दोसाँध : इन्द्रकुमार श्रेष्ठ (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असार ७।
‘कपर्दी ! कपर्दी !! कपर्दी … ….!!!’
खेलाडी हात फैलाएर
मैदानमा गाडिएको साँधअगाडि बढ्दै जान्छ
विपक्षीहरू परपर भाग्छन्
अनि बिस्तारै ‘चेन’ बनाएर अगाडि सर्दै
घेरा हालेर झ्याप्पै समात्छन्
तर ‘खेलाडी’ फुर्तिलो र ज्यादै चिप्लो छ
विपक्षीहरूको घेरालाई यताउति हुत्याएर
तितरबितर पार्दै पुग्छ दोसाँधमा
र फेरि तुरुन्तै अर्को चरणको खेल शुरु गर्छ ।
‘कपर्दी ! कपर्दी !! कपर्दी … ….!!!’
‘खेलाडी’ उसै गरी अगाडि बढ्दै जान्छ
विपक्षीहरूको पूर्वसल्लाह छँदै छ–
“यसलाई जसरी पनि पछार्नुपर्छ”
अनि उनीहरू हिम्मतका साथ अगाडि बढ्दै जान्छन्
कसैले हात
कसैले खुट्टा
समातेर पछार्न त खोज्छन्
तर खेलाडी ज्याद्रो छ
ऊ सबैलाई यताउति लतारेर बल गर्छ
विपक्षीहरू पनि दारा किटेर बल गर्छन्
तर फेरि ‘खेलाडी’ कसोकसो गरेर
घिस्रिँदै गएर पनि दोसाँधमा पर्छ
अनि फेरि खेल शुरु गर्छ ।
‘कपर्दी ! कपर्दी !! कपर्दी … ….!!!’
रमितेहरू हेरिरहेका छन्
विपक्षीहरू प्रयास गरिरहेका छन्
‘खेलाडी’ फेरि समातिन्छ
‘खेलाडी’ फेरि उम्किन्छ
दोसाँधका दोसाँध हुन्छ
विपक्षीले पनि छाड्दैन
‘खेलाडी’ पनि हार्दैन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक