ढुङ्गामा पनि छन्द छ : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असार १२ ।
१. धर्ती यो छन्दमा घुम्छ हेर्दै आकाश झल्मल
सृष्टि यो छन्दमा रम्छ छाती पारेर निर्मल
प्राणी हेर सधैँ पढ्छन् छन्दकै पाठ खर्खर
जन्मने हुर्कँने मर्ने पद्धति छन्द हैन र ?
२. अनेकौँ रङ्गका मान्छे जन्मिने ढङ्ग एक छ
अनेक ढङ्गका मान्छे होऊन् उमङ्ग एक छ
होला उमङ्ग जो बेग्लै विचार तङ्ग एक छ
उस्तै तङ्ग सबै अङ्ग अङ्गका छन्द एक छ ।
३. एकै बोली सधैँ बोल्छन् झर्ना छँ्छँ छँ्छँ
एकैनाश सधै) घुम्छन् घाम डम्डम डम्डम
बिहानी दिनहूँ उस्तै शीत छर्न रमाउँछन्
जवानी सबका उस्तै प्रीतिका गीत गाउँछन् ।
४. छन्दकै तालमा विज्ञ खट्दैैछन् उपचारमा
छन्दकै तालमा जाँदै झर्दैछन् सरकारमा
छन्दकै तालमा बन्छन् पुल पर्खाल यी सधैँ
हाँस्दछन् छन्दमा रुन्छन् नानी छन्द मिलाउँदै ।
५. हावा सिर्सिर चल्दैछ पानी पर्दैछ दर्दर
धारा तर्तर खस्दैछ आँसु झर्दैछ धर्धर
गोडा थर्थर काँप्दैछन् भोक लाग्दैछ हर्हर
को सक्छ भन्न बस्ने हुँ छन्दको घर बाहिर ।
६. छैन प्रचारको छन्द के को चुनाव जित्नु र ?
छैन वाचनमा छन्द के को श्रोता समेट्नु र ?
छैन वर्षादमा छन्द अन्न बाली फलाउन –
छन्दविना त को सक्छ आनन्दले निदाउन ?
७. पहाड छन्द हो हाम्रो हाम्रै छन्द मधेस हो
स्वदेश छन्द हो हाम्रो हाम्रै छन्द विदेश हो
कतै जागिर हो छन्द कतै व्यापारको कला
कहाँ सुरु कहाँ अन्त्य ? लामो छ छन्द श्रृँ्खला ।
८. छन्द मिल्दो गरे काम बढाईँ चल्दछन् यहीँ
बिगारेर हिँडे छन्द लडाईँ चल्दछन् यहीँ
छन्दमा राग जाग्दा भो त्यत्रो रावणको इति
छन्दमा दाग लाग्दा भो महाभारत दुर्गति ।
९. व्यवसाय गरौँ छन्द बिग्रेमा ऋण लाग्दछ
खानपान गरौँे छन्द तोडेमा रोग लाग्दछ
धर्तीले छन्द नाघेमा भूकम्प चल्छ जे जति
छन्द बिग्रेर हेरौँ न बाढी र पहिरो कति ?
१०.कुवाको छन्द बिग्रेमा पानी पाइन्न कञ्चन
जुगाँको छन्द बिग्रेमा थाल्दछन् बम पड्कन
नानी हिँडुन् बुझी छन्द नत्र भविष्य गोल छ
छन्दविना त मान्छेको गन्तव्य भद्रगोल छ ।
११.म छन्दमा हिडेमात्रै घरभित्र अटाउँछु
स्वछन्द भै हिँडे के को घरमा पस्न पाउँछु ?
जहाँ छन्द कुनै छैन त्यहाँ स्वच्छन्द छन्द छ
हावामा जलमा माटो ढुङ्गामा पनि छन्द छ ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक