के हुन्छ पाँच लाख विद्यार्थीको परीक्षा ?

के हुन्छ पाँच लाख विद्यार्थीको परीक्षा ?

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २२।

कोभिडको नयाँ भेरिएन्टले सिर्जना गरेको महामारीका कारण विश्वभरको जनजीवन प्रभावित भइरहँदा नेपालमा पनि गत वर्षको संक्रमणका कारण सिर्जित समस्याहरू दोहोरिँदै छन् । त्यसमध्येको हो, माध्यमिक तहका विद्यार्थीहरूको अन्तिम परीक्षा (एसइई) ।
जेठ १३ गते गर्ने पूर्वतालिकाअनुसार यसचोटि परीक्षा सञ्चालन हुने, नहुने टुंगो छैन । अस्ति सोमबार सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा शिक्षासचिव रामप्रसाद थपलियाको अध्यक्षतामा बसेको २१ सदस्यीय बैठकले एसइई परीक्षा पूर्वतालिकाअनुसार सञ्चालन गर्न सकिने, नसकिनेबारे २८ गते फेरि अर्को बैठक बसेर टुंगो लगाउने निर्णय गरेको छ ।

बैठकमा कुरा उठ्यो, कोभिडको न्युन असर रहेका हिमाली जिल्लामा मात्र भए पनि पूर्वतालिकाअनुसार नै परीक्षा चलाउँदा के हुन्छ ? तर, हुम्लामा एकबाहेक बाँकी सबै हिमाली जिल्लामा सयभन्दा बढी संक्रमित र मृत्यु दर पनि त्यही अनुपातमा भइदिँदा समस्या आएको सहभागी एक सदस्यले बताए ।
भारतमा जस्तै विधिअन्तर्गत बैठकबाट नतिजा दिने विकल्पको समेत खोजी गरियो । त्यहाँ म्याट्रिक परीक्षा सञ्चालन नगर्ने निर्णय भइसकेको छ । विकल्पका रुपमा प्रत्येक विद्यालयमा सात सदस्यीय नतिजा प्रकाशन समिति बनाइएको छ ।

त्यसमा पाँच सम्बन्धित विद्यालयका विषय शिक्षक र बाँकी दुई अर्को विद्यालयका शिक्षक राखिएका छन् । त्यो समितिले सय पूर्णांकमा २० अंक प्रयोगात्मकबाट, ४० अंक अन्तिम टेष्ट परीक्षाबाट, ३० अंक अर्धवार्षिक परीक्षा र बाँकी १० अंक सात सदस्यीय समितिले थप्न पाउने गरी कार्यविधि बनाएको छ । नेपालको हकमा पनि त्यस्तै गर्ने कि ? भनेर सोमबारको बैठकमा छलफल भएको स्रोतले जनायो ।

नेपालको शैक्षिक इतिहासमा पोहोर पहिलोचोटि केन्द्रीय स्तरको परीक्षाबिना सम्बन्धित स्कुलले नै नम्बर दिएर विद्यार्थीको स्कुले अध्ययन पूरा गराइएको थियो ।
नेपालमा यसपटक एसइई परीक्षा दिने विद्यार्थी संख्या पाँच लाखको हाराहारीमा छ । देशभर ११ हजार विद्यालयका ती विद्यार्थीलाई भौतिक उपस्थितिमै परीक्षा दिन लगाउन सम्भव भएसम्म सम्पूर्ण विद्यालयलाई केन्द्र मानेर परीक्षा सञ्चालन गर्न सकिने विधिबारे पनि छलफल भएको छ । परीक्षाका लागि अत्यावश्यक प्रश्नपत्रको छपाई भने सकिएको छ ।

प्रदेशैपिच्छे फरक–फरक तयार पारिएको उक्त प्रश्नपत्र प्याकिङ गरेर सुरक्षा निकायको जिम्मा लगाउने काम भइरहेको छ । नेपाली सेना र सशस्त्र प्रहरीले प्रश्न पत्र व्यवस्थापनको जिम्मेवारी पाएका छन् भने नेपाल प्रहरीले परीक्षा सञ्चालन भएमा परीक्षा केन्द्रको सुरक्षा जिम्मेवारी पाउनेछ ।

सो  बैठकमा नेपाल प्रहरीका एसएसपी टेकप्रसाद राई (कार्य महाशाखा) सशस्त्रका डिआइजी गणेश ठाडा मगर, सेनानी राजकुमार थापा, गुप्तचर एसएसपी माधव तिमिल्सिनाको पनि सहभागिता थियो ।समाचार साभार :जनआस्था साप्ताहिक

तपाइँको प्रतिक्रिया ।