पृथ्वी जयन्ती: एक सन्दर्भ

पृथ्वी जयन्ती: एक सन्दर्भ

कपन अनलाइन\२०७१, पुस २७

गोरखामा २९३ वर्षअघि जन्मिएका पृथ्वीनारायण शाह नेपाली इतिहासका महत्वपूर्ण व्यक्तित्व बने । राष्ट्रिय एकताका प्रतीक रुपमा चिनिएका उनले बाइसे र चौबिसे राज्यमा बाँडिएको नेपाललाई एउटै मालामा गाँस्ने काम गरेका थिए । गोरखामा मल्लकालीन समयमा जन्मिएका उनले काठमाडौँ उपत्यकाका तीनवटै शहर र अन्य राज्यहरू एकीकरण गरिसकेपछिको अवस्थालाई आधुनिक युगको सुरुवातको संज्ञा दिइएको छ । पृथ्वीनारायण शाहले वि.सं. १८२५ मा काठमाडौँ विजयप्राप्त गरेपछिलाई नेपालको आधुनिक युगको सुरुवात भनिन्छ । आफ्ना भनाइहरूको संग्रह दिव्योपदेश नासो छोडेर गएका एकताका प्रतीक पृथ्वीनारायण शाहले “नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो” भनेका थिए । एउटा युगकै सुरुवात गर्ने व्यक्तिप्रति श्रद्धा सुमन एवं सम्झना व्यक्त गर्नाले नयाँ नेपाल निर्माणमा तगारो लाग्ने भन्ने त होइन ।

pri

तर २९३ वसन्त पार गर्दै गर्दा पछिल्लो समय जातजाति, धर्म एवं भाषाका विषयमा संघियताको कुरा उठाएर धेरै विवाद उत्पन्न भइरहेको छ । समय समयमा भएका आन्दोलन र त्यसको परिणामस्वरूप नेपालले लोकतान्त्रिक गणतन्त्रलाई अनुसरण गरेको छ । पृथ्वी जयन्ती अर्थात् राष्ट्रिय एकता दिवसको अवसरमा तीनै एकीकरणका प्रतीक पृथ्वीनारायण शाहको सालिकमा माल्यापर्ण गर्नु वा राजा भएकै कारण पृथ्वी जयन्ती हटाइनुपर्छ भन्नु विविध विवाद उत्पन्न गर्नुभन्दा उनले छाडेको राम्रा कुरा अनुसरण गर्न सकिन्न र ? सधैँ नराम्रा पक्षमात्र खोतल्ने बानी भएकै कारणले गर्दा होला हामी राम्रो कुरा खोज्ने र अनुसरण गर्ने काम गर्दैनौँ ।

कहिले काहीँ पृथ्वीनारायण शाहले आफ्नो राज्य विस्तारमा ध्यान दिएका भन्ने कुरा पनि सुन्नमा नआएका भने होइनन् । तर आखिर जेसुकै भएपनि टुक्राटुक्रामा छिन्नभिन्न नेपाललाई एउटै मालामा गाँसेर भातृत्व, धार्मिक सहिष्णुता एवं जातजातिबीच एकता ल्याउन उनको भूमिका पक्कै चानचुने थिएन । जनताले चुनेर पठाएका दलहरूबीच त सहमति एवं सहकार्य गर्न नसकिएको वर्तमान समयलाई हेर्ने हो भने त्यो बेला त्यति धेरै राज्यका जनताहरूलाई एउटै सूत्राधारमा बाँध्नु कति कठिन थियो होला ? के त्यसतर्फ अहिलेका नेता, कार्यकर्ता एवं राजनैतिक दलहरूले सोचेका छन् त ? पृथ्वी जयन्ती नमनाउँदैमा देशले कोल्टे फेरिहाल्ने त होइन ?

एउटा देशका महानायक रुपमा युगकै परिवर्तन गर्ने उनका राम्रा पक्षलाई लिएर अगाडि बढ्न खोजेमा राजतन्त्र फिर्ता आउने त होइन । तर तिनै आजका देशको स्वरुप निर्माण गर्ने पृथ्वीनारायण शाह ओझेलमा पारिरहेका छन् । आखिर राष्ट्रिय एकता दिवस मनाउने व्यवस्था हटाइएको भएपनि उनले नै अर्ती उपदेशमा भनेअनुरुप विविध जातजाति, भाषाभाषी, धर्म, संस्कृतिको विविधतालाई एउटै मालामा उनेर लाने जमर्को गर्नु सधैँका लागि र सबैका लागि उपयोगी हुन सक्छ । संविधान जारी गर्नुपर्ने मिति नजिकिँदै गर्दाको समयमा पृथ्वीनारायणको जन्मजयन्ती परेको सन्दर्भमा सबै भाषा भाषी, जातजाती, धर्म, सँस्कृति एवं रितिरिवाजलाई जोगाएर कसैको मान प्रतिष्ठामा आँच नआउने नयाँ संविधानको निर्माण होस् भन्ने कामना जो कोही नेपालीको हुने नै भयो । आशा गरौँ फेरि पनि नयाँ नेपाल निर्माणमा सबैको समान सहभागिता, विविधतामा एकता एवं नेपाल सबैको साझा फुलबारी होस् ।

तपाइँको प्रतिक्रिया ।