परीक्षा : बालकृष्ण गजुरेल (लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,असार ७।
बल्ल तल्ल चार कोष देखि साल बोकेर घर बनाइयो । साल नहाले धमिराले खाने । दुई तीन बर्षको अन्तरालमा भुकम्पले सक्यो । पुन: वासस्थान छाप्रोमा नै पुर्यायो । छाप्रे जीवनबाट पार पाउन भुकम्प पछि बल्लतल्ल घर बनाइयो । बर्ष दिन नबित्दै मेलम्चीले घर खेत सक्यो । चिन्ता मात्र होइन दशा लागे जस्तो लाग्यो ।
आखाभरी आशु भरिए । मन भरी पीडा थपिए । बालाइ कोरोना लागेर केही कम नहुँदै अवस्था गम्भिरमा पुग्यो । खेत बाले जोड्नु भएको हो । बाको मेहनत र श्रममा पनि पानी फिर्यो । मान्छेहरु यो अवस्थामा अर्ति र उपदेश दिन्थे । कसैले बिकल्प दिन सकेका थिएनन् । हप्ता दिन पछि जम्मा दुई सय मिटर बाटो बल्लतल्ल खुल्यो । जश लिन नेताहरुको होडवाजी नै चल्यो ।
यीनिहरु माथी भरोसा राख्ने कुरै भएन । बरु भौतिक संरचना जति लड्छ , जति बिग्रँदै जान्छ उति उनीहरुको कमाई बढ्ने रहेछ । म चिन्तामा पिरोलिँदै थिएँ । पछाडी बाट अचानक जवाफ अायो, “किन पिरोलिएको बाबू? चिन्ता धेरै लिनु हुन्न ।” म आशुले अोतपोत भएँ । सहयोग भन्दा सान्त्वना आउँदा पनि सुन्दर लाग्यो । पछाडी मोडिँदा गाउँका बृध्द बा रहेछन् ।
सबैले बा भनेर बोलाउने हुँदा उनी गाउँकै बा थिए । मैले आशु पुच्दै भनेँ, ” घर खेत सबै थोक गुमाउँदा चिन्ता नभएर के हुन्छ त बा ?” उनी नजिक आए । काँध माथी हात राखे। सम्झाउँदै भने,” तरकी गर्न र सफल हुन एक पटक शुन्यतामा पुग्नै पर्छ, बाबू । तपाईँहरु सँग भाग्यले परीक्षा लिँदै छ। अब उठ्नु भो भने कहिल्यै लड्नुहुन्न ।”