आशाको किरण चियाउँदै :त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ,असार ७।

१. कोही सफा किरण दिव्य छरेर आयो
आशा नयाँ बहुत चट्ट भरेर आयो
सन्त्रास त्रास भय लाख पुरेर आयो
आयो बिहान भर रात कुरेर आयो ।

२. आशा खुरूक्कन पस्यो मन झल्मलायो
कालो कुना विलय भो दिल चल्मलायो
काँडा झिके सरह भै सब दर्द भाग्यो
फाँडेर झार सय पुष्प यहाँ सजायो ।

३. अल्झो थियो मन भरी गजधम्म बस्ने
ढाकेर आत्मबलको घर टम्म बस्ने
हालेछ डम्म त्यसले मनसम्म जालो
आयो चिरेर सब त्यो कसरी उज्यालो ?

४. पाएछु दुःख सब झ्याल थुनेर हो कि ?
इच्छा रुपी विषय जाल बुनेर हो कि ?
पर्खालभित्र कति वर्ष बसेँ बिताएँ
यै सत्य हो नि व्यवहार भनी रमाएँ ।

५. सानो छ त्यो किरण तैपनि घाम यै हो
उत्साह भर्न सकल धाम तमाम यै हो
हाँसेँ रमाउँन सकेँ र त मुस्कुराएँ
फाली व्यथा सिरक बाहिरसम्म आएँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।