पश्चिमीकरणको प्रभावसँगै हराउँदैछ मौलिकता : प्रशुराम अधिकारी

पश्चिमीकरणको प्रभावसँगै हराउँदैछ मौलिकता : प्रशुराम अधिकारी

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ४।

अहिलेका अधिकांश युवा पुस्तामा हाम्रो मौलिकताप्रतिको मोह क्रमिक रुपले घट्दै गइरहेको छ । आधुनिक हुने नाममा हाम्रा कतिपय राम्रा परम्पराहरु, संस्कृति, लोक साहित्य, लोक संगीत, लोक बाजाहरु, लोप हुने चरणमा छन् । जन्मोत्सवका सट्टामा वर्थ डे हाम्रो संस्कृति बनिसक्यो। पञ्चेवाजाको सट्टा व्याण्ड बाजा । हाम्रो खाजामा आजकाल भुटेका मकै र रोटीका ठाउँमा चाउचाउ, बिस्कुट र अन्य परिकार हुन थालेका छन् ।
पूर्वीय संस्कृतिको गुरुकुलीय शिक्षा पद्धती हराइसकेको छ । योगलाई योगा बनाएको छ । हाम्रा मौलिक संस्कृतिहरु बिर्सिएर टोलटोलमा क्याफे कल्चर मौलाएका छन् । रोधीघरहरु भत्किसकेका छन् र धमाधम डिस्को र डान्स क्लबहरु बनिरहेका छन् । नयाँ पुस्ता त्यसैमा रमाइरहेको छ र आउँदो पुस्ताले त्यसैलाई आफ्नो संस्कृति मानेर थप पर–संस्कृति ग्रहण गर्नेछ ।
सहरहरु कंक्रिटका जङ्गल भइसकेका छन् । गाउँहरु धमाधम हुने तरखरमा छन् । विस्तारै हाम्रो सोचाई लवाई, खुवाई, भाषा, धर्म, संस्कृति आफ्नोपनालाई बिर्सिदै परिवर्तित हुँदै गइरहेको छ ।
वास्तवमा समाजको प्रकृति नै परिवर्तनशील हुन्छ । खराब र नराम्रा कुराहरुलाई छोड्दै राम्रा र असल कुराहरुलाई ग्रहण गर्दै परिष्कृत र परिमार्जित हुँदै अगाडि बढ्नु समाजको प्रकृति हो । तर आधुनिकीकरणको नाममा पश्चिमीकरण अगाल्नु पक्कै राम्रो होइन । अरुको प्रभावमा हामीले हाम्रा समाजका राम्रा पक्ष, असल मौलिक ज्ञानहरुलाई पुर्नताजगीकरण गर्न सकेनौ । समय सुहाउँदो रुपमा व्यवहारिक बनाउन सकेनौ । बरु अरुकै अन्धो अनुसरण गरिरह्यौं ।
हुन त प्राचीन पश्चिमी समाजका हुबहु गुणहरु अहिलेका पश्चिमी समाजले अनुसरण गरेका होइनन् । पश्चिमी समाजहरुमा पनि विभिन्न कालखण्ड – पुर्नजागरण, औद्योगिक क्रान्ति, सूचना प्रविधि क्रान्ति हुँदै अहिलेको आधुनिक पुँजीवादी विश्वव्यापीकरणको चरणमा आएका हुन् । पहिलेका पश्चिमी समाज पूर्वीय समाजभन्दा निकै परम्परागत अन्धविश्वासमा अल्झेका थिए ।

विभिन्न कालखण्ड पार हुँदै ति समाजहरु परिष्कृत र परिमार्जित हुँदै आधुनिकतातर्फ अघि बढे र अहिले आधुनिकीकरण पश्चिमीकरण भएर संसारभर फैलियो ।
हाम्रो समाजमा आधुनिक हुने नाममा पश्चिमीकरण भइरहेको छ । पश्चिमीकरण आधुनिकीकरण होइन । नेपाली समाज व्यापक रुपमा आधुनिकतातर्फ उन्मुख भइरहेको छ, त्यो राम्रो हो । विडम्बना यहाँ पश्चिमीकरणलाई नै आधुनिकता भन्ने भ्रम पर्न थालेको छ । आधुनिकताले समाजलाई उन्नत, सुसंस्कृत, सभ्य, पुर्नताजगी तुल्याउँछ तर पश्चिमीकरणले हाम्रो मौलिक मान्यता र आदर्शलाई ध्वस्त पार्छ । हाम्रो मौलिकता भन्ने नै केही रहँदैन ।
उन्नाईसौं शताब्दीमा ब्रिटिस साम्राज्य घाम कहिल्यै नअस्ताउने गरी विश्वका धेरै भू–भागमा फैलिएकोले अङ्ग्रेजी विश्वको माध्यम भाषा बन्यो । साथसाथै इतिहास, बौद्धिक एवं प्राज्ञिक अध्ययनको शैली र दृष्ट्रिकोण पनि उतैबाट आयो । सङग्रह एवं अभिलेखमा पनि उतैको प्रभाव देखियो । भाषासँगसँगै जोडिएर सभ्यता, संस्कार, संस्कृति र धर्म पनि आयात हुन थाल्यो ।
हामीले विकास र परिवर्तनका नाममा आधुनिकता भित्र्यायौं भन्यौ तर आधुनिकीकरण पश्चीमीकरण भएर भित्रियो । खासमा हाम्रो लागि पश्चिमीकरण विकास वा परिवर्तन थिएन ।
हाम्रो मौलिकतालाई समय सुहाउँदो पुर्नताजगी गर्न नसकिएको कमजोरीमा पश्चिमीकरणले धक्का दियो त्यसैले हामी हरेक कुरामा उतैको भर पर्नु परेको छ ।

भाषा, धर्म, जात, संस्कृति लगायत हरेक क्षेत्रको खोज अनुसन्धान पाश्चात्य विद्धानहरुको भरमा छ । पाश्चात्य विद्धानहरुले हाम्रो हरेक क्षेत्रको अध्ययन गरेर आफु अनुकुल स्थापित गरेको मानकलाई हामीले पछ्याइरहेका छौ । हाम्रा नीति, नीयम, संविधान, कानुन, रणनीति पनि पश्चिमी दर्शन तथा सिद्धान्तबाट प्रभावित छन् । पृथ्वीनारायण शाहको शासनकालपछि हरेक राजनीतिक र सामाजिक आन्दोलनहरु पनि पश्चिमीकरणबाट प्रभावित छन् । हाम्रो अधिकार माग्ने विधि पनि पश्चिमी शैलीकौ भैसकेको छ ।
राज्यका र समाजका हरेक पक्ष र गतिविधिमा पश्चिमी प्रभाव बढीरहेको छ । राज्यले र समाजले कतिपय कुरालाई संस्थागत रुपमा नै पश्चिमा पद्धतीलाई प्रोत्साहन गरिरहेको छ । जंगबहादुर राणा बेलायत भ्रमण गरी फर्कदा नेपाली कला, संस्कृति, जनजीवन र काननुमा समेत पश्चिमी प्रभाव बोकेर फर्केका थिए ।

त्यही समयदेखि नेपालमा घर, भवन र मठ, मन्दिर निर्माणमा अन्धाधुन्ध पश्चिमीकरण सुरु भयो । त्यही समयदेखि नै नेपालमा रोम शैली भित्रीय । त्यही समयदेखि निर्माण कलामा हाम्रो मौलिकता मासिन थाल्यो । वि.सं. १९९० सालको भुइँचालोपछि भत्किएका पुरातात्विक सम्पदाहरु कतिपय पश्चिमी शैलीमा पुर्ननिर्माण भए भने २०७२ सालको भुइँचालो पछि सुरु भएको पुर्ननिर्माणमा हाम्रो मौलिक निर्माणको परम्परा मासेर पश्चिमी निर्माणको परम्परालाई संस्थागत रुपमै अंगीकार गरिएको छ ।
धेरैलाई लाग्दो होे, युरोप र अमेरिकामा बस्ने मानिसले लगाउने भेषभूषा, खानपान, मनाउने चाडपर्व, अंगीकार गर्ने धर्म, संस्कृति, उन्नत, परिस्कृत र सभ्य होला । होला पनि, तर प्रश्न अरू भूगोल, इतिहास र सभ्यता भएकाहरूका लागि यो किञ्चित पनि मार्गनिर्देशन होइन, हुनु हुँदैन । उनीहरूको सभ्यता पश्चिमी हो नकि आधुनिक । आधुनिकताको मुहान जुनसुकै भुगोल, इतिहास र संस्कृति हुन सक्छ ।
पूर्विय संस्कृति, दर्शन र साहित्यको इतिहास पनि गौरवपूर्ण थियो ।

आजभन्दा करिब पाँच हजार वर्ष अघिको आसपासमा रचना गरिएका पूर्विय साहित्यका पौराणिक ग्रन्थहरुमा कल्पना गरिएका अधिकांश कुराहरुलाई पश्चिमा विद्धानहरुले अनुसन्धान गरेर व्यवहारिकता प्रदान गरिरहेका छन् । भनिन्छ महाभारतमा कल्पना गरिएका कतिपय घटनाहरु त अझै घटित भएकै छैनन् ।

यस्तो गौरवपूर्ण मौलिक इतिहास र संस्कृतिलाई हामीले समयसापेक्ष व्यवहारिकता प्रदान गर्न सकेनौं । चरणवद्धरुपमा पश्चिमीकरणको प्रभावमा हामीले आफ्नै मौलिक सांस्कृतिक इतिहास र धरातललाई कमजोरी ठान्यौ । सबै संस्कार र संस्कृतिहरु खराब थिएनन् होला तर हामीले तिनलाई जोगाउनै चाहेनौं । बुझ्नु पर्ने कुरा के थियो भने मौलिक संस्कारलाई मूल्य, मान्यता र श्रद्धा अनुरुप निरन्तरता दिए मात्र संस्कृति जर्गेना हुने हो ।
पश्चिमीकरण सबै हिसाबले खराब भन्न खोजेको होइन । संस्कृति र मान्यतामा ह्रास आउन नदिन हामी आफ्ना क्रियाकलापमा सचेत भएर सांस्कृतिक लेनदेनको प्रक्रियाबाट केही संस्कृतिलाई परिष्कृत गरेर आफ्नो संस्कृतिलाई वैभवशाली बनाउँन सक्नु पथ्र्यो तर जसरी जताबाट भए पनि सिक्नु नै त हो भन्दै पर–संस्कृति ग्रहण गर्दै र आफ्नो संस्कृति त्याग्दैै जाँदा हामीले हाम्रो आफ्नो मौलिकता चाही के हो भनेर के मा गर्व गर्ने ? हाम्रा पुर्खाहरुको योगदानबाट हजारौ वर्ष लागेर बनेको सांस्कृतिक इतिहासलाई कुन रुपमा सम्झीने ? ति सबै गलत रहेछन् भनेर मान्ने ?
जीवनमा जीवन्तता त्यतिबेला मात्र आउँन सक्छ, जब हामी आफ्नो भाषा एवं संस्कृतिप्रति जागरुक हुन्छौं । भाषा र संस्कृतिविना हामीले भौतिक रुपमा जतिसुकै प्रगति गरेपनि, परिवेशमा यसबाट कुनै लाभ हुँदैन ।

भाषा र संस्कृति तब मात्र रहन्छ जब त्यो हाम्रो परिवेश हुन्छ । आफसोस हामी आफ्नो जरोलाई नै छाडिरहेका छौं । भाषा हाम्रो संस्कृति एवं संस्कारको प्रतिक हो । त्यसैले भाषा, धर्म, संस्कृति र यिनको समष्टीगत गौरवपूर्ण इतिहास र मौलिक मान्यतामा ह्रास आउन नदिन हामी आफ्ना क्रियाकलापमा सचेत हुनैपर्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।