काठमाण्डौ महानगरपालिका वडा नं ४ शंखपार्कमा खुल्ला शारीरिक व्यायामशाला शुभारम्भ

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १३।

काठमाण्डौ  महानगरपालिका  वडा नं  ४  शंखपार्कमा खुल्ला शारीरिक व्यायाम गर्ने ठाउँको शुभारम्भ भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले वाह्य शारीरिक व्यायाम गर्ने ठाउँको शुभारम्भ गरेका हुन् ।

शुभारम्भपछि बोल्दै प्रमुख शाक्यले, यी उपकरणको प्रयोग गर्ने उपभोक्ताबाट आएको प्रतिक्रिका आधारमा थप ठाउँमा विस्तार गर्ने योजना रहेको बताए  । उनले भने , ‘हामी सार्वजनिक जग्गा संरक्षण गरेर पार्क बनाउने र पार्कमा बहुउपयोगी बनाउने योजनाअनुसार काम गरिरहेका छौँ । यसको प्रयोगकर्ताबाट प्राप्त हुने सुझावका आधारमा अन्य पार्कमा पनि सेवा विस्तार गर्नेछौँ ।’

अतिक्रमित सार्वजनिक जग्गालाई पहिचान गर्ने, अतिक्रमण हटाउने र सार्वजनिक उपयोगमा ल्याउने काममा धेरै प्रगति भएको र  यसलाई अझै बढाउनु पर्ने  प्रमुख शाक्यको भनाइ थियो ।

त्यस क्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, पार्क संस्कार जोगाउन सके सामाजिक व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताउदै  योजनाबद्ध रुपमा पार्क निर्माण गरिरहेको जानकारी दिएकी थिइन् ।

जडान गरिएका सामानको प्रयोग गर्दै वडाध्यक्ष मोहनबहादुर विष्टले वडाका अन्य पार्कमा पनि सामान जडान गर्ने सोच सुनाउदै  सहरी आचरणलाई स्वस्थ्य बनाउन पनि यसप्रकारका सुविधा आवश्यक रहेको धारणा राखेका थिए।

सो पार्कमा   व्यायामका लागि करीब ८ लाख रुपैयाँबराबरका सामान तथा उपकरण राखिएका छन् । यसरी राखिएका उपकरणमा एव्डोमिनल फिटनेट कम्बाइनेसन, एअर वाकर, डबल सर्फोर्ड, सिङ्गल रोइङ् मेसिन, डबल स्लिट्स मेसिन, लेग एक्स्टेक्सन एण्ड फिटनेस राइडर, स्डान्डिङ् एण्ड सिटिङ् ट्वीस्टर, पुस अप एण्ड डिपस्टेशन र लेग लिप्टर लगायत रहेका  छन् ।

 

तपाइँको प्रतिक्रिया ।