रमाइलो भेटघाट–फलदायी वार्तालाप : कलाधर काफ्ले (यात्रा–संस्मरण)

रमाइलो भेटघाट–फलदायी वार्तालाप : कलाधर काफ्ले (यात्रा–संस्मरण)

कपन अनलाइन
काठमाडौं, भाद्र ५ ।

करिब आठ वर्षअगाडिको कुरो हो । सन् २०१३ को सेप्टेम्बरमा मलाई मित्रराष्ट्र प्रजातान्त्रिक जन–गणतन्त्र कोरिया (प्रजगको अर्थात उत्तर कोरिया) को राजधानी प्योङयाङको भ्रमण गर्र्ने अवसर मिल्यो । नेपाल लिटरेरी फोरम फर सोङ्गुन पोलिसी स्टडीका अध्यक्ष एवं प्रसिद्ध उपन्यासकार शङ्कर भारतीको नेतृत्वमा साहित्यकारहरू जानकी भारती, विष्णुबहादुर सिंह, राधेश्याम लेकाली र पङ्क्तिकारसमेत पाँच जनाको भ्रमणटोली बन्यो । कोरियन एसोसिएसन अफ सोसियल साइन्टिस्ट–कास ९प्ब्क्क्० नामक संस्थाको आमन्त्रणमा मुख्यतः सेप्टेम्बर ९ मा पर्ने प्रजगकोको गणतन्त्र दिवसमा सहभागी हुने प्रयोजनका लागि सो भ्रमणटोली त्यसतर्फ जान लागेको थियो ।

हामी सेप्टेम्बर १ का दिन काठमाडौँबाट तिब्बतको छेङ्दु हुँदै चीनको राजधानी बेइजिङ पुग्यौँ । सेप्टेम्बर ३ मा एयर कोर्योको रूसमा निर्मित ‘तुपलेभ’ नामक विमानबाट प्योङयाङ विमान स्थलमा उत्रियौँ र त्यहाँबाट ३५ किलोमिटर टाढा रहेको प्योङयाङ कोर्र्यो होटेलमा पुग्यौँ । चवालीस तले सो होटलका जुम्ल्याहा भवन थिए । हामी भवन नं २ को एकतीसौँ तलामा बसेका थियौँ । तेलिया ईँटबाट बनेको सो होटलको बाहिरी आवरण भव्य र मनोरम देखिन्थ्यो ।

हाम्रा भ्रमण कार्यक्रम अवलोकन र अन्तरक्रिया प्रकृतिका थिए । अवलोकन–भ्रमण कार्यक्रम सूचनामूलक, ज्ञानवद्र्धक र मनोरञ्जनपूर्ण थियो भने अन्तरक्रिया कार्यक्रम सिद्धान्त र नीतिगत दृष्टिकोणबाट विचारप्रधान लाग्दथ्यो । अवलोकन–भ्रमणबारे छुट्टै शीर्षकहरूमा उल्लेख गरिने छ । यस शीर्षकमा अन्तरक्रिया कार्यक्रमका विभिन्न पाटाहरूका सम्बन्धमा आफ्नो अनुभूति प्रस्तुत गर्ने जमर्को गर्दैछु ।

हामी जुन होटेलमा बसेका थियौँ, त्यसै होटेलको एउटा कोठामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । यस्तो कार्यक्रम तीन पटक चल्यो । यसलाई मैले कोठे अन्तरक्रिया नामकरण गरेको छु । यसको कारण के थियो भने त्यस कार्यक्रममा नेपाली टोलीका हामी पाँच जना,आतिथेय देशका प्रतिनिधि वक्ता एक जना र सम्पर्क अधिकृत एक जनासमेत जम्मा सात जनाको मात्र उपस्थिति रहने गर्दथ्यो । कोठे अन्तरक्रिया कार्यक्रममा पहिलो दिन प्राध्यापक डा. किम छाङ जोन, दोस्रो दिन कास सचिवालयका उपनिर्देशक पाक ग्य म्यान र तेस्रो दिन प्रा. डा. ओ सङ छलसँग हाम्रो छलफल कार्यक्रम चल्यो । हामीलाई त्यहाँ कुनै भाषिक कठिनाइ भएन । वक्ता साथीहरू कोरियाली भाषा प्रयोग गर्नुहुन्थ्यो, हामी नेपालीमै बोल्दथ्यौँ । नेपालमा एक दशकभन्दा बढी समय बसेर नेपाली भाषा, संस्कृति र नेपालीहरूको आनीबानी समेत राम्ररी बुझ्नुभएका किम वन गिल हाम्रो भ्रमणटोलीका लागि सम्पर्क अधिकृतका रूपमा तोकिनु भएको थियो । यसैले उहाँले उभय मध्यस्थको भूमिका राम्रोसँग निर्वाह गर्नुहुन्थ्यो । यसले गर्दा छलफलमा व्यक्त गरिएका भावना र प्रतिक्रिया एक आपसमा सम्प्रेष्य हुन सकेको कुरा हामीहरूले अनुभूत गरिरहेका थियौँ ।

किमजीले नेपाली बोल्दा लवज फरक हुनु त स्वाभाविक कुरो हो तर उहाँले प्रयोग गरेका शब्दहरू सुन्दा हामीलाई रमाइलो लाग्दथ्यो । दोभासेको भूमिका निर्वाह गर्दा होस् वा हामीसँग कुरा गर्दा होस्, उहाँले आत्मनिर्भता र परनिर्भरता, ताबेदार र ताबेदारी, मजदुर र मालिक, भाग्य निर्माता अराजकता, स्वाधीनताजस्ता शब्दहरू बारम्बार प्रयोग गर्नुहुन्थ्यो । यसले गर्दा वार्तालापलाई घनीभूत रूपमा बुझ्न हामीलाई निकै सघाउ पुगेको थियो ।

प्योङयाङमा अन्य देशका प्रतिनिधिहरूको पनि उपस्थिति त थियो तर तिनीहरूसँग हामीहरूको जस्तै देशगत रूपमा कोठे अन्तरक्रिया भयो वा भएन त्यो भने हामीलाई जानकारी हुन सकेन ।

कोठे छलफलका अतिरिक्त सेप्टेम्बर ८ का दिन चे दोङ दाङ नदीको बीचमा रहेको एउटा बहुतले अत्यन्त सुन्दर होटेलमा सामुहिक अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिएको थियो । त्यस कार्यक्रममा नेपाल, भारत, बङ्गलादेश, रूस, मङ्गोलिया, दक्षिण अफ्रिकालगायत १२ देशका करिब ७० जना प्रतिनिधिहरूको उपस्थिति थियो । कार्यक्रममा आतिथेय देशका वक्ताहरू प्राध्यापक डा.किम सोङ गोङ, म्याडम रिजुआन हाङ, कासका निर्देशक पाक चुङ यु,किम चो ला आदिबाट विभिन्न विषयमा प्रकाश पारिएको थियो ।

कोठे छलफल वा सामुहिक अन्तरक्रिया कार्यक्रम प्रजगकोका पूर्वराष्ट्रपतिद्वय किम इल सुङ (१९१२–१९८४) र किम जोङ इल (१९४२–२०११) तथा वर्तमान शासक किम जोङ उन, सोङगुन नीति, जुछे विचार,जापानी अतिक्रमण, साम्राज्यवादी शक्ति, कोरियाली युद्ध (१९५०–१९५३) र दुई कोरियाको शान्तिपूर्ण एकीकरणजस्ता महŒवपूर्ण विषयहरूमा केन्द्रित थियो ।

अन्तरक्रिया कार्यक्रममा भएका छलफलका क्रममा प्रजगकोका संस्थापक किम इल सुङलाई त्यहाँका जनताले राष्ट्रपिताका रूपमा सम्मान गर्नेगरेको कुरा थाहा पाइयो । उनले युवावस्थादेखि नै जापानी उपनिवेश विरुद्ध सङ्घर्ष गरेको र सोङगुन नीति र जुछे विचारका आधारमा कोरियाली जनतालाई सङ्गठित गर्दै जापानी उपनिवेशबाट कोरियाली जनतालाई मुक्त गरेको भन्ने वक्ताहरूको भनाइ थियो । यसैगरी विश्वप्रसिद्ध कोरियाली युद्धमा पनि किम इल सुङकै नेतृत्वमा साम्राज्यवादी शक्तिलाई परास्त गरिएको भन्ने उनीहरूबाट नै जानकारी पाइएको हो । प्रजगकोको निर्देशक सिद्धान्तको रूपमा अवलम्बन गरिएको सोङगुन नीति र जुछे विचारलाई सुदृढिकरण गरी प्रजगकोलाई स्वाधीन र स्वाभिमान राष्ट्र बनाउन अथक योगदान गर्ने किम इल सुङपछिका शासक किम जोङ इललाई त्यहाँका जनताले स्मरण गर्ने कुुरा पनि आतिथेय देशका वक्ताहरूले प्रस्तुत गरेका थिए । वर्तमान शासक किम जोङ उनले त्यहाँ विद्यमान किम इल सुङवाद र किम जोङ इलवादलाई द्रुतगतिमा अगाडि बढाइरहेको भन्ने उनीहरूको तर्क पनि सुनिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा कासका निर्देशक पाक चुङ युबाट कोरियाको शान्तिपूर्ण एकीकरण जस्तो अन्तराष्ट्रिय महŒवको विषयमा प्रकाश पार्दै यसका लागि साम्राज्यवादीशक्ति वाधक भएको कुरो पनि आँैल्याइएको थियो । कोरियाको एकीकरण हुनैपर्ने र यसका लागि एक देश दुई सरकारको नीति पनि अवलम्बन गर्न सकिने भन्ने उहाँको भनाइ पनि सुन्न पाइयो ।

उत्तर र दक्षिण कोरिया दुवै नेपालका मित्रराष्ट्र हुन् । नेपाल सधैँ दुुई कोरियाको शान्तिपूर्ण एकीकरणको पक्षमा छ । पूर्वी जर्मनी र पश्चिम जर्मनीको एकीकरण भएझैँ, उत्तर भियतनाम र दक्षिण भियतनामको एकीकरण भएझैँ उत्तर कोरिया र दक्षिण कोरियाको पनि शान्तिपूर्ण एकीकरण हुनुपर्छ भन्ने नेपालको मान्यतालाई कोठे अन्तरक्रिया कार्यक्रमका अवसरमा उत्तर कोरियाली मित्रहरूलाई नेपाली टोलीले स्पष्ट जानकारी गराएको थियो ।

अन्तरक्रिया कार्यक्रममा वक्ता मित्रहरूबाट केही ऐतिहासिक र सैद्धान्तिक महŒवका विषयहरूमा विशेष प्रकाश पारिएको थियो । जसरी माक्र्स र लेनिनले युरोपबाट सामन्ती शासन व्यवस्थाको निर्मूल गर्न अथक सङ्घर्ष गरेका थिए, त्यसरी नै कोरियालाई स्वतन्त्र, स्वाधीन र समृद्धशाली बनाउन किम इल सुङले पनि आफ्नो जीवन समर्पण गर्नुभएको भन्ने उहाँहरूको भनाइ थियो ।

वक्ता महोदयहरूको प्रस्तुतीकरणमा बारम्बार जापानी उपनिवेश र कोरियाली युद्धको पीडा प्रकट भइरहन्थ्यो । हुन पनि हो, कोरिया सन १९०५ देखि १९४५ सम्म जापानी उपनिवेश बन्यो । यस अवधिमा जापानीहरूको विरुद्धमा लड्दालड्दै १० लाख कोरियालीहरूले जीवनको आहुति दिए । अथाह भौतिक सम्पत्ति नष्ट भयो । अन्ततोगत्वा बहादुर कोरियाली जनताले जापानीहरूलाई परास्त गरिछाडे । यसरी सन् १९४५ अगष्ट १५ का दिन कोरिया जापानी उपनिवेशबाट मुक्त भयो । जापानी फौजले औपनिवेशिक कालमा दुई लाख कोरियाली महिलालाई यौनदासी बनाएको पीडा बोध कोरियाली जनताले लामो अवधिसम्म गरिरहे ।

अन्तरक्रिया कार्यक्रमका वक्ता साथीहरूबाट साम्राज्यवादी शक्तिका कारण कोरियाली युद्ध भएको, त्यस युद्धमा जनधनको ठूलो क्षति भएको र दुई कोरियाको शान्तिपूर्ण एकीकरण हुन नसकेको कुरा बारम्बार व्यक्त भइरहन्थ्यो । तर उहाँहरू जापानी उपनिवेशबारे जति आक्रामक र मर्मस्पर्शी किसिमले प्रस्तुत हुनुहुन्थ्यो, त्यति कोरियाली युद्धको प्रसङ्गमा प्रस्तुत भएको महसुस हुदैनथ्यो । अर्को कुरो त्यस युद्धमा कोरियाली जनताको बहादुरीको प्रशंसा निकै सुन्न पाइएको थियो ।

कोरियाली युद्धका सम्बन्धमा इतिहास पढ्दा मलाई जानकारी भएको कुरो के हो भने जापानी उपनिवेशबाट कोरिया स्वतन्त्र त भयो तर त्यहाँ शान्ति स्थापना हुन सकेन । गृहयुद्धका कारण सन १९४८ मा कोरिया उत्तर र दक्षिण गरी दुई कोरियामा विभाजित भयो । फलस्वरूप सन १९५०–१९५३ सम्म दुई कोरियाबीच घमासन युद्ध भयो । साम्यवादी शासन प्रणाली अँगाल्ने उत्तर कोरियालाई तत्कालीन सोभियत संघ र जनगणतन्त्र चीनको समर्थन थियो भने पूँजीवादी शासन प्रणाली अँगाल्ने दक्षिण कोरियालाई संयुक्त राज्य अमेरिका, अन्य केही पूँजीवादी देश र संयुक्त राष्ट्र सङ्घको समेत समर्थन थियो । यसैले त्यहाँ ‘साँढेको जुधाइ, बाच्छाको मिचाइ’ उखान चरितार्थ हुनगयो र कोरियाले ठूलो क्षति बेहोर्नु प¥यो । स्मरणीय छ, त्यस युद्धमा २४ लाख सेना र ४४ लाख आम नागरिकले ज्यान गुमाएका थिए ।

अन्तरक्रिया कार्यक्रममा जति धेरै विषयलाई कोट्याउने चेष्टा गरिएको भए पनि घुम्दैफिर्दै रुम्जाटार भनेझैँ छलफलको विषय मूलतः सोङगुन नीति र जुछे विचारको सेरोफेरोमा केन्द्रित हुने गरेको थियो । अन्तरक्रियाका क्रममा मैले बुझेको कुरा के हो भने सोङगुन नीति र जुछे विचार उत्तर कोरियाका राष्ट्रिय नीति हुन् । यी नीति त्यहाँको कानुनी व्यवस्था, राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक र प्रशासनिक परिपाटिमा व्याप्त भएका देखिन्छन् । मित्रराष्ट्रहरूबाट आएका अतिथिगणलाई सोङगुन नीति र जुछे विचारबारे जानकारी दिने प्र्रयोजनका लागि नै अन्तरक्रिया कार्यक्रमहरूको आयोजना गरिएको होला भन्ने म ठान्दछु । यसलाई मैले अत्यन्त सकारात्मक दृष्टिकोणबाट आत्मसात् गरेको छु । किनभने म जहाँ गए पनि त्यहाँका बारेमा केही जानकारी राख्नुपर्छ भन्ने मान्यता राख्दछु ।

आखिर के हो त सोङगुन नीति ?
सोङगुन को शाब्दिक अर्थ एउटा बन्दुक भन्ने हो । यसलाई शक्तिको प्रतीक मानिदो रहेछ । शक्ति बन्दुकको नालबाट प्राप्त हुन्छ भन्ने भनाइलाई सोङगुन नीतिले शिरोधार्य गरेको बुझिन्छ । देशको स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सोङगुन नीतिको कार्यान्वयनबाट मात्र रक्षा गर्न सकिन्छ भन्ने कुरामा प्रजगकोका मित्रहरू दृढ र विश्वस्त देखिन्छन् । आत्मरक्षाका लागि पनि सैनिक शक्तिलाई सुदृढ गर्नुपर्ने आवश्यक्तामा उनीहरू जोड दिन चाहन्छन् । आफ्नो भाग्यको निर्माण आफैँले गर्ने र शत्रुलाई परास्त गर्ने शक्ति बन्दुकबाट प्राप्त गर्न सकिन्छ भन्ने कुरामा मित्रराष्ट्र प्रजगको विश्वास राख्दछ । राजनीतिक, आर्थिक र सैनिक दृष्टिकोणबाट समेत देश शक्तिशाली भएमा मात्र साँचो अर्थमा समाजवाद आउन सक्छ भन्ने कुरामा प्रजगकोको दृृढ विश्वास छ । राजनीतिक पार्टी, सेना र जनएकता यस नीतिका मूल खम्बा हुन् र यिनीहरूको साङ्गठनिक शक्तिबाट शत्रुमाथि विजय हासिल गर्न र देशलाई समृद्धशाली बनाउन सकिन्छ भन्ने कुरामा प्रजगकोको अटल विश्वास छ ।

सन १९०५ मा कोरियामाथि भएको जापानी अतिक्रमणसँगै जापानप्रति कोरियाली जनताको आक्रोश बढेको थियो । कोरियामाथि कब्जा जमाएर बसेको जापानी फौजप्रति प्रत्याक्रमण गरी कोरियाबाट लखेट्ने अभियान चलिरहेकै बेला क. किम इल सुङ पनि १६ वर्षकै उमेरमा त्यस अभियानमा होमिए । कोरियाको सैनिक शक्तिलाई सुदृढ र सङ्गठित गर्दै उनले जापानी हटाउ अभियानलाई तीव्रता दिए । फलस्वरूप सन १९४५ मा कोरिया जापानबाट स्वतन्त्र भयो । यस पृष्ठभूमिमा उत्तर कोरियाका मित्रहरू भन्दछन–‘सोङगुन नीति एउटा क्रान्तिकारी अभियान हो, यसका संस्थापक क. किम इल सुङ हुन र सोङगुन नीतिकै माध्यमबाट जापानीहरूलाई परास्त गर्न उनी सफल भएका हुन् ।’ अन्तरक्रियाका समयमा आतिथेय मुलुकका वक्ताहरूको भनाइ के सुनिन्थ्यो भने ‘सोङगुन नीतिका प्रतिपादक क. किम इल सुङ भए पनि यसलाई गहिराइमा अध्ययन गरी समाजवादतर्फ उन्मुख हुने एउटा राजनीतिक ढाँचाको रूपमा विकसित गर्ने व्यक्ति चाहिँ क. किम जोङ इल नै हुन् ।’ यसबाट उत्तर कोरियाको एउटा प्रमुख राष्ट्रिय नीति भनेकै सोङगुन नीति हो भनेर बुझ्न कुनै कठिनाइनै पर्दैन ।

अनि जुछे विचार के हो नि ?
‘जुछे’ कोरियाली शब्द हो । यसले स्वावलम्बन वा आत्मनिर्भरता भन्ने जनाउँछ । आफ्नै पौरखले आत्मनिर्भर हुने कामलाई स्वावलम्बन भनिन्छ भने आफ्नो भरोसामा रहने अवस्थालाई आत्मनिर्भरता भनिन्छ । वास्तवमा यी दुवै शब्दलाई एक सिक्काका दुई पाटा मान्न सकिन्छ ।

प्रजगकोमा राष्ट्रिय अर्थ–नीति जुछे विचारबाट सञ्चालित छ । जुछे विचारबाट नै देशको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सकिन्छ भन्ने कुरामा त्यस देशका मित्रहरू विश्वस्त देखिन्छन् । सन् १९३० को जुन ३० मा किम इल सुङले जुछे विचारको प्रतिपादन गरेका हुन । उनले यसलाई एउटा अभियानकै रूपमा सञ्चालन गरेर कोरियालाई जापानी उपनिवेशबाट मुक्त गराएरै छोडे । किम जोङ इलले जुछे विचारलाई अझै सुदृढ बनाए । वर्तमानमा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया जुछे विचारकै माध्यमबाट समाजवादी समाज निर्माण गर्ने कार्यमा अग्रसर भएको देखिन्छ ।

जुछे विचार उत्तर कोरियामा मात्र होइन, एसियाली अरू देशहरूमा पनि अध्ययन हुने गरेको देखिन्छ । सन् २०१३ को जुलाईमा नयाँ दिल्ली भारतबाट प्रकाशीत एज अफ जुछे ९ब्नभ या व्गअजभ० नामक पत्रिकाअनुसार जुछे विचारको अध्ययन गर्न स्थापित एसियाली क्षेत्रीय संस्थाको सञ्चालकमा एसियाका नौ देशहरू भारत, श्रीलङ्का, बङ्गलादेश, जापान, थाइल्यान्ड, पाकिस्तान, मङ्गोलिया, उत्तर कोरिया र नेपालबाट सत्रजनाले प्रतिनिधित्व गर्दछन् । भारतमा मात्र जुछे विचार अध्ययन गर्ने २९ कार्यालय स्थापना भएका देखिन्छन् ।

विश्वका ठूला–साना वा विकसित– अविकसित सबै देश आत्मनिर्भर बन्न चाहन्छन् । नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने यहाँ समय समयमा आत्मनिर्भरताका नारा उर्लने गरेका देखिन्छन् । नेपालमा २०२७ सालमा भारतले नाकाबन्दी गर्दा आत्मनिर्भरताका चर्का नारा उर्लेका थिए । भारतले नेपालमाथि २०४५ सालमा पनि नाकाबन्दी ग¥यो र त्यतिबेला पनि नेतागणबाट आत्मनिर्भरताका भीषण भाषण सुनिएकै थिए । संविधान सभाले ‘नेपालको संविधान २०७२’ घोषणा गरेलगत्तै भारतले फेरि पनि नेपालमाथि नाकाबन्दी थोपर्यो  । २०७२ वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका ठूला–ठूला पराकम्पबाट थिलो थिलो भएको नेपालको अर्थतन्त्र भारतीय नाकाबन्दीले धराशयी नै बन्यो । कतिसम्म भने भूकम्पले त नेपालको एउटा सीमित क्षेत्रमा मात्र क्षति पुर्कोयाएको  थियो तर भारतीय नाकाबन्दीले त मेचीदेखि महाकालीसम्म र हिमालदेखि तराईसम्मका सम्पूर्ण नेपालीले कष्टकर जीवन व्यतीत गर्नुप¥यो । नेपाल फेरि गुइँठे र भुसे युगमा फर्कुन परेको थियो ।

विपन्न नेपाल, विश्वको दरिद्रतम नेपाल आर्थिक रूपमा आत्मनिर्भर बन्दै समृद्धितर्फ अग्रसर हुन सकोस भन्ने सदाशयतासहित विभिन्न मित्रराष्ट्रहरूले नेपालमा वीरगञ्ज चिनी कारखाना, हेटौँडा कपडा कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसबारी छाला तथा जुत्ता कारखाना, हरिसिद्धि ईँट तथा टायल कारखाना, भक्तपुर इटा  कारखाना, भृकुटी कागज कारखानाजस्ता आधारभूत उद्योगहरू निर्माण गरिदिएका थिए । ती सबै उद्योगहरू आफ्ना देशका नागरिकहरूको भाग काटेर मित्रराष्ट्रहरूले उपहार स्वरूप प्रदान गरेका थिए । भ्रष्ट राजनीतिकज्ञहरू र असक्षम एवं वेइमान प्रशासकहरूका कारण उद्योगहरू नोक्सानीमा डुब्दै गए । त्यही मौका छोपेर उदारीकरण र निजीकरणको हौवा चलाइयो र कौडीको मूल्यमा त्यस्ता महŒवपूर्ण उद्योगहरू सबै निजी क्षेत्रलाई बिक्री गर्ने काम भयो ।

केही दशक अगाडिसम्म करोडौँ मूल्यको खाद्यान्न निर्यात गर्ने कृषिप्रधान देश नेपाल अहिले अरबौँ रुपियाको खाद्यान्न आयात गर्ने देशमा परिणत भएको छ । हजारौँ मेघावाट जलविद्युत उत्पादन गर्ने क्षमता भएको देश नेपाल अझैँ पनि जलविद्युत उत्पादनमा आत्मनिर्भर हुन सकेको देखिंदैन । देशमा विद्यमान विपुल प्राकृतिक स्रोत साधनको उपयोग पनि गर्न नसक्ने र उपहार स्वरूप पाएका आधारभूत उद्योगहरू पनि सञ्चालन गर्न नसकेका कारण देश भारतप्रति अत्यधिक निर्भर रहनुपर्ने स्थिति अझै विद्यमान छ ।

सुदृढ अर्थतन्त्र भएका छिमेकी दुई ठूला मुलुकका बीचमा रहेको निर्धन नेपालले आफ्नो स्वतन्त्रता, स्वाभिमान, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्न मूलभूत रूपमा आत्मनिर्भरताको बाटो अवलम्बन गर्नैपर्छ । यस दृष्टिकोणबाट प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले अनुसरण गरिरहेको जुछे विचार नेपाल र यस्तै अल्पविकसित एवं निर्धन देशहरूका लागी त्यत्तिकै सान्दर्भिक लाग्दछ ।

यसरी आठ वर्षअगाडि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको भ्रमणको अवसरमा भएको अन्तरक्रिया कार्यक्रममा त्यहाँका मित्रहरूसँग भएको सुखद एवं रमाइलो भेटघाट र फलदायी वार्तालाप आज पनि मलाई झल्झली सम्झना भइरहेको छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।