भुल गरेछौ : तारा के.सी (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,असार १२ ।
राति अबेरसम्म बुढाबुढी गन्थन गुन्थुन गरिरहे ।
‘हाम्री नातीनी कति राम्री । फूल जस्ती जून जस्ती । हेरिरहुँ जस्तो लाग्छ तर के गर्नु यो बुढेसकालमा नाति नातीनासँग रमाउने हाम्रो त भाग्यमानै रहेनछ बुढा !’
बुढी अलि भाबुक हुँदै गइन् । बुढाले सान्त्वना दिने हिसावले भने;
‘हेर ज्योती ! आजकालका छोरा छोरी कस्का साथमा छन् ? हाम्रो जस्तै हो सबैको पीडा । हामी त खुशी हुनुपर्छ। अमेरिकामा छन् छोरा बुहारी। राम्रो कमाई छ । उनीहरू खुशी छन्, सुखी छन् । त्यति भए हामीलाई पुगी गो नी । बुढाले सम्झाए पनि बुढीको मनमा पीडा यथावत् नै थियो ।
भोलीपल्ट बिहान बुढा मर्निङ वाकमा निस्किए । ज्योती भने घरको
बरण्डामा बसेर पल्लो घरको आँगनतिर हेरेर टोलाई रहिन् । आँगनमा छिमेकी दाइ र दिदी बसेर घाम तापिरहेका थिए । हजुर बा र आमाको काखमा नाति नातीनी लुटुपुटु खेलिरहेका थिए । ज्योतीले त्यो दृश्य हेरेर मनमनै भनिन् ;
‘कति भाग्यमानी दाइ दिदी !’ राघब यहि पढ्यो । मास्टर्स सकाएर यहिको कलेजमा पढाउन थाल्यो। बिदेश जाने सपना त्यो केटोले कहिले देखेन। राघबकी श्रीमती पनि कलेज पढाउछिन्। दुबैजना खुशी र सुखी छन्। छिमेकी दाइ दिदी पनि छोरा बुहारीको साथमा रमाएका छन् । आफुले पनि सोचेको त त्यहि थियो तर के गर्नु? उनीहरू पढाइ अनुसारको काम खोज्दै बिदेसिए। छोरा अमेरिकामा पुग्यो।उतै बिबाहा गर्याे र उतै सेटल भयो। छोरी पनि बिबाहापछि अष्ट्रेलिया बस्न थाली। ज्योतीको मन किन किन उदास भइरहेको थियो। एक्लै यसरी टोलाई रहेकी ज्योतीलाई देखेपछि बुढाले सोधे ;
‘के सोचेकी यसरी ?’ ज्योती झस्याङ्ग भईन् र भनिन् ;
‘हामीले नेपालमा बिक्न नसक्ने गरि शिक्षा दिएर छोरा छोरीलाई ठुलो भुल गरेछौ बुढा !
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक