हनुमान् चरित्र : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,साउन ४।

हनुमान् भेटिने गर्छन् रामका आसपासमा
विश्वास रामले गर्छन् हनुमान् खास खासमा
हैसियत भने राख्छन् रामकैसरि बेसरी
रामका तापले तात्छन् घामका वालुवासरि ।१।

म ठूलो राम नै ठान्छन् कामले नभनेपनि
पार्छन् ध्वस्त स्वयं लङ्का रामले नभनेपनि
राम्रो के हो नराम्रो के यी बनी काग बोल्दछन्
स्वामीका छेउमा स्याल अन्यत्र बाघ बोल्दछन् ।२।

अरूको कद के हुन्छ हनुमान्को महा–कद
अरूको पद के हुन्छ हनुमान्को महा–पद
बोली हो यिनको ऐन धाक बन्दुक नालकै
नूनचुक यिनै दल्छन् रङ्ग तरङ्ग कालझैँ ।३।

पुग्छन् माथि यिनै के को पुग्न सक्थे महान्रुहरू
सधैँ कुना कुनामा नै पुग्छन् ती हनुमान्हरू
खै को हुन् हनुमान् भन्दै नसोध्नोस् मतियार हुन्
रामका हात चर्को विषालु हतियार हुन् ।४।

सत्तामा जो सुकै आओस् अगाडि पुग्दछन् यिनै
शक्तिमा नरहे स्वामी साथमा नहुने कुनै
जानेको यिनले हुन्छ बदल्न सजिलै गला
बनाउँछन् स्वयं माझी डुङ्गाको बहने कला ।५।

नघट्ने कहिल्यै आँट नजाने अनि हुर्मत
पाएर रामकै शक्ति यी बोक्छन् बरु पर्बत
भक्ति होस् ध्यान होस् यस्तो परिन्न कहिल्यै तल
सीताको चाकरी नै हो हनुमान् हुन अब्बल ।६।

तपस्या नगरी को छ वरदान दिलाउँने
खुसी पारे उनै देव हुन् अमृत पिलाउने
राम्रो हैन सधैँ हाम्रो खोज्ने बानी विचित्रको
सधैँ रोजा सधैँ ताजा छ हनुमान् चरित्र यो ।७।

तपाइँको प्रतिक्रिया ।