उपचार नपाउँदा २४ वर्षदेखि घरभित्रै

उपचार नपाउँदा २४ वर्षदेखि घरभित्रै

पानीको कुनै रंग हुँदैन । त्यस्तै आँसुको पनि । हुन सक्छ जिन्दगीको पनि । र त, पानीले जस्तो भाँडामा राख्यो त्यस्तै आकार लिइदिन्छ । सवैका आँखाबाट चुहीने पीडाका आँसुको रंगपनि भिन्न भिन्नै हुँदैन ।  जिन्दगी पनि त्यस्तै हो । सुख दुःखमा उसैगरी जिन्दगीरुपी रथलाई अगाडि बढाइरहनु पर्दछ । पानी जस्तै जिन्दगीले पनि सुख दुःखमा आकार लिन सक्नु पर्दछ । तर, सिन्धुपाल्चोक जिल्ला थकनी गाविस वडा नं.३ की चन्द्र कुमारी चौलागाईंका लागि यी सव भन्ने कुरा मात्र हुन् ।

1Sindu_image

 

प्रत्येक दिन क्षितिज उघार्दै घाम उदाउँछ र साँझ निम्त्याएर विदा हुन्छ । चन्द्रकुमारीका लागी के दिन के रात सरोवरी छ । आफूसँगै जन्मेकाहरूको प्रगती र जीवन यात्रा देखेर उनी मनमनै कल्पिँदै र आफूलाई दुखित् तुत्याउँदै बसिरहेकी छिन् ।

उनी विगत २४ वर्ष देखि घरको चार पर्खाल छोडेर बाहिर आउन सकेकी छैनन्। सकुन् पनि कसरी ?  शारिरिक अस्वस्था र अपांगताले उनको जीवनलाई कुँज्याइदिएको छ र घरको अँध्यारो कुनामै सिमित गराई दिएको छ ।

उनको दिनहरू, पीडाका आँसु बगाएरै वित्छ । एकातिर आफ्नो अवस्था अर्कोतिर आमाको दुःख र पीडाले उनको मन निकै अमिल्लिएको छ । यस्तैमा उनलाई अर्को चिन्ताले सताउन थालेको छ हिजोआज, ‘आमाको देहान्त पछि आफ्नो अवस्था के होला ?’

उनको सुरुको अवस्था यस्तो असामान्य थिएन । सात वर्षको उमेरमा उनको जीवनमा यस्तो बज्रपात आइलागेको हो । बुबाको साथ लागेर घट्ट गएकी उनी घर फर्कंदा अपांग भएर फर्किइन् । बाटामा उनी लडेकी पनि होइनन् । र, भारी बोकेकी पनि थिइनन् ।

download (1)

‘घट्टबाट घर फर्केलगत्तै खाना खान बसेकी थिई एक्कासी काँप्न थालिन्’ आमा कालिका चौलागाईंले विगतका कुरा सुनाउँदै भनिन् ‘त्यसपछि हामीले केही लागेछ क्यारे भने हेराउन धामीकहाँ लग्यौ, तर व्यथा नीको भएन।’

त्यसपछि सुरू भयो उनका दुर्दिनहरू । उनी विरामी भएको केही समयमै बुबा पनि विते । बुबा छउञ्जेल उनलाई धेरै धामी झाँक्रीकहाँ नलगेको होइन । धामी झाँक्री कहाँ लैजाँदा लैजाँदै उनलाई व्यथाले च्याप्दै लग्यो ।

सुरु सुरुमा वेहोस हुने, काँप्ने गरेपनि उनी अपांग नै भने थिइनन् तर उचित उपचारको अभावमा उनी झन् थला पर्दै गइन् । अहिले उनी साहारा विना एक पाइलो पनि अगाडि बढ्न नसक्ने गरी थलिएकी छिन् र राम्रोसँग बोल्न समेत सक्दिनन् ।

एकातिर दुई आमा छोरी मात्रै अर्को तिर आमा पनि दमको विरामी, निकै अप्ठ्यारो आइलागेको छ । जीवन बाँच्न कठिन हुन थालेको छ । आमा कालिकाले बाख्रा पालेकी थिइन् । त्यही बाख्रा बेचबिखन गरेर उनीहरूले जीवन गुजारा गर्ने गर्थे ।  अचेल आमाको हात बसेको छ, उनी घुमफिर गरेर खर्च जुटाउने अवस्थामा पनि छैनन् । त्यसकारण उनीहरूको जीवन कष्टकर बन्न थालेको हो । र, विहान बेलुका चुल्हो बाल्न  ती अपांग छोरीलाई पाल्न उनलाई कष्टसाध्य हुन थालेको छ ।
download
‘म सक्ने हुँदा त खोजमेल गरेर ल्याएर खुवाउँछु, म विरामी भएर थला परेपछि यसलाई कसले हेर्ला ?’ आमा कालिका रुँदै सुनाउँछिन् । त्यसो त आमाको अस्वस्थताले चन्द्रकुमारीलाई पनि निकै दुःखी बनाइरहेको छ

३० वर्षे भरभराउँदो जवानी र लाउँलाउँ खाउँखाउँको उमेरमा अतिअशक्त बनेर एउटै थलोमा जीवन विताउनु परेको उनको पीडालाई शव्दमा उर्तान निकै कठिन छ । घाम मुस्किलले लाग्ने र विरलै मानिसहरू पुग्ने घरमा उनले मुख बोल्ने र आफ्ना पीडा व्यक्त गर्ने मानिस समेत पाउँदिनन् रआमा छोरी एक अर्काका सहारा बनेर दुःखदायी जीवन विताई रहेका छन् । केही वर्ष अघि सम्म कान्छी छोरी थिइन् । उनी पनि विवाह गरेर गएपछि उनीहरूको हात भाँचिएको छ र साहारा गुमेको छ ।

उचित उपचार, स्याहार पाउने हो भने उनको रोग निदान हुन सक्छ र उनी हिँडडुल गर्न सक्थिन् । पैसा नभएकै कारण चन्द्रकुमारीको रोगको उचित उपचार हुन सकेको छैन र उनी  पिँढीबाट ओर्लेर आँगन सम्म आउन सकेकी छैनन् । आँखा अघिल्तिर ठिंग उभिएझैँ शिवपुरी हेर्दै  जिन्दगी बिताउन बाध्य छिन् ।

सुुकेर मुरली जस्तै भएको शरीर र शारिरिक अस्वस्थताले उनी जिर्ण बन्दै गइरहेकी छिन् । ‘के गर्नु मर्न नसकिने रहेछ ?’ आँखाको चेपबाट आँसु बगाउँदै उनी आफ्नो पीडा सुनाउँछिन् । ‘मेरो कारणले आमालाई निकै दुःख भएको छ त्यसकारण कसैले सहयोग गरिदिए हुन्थ्यो उनी थप्छिन् ।

राज्यले उनलाई ‘क’ श्रेणीको अपांगताको परिचयपत्र बनाइदिएको छ र बार्षिक भत्ता पनि दिने गरेको छ । तर, राज्यले दिएको भत्ताले मात्र जीवन धान्न सकिने अवस्था छैन । आमाको बुढ्यौली उमेर र बढ्दो दुःखले उनलाई त्यो थलोबाट कसैले उद्धार गरिदिए हुन्थ्यो लागिरहेको छ ।

उनले अति अशक्त अपांगताको क्षेत्रमा काम गर्ने संघ संस्थाका बारेमा पनि नसुनेकी होइनन् । तर पहुँचका कारण उनले ती संस्थाको सहयोग लिन सकेकी छैनन् । उनी सहयोग गर्ने कुनै हातहरू पाए धन्य हुने बताउँदै तिनै मनकारीहातहरूको प्रतिक्षामा आँखा लोलाई रहेकी छिन् ।

अपांगताको क्षेत्रमा काम गर्ने संघ/संस्था र सरोकारवाला निकायहरूलाई उनको एउटै अनुरोध छ, ‘यदी तपाईंहरूको संस्थाले वास्तवमै अपांगताको क्षेत्रमा काम गरिरहेको छ भने एकचोटी मेरो अवस्था नियाली दिनुहोस् र सहयोग गरिदिनुहोस्।’
प्रस्तुतिः रामनाथ खनाल

 

तपाइँको प्रतिक्रिया ।