शिलालेख : पुर्खाको वरदान (इतिहास)

शिलालेख : पुर्खाको वरदान (इतिहास)

कपन अनलाइन

काठमाण्डौ ,साउन ४/शीतल गिरी

नेपाली भाषाको उत्पत्ति जुम्लाको सिन्जाबाट भएको मानिएको छ । यस कुराको प्रमाण दिनसक्ने आधार भने पाइएको छैन ।
नेपाली भाषामा पहिलो लिपिबद्ध गरिएको इतिहास दैलेखको दुल्लुमा भने छ ।
सिन्जामा प्रमाण पाइएको छैन । अथवा खोजीतर्फ ध्यान दिइएको छैन । प्रमाण बेगर नै सिन्जाको नाम आएपछि खोजी किन गर्ने सोच पनि हुन सक्छ ।
तब प्रमाण कहाँ छ ?
दैलेखको क्षेत्र नं.२ दुल्लुबजारमा रहेको ऐतिहासिक महत्वको शिलास्तम्भ अहिलेसम्मकै शिलास्तम्भमा सबैभन्दा पुरानो मानिएको छ ।
यसको अस्तित्व भने वर्तमानमा सङ्कटमा थियो । पुर्खाको धरोहर सङ्कटमा परेको महसुस भएपछि स्थानिय निकायले अहिले ध्यान दिएर संरक्षण गरेको छ । वर्तमानले सोधखोज गरेर संरक्षण गरेको हो । वत्र्तमानले विवेक पुगाएकोमा जनप्रतिनिधीलाई आभार ।
विगत अविवेक बनेको हुँदा नै पुरानो शिलादेख अस्तित्वको लागि कल्पिदै थियो । थाहा भएअनुसार नेपाली भाषा लिपिबद्ध गरेको त्यो सबैभन्दा पुरानो शिलालेख हो । वि.सं.१०३८ को साहुपाल अडैबाट लेखिएको कर्णाली प्रदेशीय नागराजका उत्तराधिकारी दामुपालको समयको हो ।
शीलालेख भएको सो कीर्तिखम्बा नेपाली भाषा सुरुवातको हो ।
आजभन्दा १०४२ बर्ष अघिको शिलालेखमा लेखिएको ‘क’ र ‘ॐ’ शब्दको अस्तित्व अहिले सङ्कटमा परेको छ ।
चौबाटोमा रहेको उक्त शिलालेखको समयमै संरक्षण गरिनुपर्ने थियो । मैले अवलोकन गरोको समयमा बाहिर खुला घाममा लावारिशको अवस्थामा थियो । ज्ञानकै अभावको कारण स्थानीयले हसिया उद्याउने ढुङ्गो ठानेका थिए र प्रयोगमा ल्याउँदैथिए ।

२०७२ साल माघ १० गते नेपाली लोकवार्ता पाँचौं राष्ट्रिय सम्मेलनको क्रममा सो स्थानमा पुग्दा भने पुर्खाको वरदान सो किर्तिखम्बालाई घेराबेरा हालेर सुरक्षा दिएको जस्तो लागेको थियो, तर त्यस्तै महत्वको दुल्लुदेखी उत्तरमा रहेको पाच खोपा नौ स्तम्भको बेहाल देख्दा इतिहासलाई माया गर्ने जो कोहीको पनि आँखाबाट आँशु खस्दछ । अझ कवि हृदयको भावुक साहित्यकार–नियात्राकार दाजु निर्मोही व्यासजस्ता त डाको छाडेर नै रुन्छन् । प्रमाण सहितको त्यो इतिहास— भविष्यका पुस्ताको लागि बचाएर राख्ने दायित्व वत्र्तमान पुस्ताको होइन र !
भनेर के नै हुन्छ र विवेक नभएपछि । मानिस तिनै हुन्, कलाकृति रुपी पुर्खाको नाशो विदेशीलाई बेचेर रमाउँने । शिलालेख, मूर्ति, कलाकृतिको संरक्षण गरिनुपर्छ, यो आवाज कसले सुन्छ । जसको सोच— जसरी हुन्छ धनकमाउँने हुन्छ त्यस्तालाई के को वास्ता । पत्नी, छोरी, बहिनी पनि बेच्ने पछि नपर्ने पनि यहि समाजमा नै छन् । इतिहासलाई ठाडो त ठान्ने नै भए । यी सबै कुरा भावनात्मक चेतनाले निर्धारण गर्दछ । कारण, जसले यथार्थ बुझेको हुन्छ उसैले माया गर्दछ र गरेको छ । बुझेकाहरूले जीवनभर माया गरिरहन्छ । जहाँ गए पनि जहाँ रहे पनि किर्तिस्तम्भको महत्व बुझाउन पछि पर्दैन । केही भने बुझाउँदा पनि बुझ्दैनन् । अबुझहरूले नै दुल्लुको कीर्तिखम्बामा होटेलमा खुवाइएका जुठा गिलास, थाल र बटुका माझेर थुपार्ने काम केहि समय पहिले गर्ने गरेको धेरैले देखेकै हुन् ।
वि.सं.१०३८ को साहुपाल अडैद्वारा लिखित शिलास्तम्भ लेखबाट प्रारम्भ भएको नेपाली भाषाको प्राचीनकाल वि.सं. १५५५ मा लिखित विबोष शाहीको ताम्रपत्र पूर्वसम्मको समयसम्म विस्तारित भएको बिश्लेषकहरू बताउँछन् । ‘क’ शब्दको सुरुवात भएको पहिचान मानिने ढुङ्गाको आधा भाग फुटिसकेको छ ।
शिलालेखको वेवास्ता गर्नु भनेको इतिहास हराउनु हो । दुल्लुबजारमा नेपाली भाषा लिपिबद्ध गरिएका तीन शीलालेख रहेका छन् ।
जिल्लाको भ्रमणको क्रममा स्व.योगी नरहरिनाथ दुल्लु पुग्नु भएको थियो । सर्वप्रथम वहाँले नै इतिहास खोतल्नेक्रममा दैलेखमा भाषा लिपिको सुरुवातको पुरानो शिलालेख रहेको जानकारी गराउनु भएको हो ।

पुर्खाको वरदान सो महत्वपूर्ण वस्तुलाई अहिलेसम्म कसैले चासो दिएका छैनन् । राज्य यसको जिम्मेवारी लिने दायित्वबाट पन्छिएको छ । नासीएर गएपछि संरक्षण गर्ने नाटक मञ्चन भने अवश्य गर्छ । संरक्षण गर्नु पर्ने समय अहिले हो । तर अज्ञानी राज्य सञ्चालक र स्थानिय भएपछि पुर्खाको वरदान शिलालेख नाशिने छ नै । संरक्षण गरिनु पर्ने हो, गरिनु पर्दछ ।
यस्ता सबै कुराहरू शब्दमा भन्न सकिदैंन । भाषाको हिसाबले मात्र नभई दैलेखमा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक परम्परा बोकेका अन्य क्षेत्रहरू संरक्षण र प्रचार–प्रसार अभावले दिनप्रतिदिन भग्नावशेष हुँदै नष्ट हुन थालेका छन् । नेपाली भाषा उत्पत्तिको शिलालेखसँगै दैलेख विभिन्न ३२ जात–जातिको उद्गमस्थल समेत मानिन्छ ।
रिजुबाट रिजाल, दहबाट दाहाल, नेपाबाट नेपाल लगायतका ३२ जात–जातिको उद्गमस्थलसमेत रहेको मानिन्छ । जिल्लामा ऐतिहासिक ढुङ्गेदेवल, शिरिस्थान, नाभीस्थान, धुलेश्वर मन्दिर लगायतका पञ्चकोसी क्षेत्र, पादुका मन्दिर छन् । तर दुर्लभ र ऐतिहासिक महत्वका बस्तुको संरक्षण हुन सकेको छैन । न त प्रचार प्रसारमा नै कुनै निकायले चासो नै लिएको छ ।
दैलेखको ऐतिहासिक सम्पदाको इतिहास भने दिन प्रतिदिन विलाउँदै जादै छ । यो भनाई ऐतिहासिक सम्पदालाई माया गर्नेको हो ।
दैलेख ऐतिहासिक सम्पदाले धनाढ्य छ । जनताको चेतना स्तर भने अति दयनिय छ ।
दैलेखका ४० सम्पदा खानी तथा भू–गर्भ विभागको सूचीमा सूचीकृत भएको छ । तिनीहरूको वर्गीकरण गरिएको भएता पनि संरक्षणको पहलतर्फ भने उल्लेख्य काम भएको जस्तो लाग्दैन । पेट्रोलको खोजी कार्य सफल भएको छ । सम्भवत अब निकालिन्छ पनि होला । सदरमुकाम नजिकै रहेको साके सम्वत १३२१ म निर्मित पञ्चदेवल लगायतका अरू देवलसमेत टुक्रिँदै र फुट्दै गएका छन् ।
सदरमुकामको मध्ये भागमा रहेको ऐतिहासिक कोतगढी अहिले फोहोर फाल्ने ठाउँमा परिणत भएको छ । मलाई यस्तै यस्तै वास्ता नगरीएकाहरूका बारेमा लेख्न मन लाग्छ । सबै आफ्नै रुची र खुबी अनुसारकै लेख्छन् । पुराना कुरा लेख्ने आकर्षणले तानिने गर्छु त्यतातिर । पुराना कुरा, वास्ता नगरिएका तर महत्वपूर्ण कुरा पहिचान गरेपछि मात्र कलम चलाउँछु ।
दैलेखको कीर्तिखम्बाको अबस्था देख्दा मलाई फनफनी चक्कर लाग्यो । मानौं मस्तिष्कमा रहेको सम्पूर्ण ज्ञान विलायो । त्यस्तो लागे पनि म ज्ञान शून्यभएकै हुँ भन्ने आधार भने छैन । ज्ञान भनेको त व्यक्तिको कणकणमा हुन्छ । सम्झीन सक्छु यसैले त कहिले काही सस्मरण पनि लेख्ने गर्छु । मैले आजसम्म ज्ञानसून्य भएको मानिस पाएको छैन । यसमानेमा म कोरा नै छु ।

लेखकको रुपमा आफुलाई अझ उभ्याउन सक्दिन । मजस्ताको रचना छापिनु नै सबभन्दा ठूलो कृपा गरेको ठान्ने पनि छन् । तर म जे लेख्छु सकभर छामी छामी लेख्छु । म निकम्मा बन्नु भन्दा लेख्न मन पराउँछु । लेखिएको रचना छापिदा सुरु सुरुमा मेरो आँखामा चमक देखापर्नेगथ्र्यो । रचना छापिदा सान्त्वना प्राप्त गर्थे । मेरो सम्मुखमा लेखनको माग भएको देख्न थाले । तब संकोच, डर सबै हटेर गयो र पुराना कुराहरू प्रती माया गास्न पुगे । मध्यकालको प्रारम्भदेखि नै आगमतन्त्र शास्त्रको प्रभाव बढेको थियो ।

त्यसै भएको हुँदा मन्दिर निर्माणमा आगमतन्त्रको प्रभाव पर्नु स्वभाविकै हो । वस्तु विधानमा बाधा नपर्नेगरी नेपाली स्थापत्यविद्हरूले शैली शृङ्गारमा आफ्नो पन दिएर छत्रे शैलीको मन्दिर बनाए । पश्चिमी नेपालभरी छत्रे शैलीको मन्दिर १८ औं शताब्दीपछि निर्माण भएको हो र त्यस्तो ऐतिहासिक महत्वका वस्तु समेत दैलेखमा देख्न पाइएको छ । म दैलेखको प्रशंसक हुँ । आधुनिक महलभन्दा पूरना भग्नावशेषको प्रशंसक हुँ । त्यो पुर्खाको बरदान मासिएको मन पराउँन्न ।

पुर्खाको वरदान शिलालेख नभएको भए हाम्रो जातीलाई, संस्कृतिलाई कसले प्रांचीन भनेर भन्ने थियो । संरक्षणको अभावमा पुर्खाको थाती नासिनेछ । संरक्षण र अध्ययनले हामीलाई उच्चता दिलाउँछ । संरक्षण गरिएन भने देश विदेशकालाई कसरी बोलाउँने । यसकारण आधुनिक महलभन्दा मलाई भग्नावशेष महत्व लाग्दछ । नेपालकै भूमिमा सबैभन्दा महत्वपूर्ण मानिने पानीमाथि सदियौंदेखि निरन्तर एकनाश बलिरहको ज्वाला शिरिस्थान, नाभीस्थान र पंचकोशी दैलेखमै छ । एसियामै दुर्लभ मानिएको चारहाते गणेशको मूर्ति पनि छ ।

हिन्दु र बुद्धिष्टको सङ्गमको रुपमा स्थापना गरिएको १२ हात लामो बौद्ध स्तम्भलाई मुल्यवान मानेको छु । पाथर नाउली, पौवा, ढुङ्गेदेवल लगायत ऐतिहासिक महत्वका बस्तु धर्म आचरणको कारण अझ उपलब्ध छ । धार्मिक भावनाले निर्माण पनि भएका थिए । यसो त जिन्दगीमा मानिसले केही राम्रो काम गर्न चाहन्छ । पूर्खाले गरेका राम्रा काम हुन् ति सबै ।

हस्तान्तर हुदै हामीसम्म आइपुगेको छ । नास्ने अथवा भविश्यका पुस्ताको लागि राखीदिने—दुई मध्ये एउटा रोज्नुपर्छ हामीले । हाम्रो सम्पदा हो भन्ने बोध भएपछि स्नेह पलाउँछ । संरक्षण गर्ने जिम्मेवारी स्वतः थाहा हुन्छ । यसकारण पुर्खाको वरदानलाई अमर अजर बनाऔं । नाशीनबाट बचाऔं, आफ्नो क्षमताले संरक्षण गरौं । आफ्नो संस्कृति जोगाऔं । हाम्रोको भावना विकास गरौं । आफ्नो प्रति स्नेह जाग्रीत भएमा हाम्रा सम्पदाको संरक्षण अवश्य हुने नै छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।