परीक्षाफल थाहा पाउन परीक्षाको वार्षिकोत्सव नै कुर्नु पर्ने हो !

परीक्षाफल थाहा पाउन परीक्षाको वार्षिकोत्सव नै कुर्नु पर्ने हो !

Exams

एउटा सफलताले भरिएको सपना देखिरहेको विद्यार्थी जसले सपना पूरा गर्नु त पछिको कुरा हो, परीक्षाफलको समयसम्म त सपना समेत बिर्सिसक्छ ।

 

-सुरेश चौलागाईँ
 

सामान्यतयाः एक वर्षको पढेपछि कुनै विद्यार्थी एक कक्षा उत्र्तीण गर्न सफल हुन्छ वा भनुँ शैक्षिक जीवनको एक खुड्किला उक्लिन सक्षम हुन्छ । तर एक वर्ष पढेर दिएको परीक्षाको परीक्षाफल अर्को १० महिनापछि निस्कनु अचम्मको कुरा रहेन यहाँ । एक चोटी भएको भए पो अचम्म हुन्थ्यो, यहाँ त बारम्बार यस्तै भइरहन्छ । चाहे कुरा गर्नुस् उच्च माध्यमिक शिक्षा परिषद वा कुरा गर्नुस् त्रिभुवन विश्वविद्यालयको । देशभित्रका अब्बल शैक्षिक संस्थाका रुपमा परिचित संस्थाहरूले लिएको परीक्षाको परीक्षाफल थाहा पाउन मात्र १ वर्ष लाग्ने भएपछि कति वर्षमा उक्लिएमा खुड्किला वा भनुँ कति वर्षमा सकिएला एक वर्षको अध्ययन ।

 

कुरा भर्खरै प्रकाशित कक्षा ११ को परीक्षाफलको हो । २०७१ साल जेठ महिनामा सञ्चालन भएको परीक्षाको परीक्षाफल माघ महिनामा आएर प्रकाशन भएको छ । सेमेष्टर प्रणालीमा जानुपर्ने वकालत भयरहेको बेला यसरी ढिलासुस्ती भएकोतर्फ कसको ध्यान जाला र ? एक वर्ष लगाएर हासिल गरेको दक्षताको मूल्याङ्कन हो परीक्षा तर यहाँ त त्यही मूल्याङ्कन कस्तो आउँछ भनेर अर्को एक वर्ष कुर्नुपर्ने स्थिति आएको छ । समयमा परीक्षा र रिजल्ट नहुँदा विद्यार्थीको समय त्यत्तिकै खेर गइरहेकोतर्फ कसैलाई मतलब छैन वा मतलब गर्न चाहेर पनि गर्न सकिरहेका छैनन् ।

 

तीन वर्षको कोर्षलाई चार वर्षभन्दा माथि लगाउने त्रिभुवन विश्वविद्यालयका अगाडि त उच्च माध्यमिक शिक्षा परिषद् अझ चुस्त र दुरुस्त देखिएको छ । तर कति दिनसम्म यसरी कुरेर बस्नुपर्ने हो विद्यार्थीहरूले ? आफ्नो भविष्य र आफूले गरेको प्रगतिको जानकारी राख्न जोकोही पनि   हिच्किचाउँदैनन् । झण्डै एक वर्षको समयमा परीक्षाफल प्रकाशित हुँदा त परीक्षा कस्तो भएको थियो त्यो पनि बिर्सि सक्छन् विद्यार्थीहरूले । परीक्षा कस्तो भएको थियो, परीक्षामा के के गरिएको थियो, गल्ती के भयो होला, कमजोरीलाई कसरी सच्याउन सकिन्छ जस्ता कुराको मूल्याङ्कन गर्न त समयमा रिजल्ट भएर आफूले परीक्षामा उत्तरपुस्तिकामा दिएको कुरा स्मरणमा रहनु प¥यो नि ! तर यहाँ त परीक्षा दिएको एउटा इतिहास भइसकेपछि मात्र रिजल्ट आउँछ जसले बिर्सिसकेको घटनाको याद मात्र दिलाउँछ । यो कुनै जन्मदिन भन्दा फरक नहुने अवस्थामा आइपुगिसक्यो । जन्मदिन हरेक वर्ष मनाइन्छ तर रिजल्ट परीक्षा दिएको एक वर्षमा आउँछ अनि रमाउन थाल्नुपर्नेछ त्यसको सफलतामा ।

 

समयमा परीक्षाफल प्रकाशित गर्न नसक्ने नै हो भने परीक्षाकै संख्यामा कमी गर्दा राम्रो होला । एउटा सफलताले भरिएको सपना देखिरहेको विद्यार्थी जसले सपना पूरा गर्नु त पछिको कुरा हो, परीक्षाफलको समयसम्म त सपना समेत बिर्सिसक्छ । कस्तो बिडम्बना हाम्रो ? परीक्षा र परीक्षाफल एकआपसमा गाँसिएका हुनाले यसलाई सँगसँगै लानुपर्ने दायित्व हैन र !

तपाइँको प्रतिक्रिया ।