अपाङ्गताको क्षेत्रलाई सम्वोधन गर्न अधिकारको दृष्टिकोणले कानुन बनाउन माग

अपाङ्गताको क्षेत्रलाई सम्वोधन गर्न अधिकारको दृष्टिकोणले कानुन बनाउन माग

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २४।

अपाङ्गताको क्षेत्रलाई सम्वोधन गर्न बनाइएका कानुन र नीतिलाई कल्याणकारी सोचले नभई अधिकारको दृष्टिकोणले बनाउनुपर्नेमा जोड दिइएको छ ।
अपाङ्गता भएका महिलाहरूको महासङ्घले राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाललगायतका संस्थाहरूको समन्वयमा विहिवार राजधानीमा आयोजित कार्यक्रममा सरोकारवाला व्यक्तित्वहरूले सो कुरामा जोड दिएका हुन्  ।
कार्यक्रममा सो महासङ्घका अध्यक्ष निर्मला धितालले अपाङ्गताको सवालमा सङ्गठित हुने क्रमदेखि हालसम्म अपाङ्गता भएका महिलाको सहभागिताबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन्  ।
अध्यक्ष धितालले राजनीतिक सहभागीताका लागि महिलाका लागि भनेर छुट्टयाइएको ३३ प्रतिसत आरक्षण सिटका लागि अपाङ्गताको विविधतालाई समेट्ने गरी क्लष्टर छुट्याउन माग गरेकी छन  ।
अपाङ्गता अधिकार, पैरवी, सिप र नेतृत्व विकासका लागि महिला सङ्घ संस्था स्थापना गर्ने क्रम बढेको उनको भनाई छ ।
कार्यक्रमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले अपाङ्गता भएका व्यक्तिलाई समाजमा पछाडि पारिएको बताउँदै राष्ट्रिय मानवअधिकार आयोग यस क्षेत्रका मुद्दामा सँगै काम गर्ने प्रतिवद्धता जनाएकी छन  ।
उनले राजनीतिक दलको घोषणापत्रमै अपाङ्गता भएका व्यक्तिको सहभागिताको लागि उल्लेख गराउन पहलका लागि सुझाव दिनुभयो ।
खेलाडी देवी आचार्यले मानव अधिकार र अपाङ्गता भएका महिलाको सवाल विषयक सरोकारवाला निकायसँग अन्तरक्रियात्मक उक्त कार्यक्रममा अपाङ्गताबारे जागरणमुलक कार्यक्रमलाई गाउँका दुरदराजमा पनि पुर्याउनु  पर्नेमा जोड दिएकि थिइन्  ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका कार्यक्रम संयोजक अञ्जना श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै अपाङ्गताको क्षेत्रमा भइरहेको हिंसाको तथ्याङ्क सङ्कलन भइरहेको बताइन  । साथै उनले  महासङ्घले अपाङ्गता भएका व्यक्तिको मानवअधिकार रक्षाका लागि सिफारिस पनि गर्दै आएको जानकारी दिएकी छन  ।

तपाइँको प्रतिक्रिया ।