अक्सिजनको चरम अभाव : ग्रान्डी अस्पतालले थप बिरामी भर्ना नलिने
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ३०।
टाेखा नगरपालिका वडा ८ धापासीमा अवस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले अक्सिजनको अभावको कारण देखाउदै अब देखि नयाँ थप बिरामी भर्ना नलिने भएको छ।अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी सहितको सूचनामा उल्लेख गरिएको हो।
अस्पतालका महाप्रबन्धक विकासमान सिंहले “कोभिड–१९ बिरामीको उपचारमा कटिबद्ध भएर लागेको अवस्थामा नेपाल सरकारको नियमअनुसार दैनिक १०० सिलिन्डर अक्सिजन मात्र अस्पताललाई प्राप्त हुँदा चाहेअनुसार थप बिरामी भर्ना गरेर उपचार गर्न असमर्थ भएको बताउदै अस्पतालमा कोरोना सङ्क्रमित तथा कोरोना नभएका बिरामीको सुरक्षित तवरले उपचार गराइरहँदा हाल आएर अक्सिजनको चरम अभाव भएपछि नयाँ बिरामी भर्ना लिन समस्या परेको जानकारी दिए।
अक्सिजनको मात्रा आवश्यकताअनुसार प्राप्त भएसँगै थप बिरामीको भर्ना गरिने महाप्रबन्धक सिंहको भनाइ छ ।
अक्सिजनको अभावले सेवा प्रवाह गर्न कठिनाइ भएको भन्दै ग्रान्डीले बिरामीसँग क्षमायाचना समेत मागेको छ ।
ग्रान्डी अस्पतालले हाल ७५ भन्दा बढी कोरोना बिरामी तथा १०० भन्दा बढी कोरोना नभएका बिरामीले उपचार गरिरहेको छ । विसं २०६९ मा स्थापना भएको ग्रान्डी अस्पतालमा २०० भन्दा बढी शय्यामार्फत बिरामीको उपचार हुँदै आएको छ ।