सेञ्चुरी मनाउदै अर्थशास्त्री डा. दंगालको अनुसन्धानात्मक भर्चुअल कक्षा

कपन अनलाइन

काठमाण्डौ ,  असार २१/बामदेव भट्ट

गत साल चैत्रबाट लक डाउन सुरु भएबाट नै लगातार त्रिभुवन विश्वविद्यालयकै एक जना उप–प्राध्यापकलाई प्राज्ञिक अनुसन्धानरूपी रसको माद लागेको छ । उनी व्यक्तिगत तहमै लागिपरेका छन्— विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि, दर्शन शास्त्र र स्नातकोत्तर तहका विद्यार्र्थीहरूलाई निःशुल्क चरण चरणका प्राज्ञिक अनुसन्धानसम्बन्धी अनलाइन कार्यक्रमहरु सञ्चालन गरेर मद्दत गर्न ।
त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका उप–प्राध्यापक डा. दिलनाथ दंगालमा यो गज्जबको उदाहरणीय जाँगर पलाएको हो । गएको साल चैत्रमा लकडाउन सुरु हुने वित्तिकैदेखि यिनले सुरुमा अर्थशास्त्रका प्राध्यापकहरूलाई जुटाएर अनलाइन कक्षा सञ्चालन गर्दै इच्छुकहरूलाई खुला प्रवेशको वातावरण मिलाए ।

अलिक पछि अर्थशास्त्रकै विभिन्न विद्वान, पुर्व अर्थसचिवहरु, योजना आयोगका पुर्व उपाध्यक्षहरु, र पूर्व मन्त्रीहरूलाई जम्मा गराएर अनलाइनबाटै बजेट केन्द्रित बहस कार्यक्रम सञ्चालन गरे । खाने मुखलाई जुँघाले छेक्दैन भने जस्तै न यिनलाई कोरोनाको कहरले छेक्यो, न त लकडाउनले नै रोक्यो ।
गतसाल दुई चरण गरेर १५ दिने प्राज्ञिक अनुसन्धानको निःशुल्क प्याकेज सम्पन्न गरेर यो पटक तेस्रो चरणको अनुसन्धान प्याकेज लिएर यी फेरि अनलाइन कक्षामार्फत झुल्किए । जुमको प्रवेश क्षमता पाँच सय पु¥याउँदा पनि अनलाइन कक्षामा बस्ने सबैको इच्छा पूरा हुन सकेन । फेसबुकबाट लाइभको व्यवस्था समेत गरे ।

हजारौँ अनुसन्धानका पथिकले लाइभ हेरेर ज्ञान प्राप्त गरे । देशका घघडान विद्वानहरूलाई निःशुल्क तालिम दिन यिनले मनाए । कार्यक्रममा यतिसम्म भयो – बोलाइएका अतिथिले समेत जुममा पहुँच पाउन कुर्नुपर्यो ।
अघिल्ला जुम तालिमका सहभागीहरूको प्रतिक्रिया, विद्वानहरूको सुझाव र आफैँलाई पनि यिनलाई लागेका आधारमा तेस्रो चरणको प्याकेज तयार भयो । कक्षा १२ मा पढ्ने छोरी दिलासाले प्राविधिक सहयोग गर्ने भइन् र एन. आर. इएनले जुमको प्राविधिक सहयोग गर्यो । निःशुल्क दैनिक १० र १२ घण्टा खटेर यीनले भरखरै आफ्रनो कार्यक्रमको १०० दिन मनाऐ ।

सेञ्चुरी मनाउने क्रममा विभिन्न विश्वविद्यालयका पदाधिकारीहरु, प्राध्यापक, राजनीतिकर्मी, पत्रकार र विद्यार्थीहरु गरी जुममा उपस्थित सबैले १०० अंक पार गरेकोमा कार्यक्रममा शुभकामना दिएका थिए ।

यो अंकसम्म आई पुग्दा स्रोत व्यक्तिको रुपमा देश र विदेशबाट १५० भन्दा बढी विज्ञहरु, दुईलाख भन्दा बढी सहभागी साथीहरु कुनै न कुनै माध्यमबाट यो कार्यक्रममा जोडिएका आयोजकले बताएका छन् ।
लकडाउन र निषेधाज्ञायता डा. दिलनाथ दंगालले अर्थ, कोरोना र उच्च शिक्षासँग सम्बन्धित रहेर गरेका कार्यक्रममा पूर्व मन्त्रीहरू, नेपाल सरकारका पूर्व र वहालवाला सचिवहरू, नेपाल राष्ट्रबैंकका पूर्व गभर्नर र कार्यकारी निर्देशक, योजना आयोगका पुर्व उपाध्यक्ष, नेपाल सरकारका मुख्यमन्त्री, विभिन्न विश्वविद्यालयका पदाधिकारीहरू, कोरोनाका जानकार डाक्टरहरू र अनुसन्धानको क्षेत्रमा ख्यातिप्राप्त विज्ञहरूले स्रोत व्यक्तिको रूपमा कक्षा लिइसकेका छन् भने एउटा कार्यक्रमलाई ३५ हजारसम्म दर्शकले प्रत्यक्ष र भिडियोमार्फत हेरेर लाभ लिइसकेका छन् ।

विश्वविद्यालयको प्राज्ञिक उन्नयनमा केही गर्नुपर्छ भन्ने भावना भएका विभिन्न प्राध्यापकहरूको सल्लाह, सहयोग र स्यावासी उनले पाइरहेका छन् । धेरैले क्याबात् भनेका छन् तर कसैकसैलाई भने यस्ता कार्यक्रमले चिन्तित पनि तुल्याएको छ । छदमभेषी नाममा खोलिएका कतिपय संस्थाहरुलाई यस्ता निःशल्क रुपमा गरिने कार्यक्रमले टाउको दुख्नु स्वाभाविक पनि हो ।

उनीहरुलाई कतै आफ्नो बजार सुक्ने पो हो कि, प्राध्यापक र विद्यार्थीहरुले उसको कार्यक्रमबाट निःशुल्क लाभ पो लिने हुन् की भनेर चिन्ता गर्ने र यस्तो कार्यक्रम गर्नुहुँदैन भन्नेलाई उनी हाँसेर टारिरहेका छन् । विश्वविद्यालयका छेउछाउ पसलपसलमा र पोलमा थेसिस यति रूपैयाँमा यहाँ पाइन्छ भनेर विज्ञापन गरेर अनुचित पैसा कुम्ल्याउनेका लागि यस्ता निःशुल्क कार्यक्रम चुनौती बन्नु स्वाभाविकै हो तर विश्वविद्यालयको शाखलाई उठाउन काम गर्नेहरूका लागि त यो खुशीको कुरा हो । यस्ता कार्यक्रम त अरु धेरै शिक्षक, विभाग, संकाय र केन्द्रहरूले गर्न सके सुनमा सुगन्ध नै हुन्छ ।
अनुसन्धानको क्षेत्रमा विश्वविद्यालयका प्राध्यापक, विद्वानहरू, विद्यावारिधि र दर्शनशास्त्रका पथिकहरू यति ठूलो संख्यामा एउटै थलोमा जम्मा भएर कार्यक्रम आयोजना भएको नेपालमा यो पहिलो अवसर समेत बन्न पुगेको छ । कार्यक्रमका संयोजक एवं सञ्चालकको हैसियतमा डा. दंगालले आगामी दिनहरूमा अनुसन्धान सम्बन्धी र अर्थशास्त्रका वि.ए. र एम.ए.का विद्यार्थीहरुको सम्पूर्ण पाठ्यवस्तुलाई समेटेर १०० ओटा जति भिडियो आफ्रनो युट्युव च्यानल मष्लिबतजमबलनब िमा अपलोड गर्ने जनाएका छन् ।

यसले कोरोनाका कारणले लामो समय भौतिक रुपमा कक्षा सञ्चालन हुन नसकेर घरमा बसेका तथा इन्टरनेटको पहूँच सबैबेला नहुने विद्यार्थीहरुकालागी जुनसुकै समयमा पनि डाउनलोड गरेर सुन्न सक्ने उनले जनाएका छन् । थप कार्यक्रम चलाउने सम्बन्धमा सहभागीहरूलाई सूचित पनि गरिसकेका छन् । कोरोनाका बेला घरै बसीबसी दूरदराजका अनुसन्धाता र विद्यार्थीहरुले अनुभवी विद्वानहरूसँग साक्षात्कार गरेर ज्ञान पाउनु आफैँमा सुखद् कुरा हो ।
कार्यक्रमको समापनपछि दंगालले भिडियोलाई युट्युवमा अपलोड गरेर फेसबुकमा समेत शेयर गरेर पछिसम्म हेर्न सकिने बनाएका छन् । आफूहरूले पनि आफ्ना विद्यार्र्थीहरूलाई समेत ती भिडियोहरू शेयर गर्ने गरेको सहभागी प्राध्यापकहरूले बताएबाट पनि अब नेपालमा पनि युट्युवमा पाठ्य सामग्री अपलोड गर्ने र ज्ञान बाँड्ने कार्य अघि बढ्दै गएको छ ।
आफू प्राध्यापक संघको नेतृत्वमा रहेको र आफूले सकेसम्म विश्वविद्यालय, प्राध्यापक, विद्यार्र्थी र उच्च शिक्षाको क्षेत्रमा केही गर्न सकिन्छ कि भनेर लागेको र लागिरहने विचार डा. दंगालको छ ।

दुई दर्जन जति अर्थशास्त्रका पाठ्यपुस्तक, त्यति नै संख्यामा अनुसन्धानात्मक लेख र दर्जनौँ संख्यामा दैनिक पत्रिकामा अर्थ र उच्च शिक्षाका क्षेत्रमा लेखहरू लेखिसकेका डा. दंगाल आफू पूर्ण रूपमा विश्वविद्यालयमा मात्र काम गर्ने जनाउँछन् । विश्वविद्यालयले आफ्ना लागि ठूलो लगानी गरेको हुनाले अब आफूूले पनि विश्वविद्यालयका लागि केही गर्नुपर्छ भन्ने उद्देश्यले प्राज्ञिक कर्ममा लागेको र लागिरहने उनी बताउँछन् । हेलमेट बोकेर कमाउनमा नै आफ्रनो समय विताउने विद्धमानहरुका लागी १०० ओटा यस्ता कार्यक्रमहरु गरेर उनले यो क्षेत्रमा नयाँ राजमार्गको निर्माण गरेका छन् ।

अन्त्यमा भन्नैपर्छ, क्याबात् डा. दंगाल । अनुसन्धानको रसमा भिज्दै र भिजाउँदै अघि बढेको यात्रा छोटो दूरीमा नरोकियोस । लामो दूरी तय गरेर अघि पनि बढिरहोस्, बाटो नछोडियोस् र चारैतिर पनि फैलियोस् । यस्तो कर्म गर्नेले पनि बरालिनु र बाटो भुल्नु हुँदैन अनि अरुले पनि यसरी निस्वार्थ प्राज्ञिक उन्नयनमा लागेकालाई अवरोध सिर्जना गर्नुको सट्टामा हौसला र सहयोग दिनुपर्छ ।

तपाइँको प्रतिक्रिया ।