनुकुलको व्यक्ति क्षेत्र तथा इकाइमा ल्याउने पक्का छ ।