साहित्यिक यात्राको धर्म : शीतल गिरी

साहित्यिक यात्राको धर्म : शीतल गिरी

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २८।

दशै विदामा घर आएका वखत रमेशमोहन अधिकारीले आफ्नो कार्यक्षेत्र मकवानपुरको पश्चिम–उत्तरमा पर्ने आग्राको मोरियामा २०६४ सालको कार्तिक १८ गते साहित्यिक कार्यक्रममा आउन निम्ता दिनु भएको थियो ।

यस अघि उहाँले मकवानपुरको छतिवन, रौतहटको समनपुरमा आफ्नो कहिल्यै नमेटिने छाप छाडीसक्नु भएको छ । साहित्यिक कार्यक्रममा सहभागी हुन म चितवनमा एउटा बैठक सकेर हामफाल्दै १७ गते ११.४५ तिर पालुङ शिखरकोटमा पुगे ।
ंरमेशमोहनको महकमा भुलेर काठमाडौंबाट सञ्चार मासिकका सम्पादक जनकराज सुवेदी र गोरो अग्लो पातलो कवि मशान उपासक ११ बजे तिरै त्यहाँ पुगिसकेका रहेछन् । घर परिवारले कचकच गरेपनि चन्द्रनिगाहपुरबाट शंकर भट्टराई, अनुप तिमल्सिना र गजल गो रमेश समर्थन पनि पुग्नु भयो ।

गजल विषयमा डक्टरेट गर्ने पहिलो नेपाली भनेर चिरपरीचित घनश्याम परिश्रमी पनि फुलेको दाह्री मुसार्दै शिखरकोटमा ओर्लिनुभयो । पालुङ साहित्य परिवारका दुई जना भाई विर्खे अन्जान र नवराज वर्तौंला साथै अतिथिहरूको स्वागत गर्न बसेका रमेशमोहन अधिकारी, कार्यक्रमका आयोजक इन्द्रायणी मा.वी. मोरीयाका प्र.अ.नारायण बहादुर कार्कि पनि हुनुहुन्थ्यो, अँ भोकाएकाहरू जनक, मशान, अनुप, परिश्रमी र मैले टन्न पेट भरेपछि पाका यात्री म र डा.घनश्यामले केही औषधी जोहो गरी आग्रासम्मको यात्रा गर्न १.३० वजे शिखरकोटलाई नमस्कार गरि प्रस्थान गरेउ । पहिलो पल्ट उच्च पहाडीमा पाच घण्टाको भनिएको बाटो छिचोल्न हिड्दै थिए म ।
‘ठाडो उकालोमा उक्लिन सक्दिन डोको सहित भरियाको व्यवस्था गरिराख्नु होला’ भनी आफ्नो यथार्थता मजाककै रुपमा सहि भनेकै थिए रमेशजीलाई । फलामे पुल तरेपछि दाहिनेतिरको बाटोबाट सल्ला लगाइएको कामीडाँडालाई देर्वे पारेर अगाडी बढ्र्दै गयौं । म अघि अघि थिए, स्थानिय बजारमा बबलगम, सोलो किनेर हाम्रो टोली अघि बढ्यो ।

पहाडमा हिडीरहेका र पहाडको मुख नै नदेका बीचको अन्तर उकालोमा थाहा हुँदो रहेछ । बास्तवमा मेरो हिडाइको गती सुस्त सुस्त हुँदै जान थाल्यो । तेन्जीङ शेर्पाले हिलारीलाई भनेको ‘लैनो पाडो’ म बन्न पुगे र थ्याच्च बसे । मैले बोकेको झोला मसान उपाशक भाइले बोक्यो, जनकराज सुवेदी भाईले खोजेर ल्याइदिएको भिमसेन पातिको लौरो म लैनो पाडो जस्तोको लागि तेन्जिङ शेर्पा नबन्दो हो त चिसापानीको उकालो, हो नढाँटी भन्दा उक्लिन सक्ने थिइन ।

चिसापानीको उकालो उक्लिसकेपछि पछाडि फर्केर हेरेको त स्याङजामा स्याहारिएका डा.घनश्याम, पाल्पामा पालिएका समर्थन सुस्त गतिमा पाइला चालु कि नचालुको तालमा गजल गुन्गुनाउँदै लौरो टेक्दै आउदै गरेको चिने ।
ठाडो उकालो सकिए पछि सामान्य भिरालो बाटोमा हाम्रो कल्याङ मल्याङले होला काडे भ्याकुर अतालिएर कराएको पाइयो । जति जति अग्लो स्थानमा गइयो त्यति त्यति रुखको आकार सानो भएको पाए ।

वाइरोडको बाटोमा बसबाट देखेको नाङ्गो पहरामा जीवनको आभास दिलाउने लाम्चो आकारको गुलाबी रङ्गको जंगली फूललाई बाटो भरी खोजे तर पाइन । पाइएमा एक दुइटा टिपेर चिनोको रुपमा राख्ने साथै केहीको शंकर भट्टराईले बोक्नु भएको क्यामरामा कैद गर्ने विचार थियो । निर्जीव ढुङ्गे पहरामा परिश्रम खन्याएर, तरकारी नै तरकारी फलाएको राम्रो लाग्यो ।

पहाडी बाटोको विकटताले गर्दा कोदोको पुष्ट कपनी, फापरको फूल देख्दा पनि हाम्रो यात्रा सुखकारी हुन सकेन । महादेव खर्कको बाटोबाट हिड्दा पानीको मूल रसाएको कतै पाइएन ।
पाइयो के भने, सिस्नो— सिस्नो पनि कस्तो भने लाइकिरा लागेर ‘नकरान झिंगा’ बनेको— ख्याउटे अस्तित्वको लागि अंतिम तुरुप चाल्दाको शामन्त साहीको नाइके राजतन्त्र जस्तो ।

मैले वरिष्ट कथाकार परशु प्रधानलाई संझे उहाँको “रचना र रचना गर्भ” नामगरेको पुस्तकको एउटा कथामा लाइकिराले खाएको सिस्नोको प्रसङ्ग छ— जुन सिस्नो पश्चिमी पहाडवासीका अप्ठारो बेलाको जीवन अमृत हो । सिस्नो अर्थात् प्रकृतिले मानव पाल्न उमारेको झार, मानवको लागि वरदान, नेपालको पहिचान ।
मोरिया जाने साहित्यिक यात्रा धेरै सहज थिएन । सहज बाटोमा हाँस्दै, साहित्य सम्बन्धि चर्चा गर्दै बाटो काटियो । पहिलेको निर्धारित कार्यक्रम अनुसार साढे तिन घण्टा हिडीसकेपछि महादेव खर्कमा रहेको सहयात्री आयोजक नारायण कार्किको घरमा वासवस्ने योजना थियो, तर १६ गते राती चितवनमा बस्नुहुने वहाँको ठूलिआमाले नश्वर शरिर त्यागगरि दिगन्तमा विलिन हुनु भएको हुँदा शोकाकुल परिवारमा १० जनाको थपभार लादेर दुःख थपीदिन रमाइलो गर्न हिडेका हामीलाई उचित लागेन ।
रात पर्न आटेको हुँदा एक जना पथप्रदर्शक र बत्तिको जोहो गरिदिने नारायण सरले जिम्मा लिनुभएको हुँदा जनकराज सुवेदी र मशान उपासक कुटेश्वर महादेव थानमै रोकिएका थिए । मशान रहित साँझको बेलामा मस्तिलिदै फोटो खिच्दै हामी विस्तारै अघि बढिरह्यौं ।

माओवादीहरूको लामो समय आधार इलाका रहेको त्यो क्षेत्रमा हामी ओरालो लाग्दै गयौं र भेटेका बटुवाहरूबाट मोरियाको बाटो पहिचान गरी पहिल्याउदै अघि बढिनैरह्यौं । एक बटुवाले ‘दाहिनेतर्फको बाटो जानुहोला’ भनेकोले बाटो पछ्याउँदा कुकुरले नपाएको दुःख पायौं । मसँग रहेको टर्च पनि मशान उपाशकले भिरेको मेरो झोलामै रह्यो ।
के यस्तै असहज यात्रा गरी जीवन जीउने कष्ट व्यहोरी साहित्यकारहरूले आफ्नो रचनालाई जीवन्त बनाउने गर्छ, किन ? ….. अहिले हामी डाडामा छौं ।

कता जाने के गर्ने साथीहरू अर्कै बाटो लागे की ? आजको रात डाडाँमै बिताउनु पर्ने हो की ? अब के गर्ने भनेर आपसमा सल्लाह गरीरहेको समयमा हामीलाई खोज्दै आएका नवराज सर, मशान र जनकभाई भेट ढुक्क भइयो । मैले आफ्नो झोलाबाट टर्च लाइट झिके । अब हामीसँग उज्यालोको साधन तिनवटा भयो, अगाडी अगाडी पथपर्दशक नवराज सर, बिचमा रहेका जनक भाईको हातमा पनि टर्च थियो भने म चाही टर्च बालेर पुछारमा रहेको मशानभन्दा अगाडी थिए ।

टर्चको सहायताले भिमसेनपातीको लौरोको भरमा ठाडो ओरालोमा तिघ्रा र पिडुला कमाउँदै ओर्लिन थाल्यौं, तर जती ओर्लिए पनि बाटो सकिदैन । यहाँ मलाई तुलसी दिवशको संझना भएथ्यो । उहाँको कविताले भने झैं ओरालोमा ओर्लदा ओरालो अझ ओर्लिएपछि ओर्लिनेको अवस्था कस्तो होला ? हो ठिक त्यस्तै एक डेढ घण्टा ओरालो ओर्लदा पनि ओरालो सकिएन ।
अँध्यारोमा पाइला पाइला गर्दै ओर्लिएको हाँडी खोलाको ओरालो भोलीपल्ट घामको उज्यालोमा हेर्दा जिउ सिरिङ्ग ग¥यो । अहिले सोच्दछु, कसैको पनि गोडाले धर्म छोडेको भए टुक्रा टुक्रामा विखंडित होइन्थ्यो र यो कुरा असत्य होइन ।

साहित्य यो देखि बाहेक के हो र, साहित्यको खोजी गर्दै आग्राको विकट मोरियामा पुगियो र कार्तिक १८ गते ५ घण्टा इन्द्रायणी मा.वि.को प्राङ्गणमा पहिलो पटक संचालित साहित्यिक कार्यक्रममा बसियो । सुरक्षित स्थान पहिचानगरि माओवादीहरूले जनयुद्ध संचालन गर्दा उक्त क्षेत्रलाई लामो समयसम्म आधार इलाका बनाएर राखेका थिए ।

सो समयमा त्यस क्षेत्रमा लाल शासन संचालन थियो । लाल शासन संचालन गर्ने त्यस क्षेत्रका नेतृत्वको व्यवहारले गर्दा, जनताको हृदयमा उनीहरूले वास पाउन सकेका रहेनछन्, बन्दुकको भरमा घरमा वास बसे पनि । तराईमा माओवादीको प्रभाव स्वातै घटनुमा ‘अहम्’ र जनविरोधी व्यवहार नै हो— माओवादी मित्रहरूले कारणबारे स्वच्छ, स्वतन्त्र तवरले जाँच पडताल नगरेको हुँदा आज टुक्रा टुक्रामा विभाजन बन्न बाध्य भएका छन् ।
भनिन्छ कामरेड माओका ३—८ नियम पालन गर्ने राता मानिसहरू साँच्चै आगोको फिलिङ्गो हो र जनताको अज्ञानतालाई डढाएर भष्मपारि उनिहरूको हृदयमा सहजतापूर्वक स्थान बनाउन सक्छ— जनताको साथमा जनआन्दोलन र जनमुक्ति सेनाको संघर्षको नेतृत्व गरी शत्ता प्राप्त गर्न सक्छ ।

त्यसो हुन सकेन, जसरी माओवादीले एकताका ग्रामीण क्षेत्रमा आफ्नो गतीविधी बढाएका थिए, आज त्यसैगरी शहरतिर केन्द्रित छन्— दुर्गम पहाडी भेगका जनताको हृदयमा र गाउँघरमा छैनन्— मोरियामा मैले यस्तै पाए ।

बडो स्वभाविक पाराले क.सामनाको कठोर शासन झेलेको, अनाहकमा यातना सहेको बताएका थिए, सुत्केरी महिलाले समेत अमानवीय यातना क.सामनाबाट पाएको चर्चा गरेका थिए र दूध उम्लिएपछि पोखिन्छ भन्दै अलि पर पश्चिमका गाउँलेहरूले— जसमा पिडीत महिलाहरू पनि थिए, ले हिरण्यकश्यपलाई झैं विभत्स ढंगले सामनाको टुक्रा टुक्रा पारि ‘युद्ध शौन्दर्य शास्त्रको नियम’ अनुसार आफ्ना आक्रोश पोखेका रहेछन् ।

पहिलो पटक साहित्यिक कार्यक्रम भएको रहेछ मोरियामा त्यसैले आफूले सकेको सक्दो, जानेको जती बडो मेहनतसाथ कवितामा अटाएका थिए बडो उत्साहसाथ । जती मेहनतले कविता वनाएका थिए प्रस्तुतीकरण भने सारै फितलो पाइयो— आफ्नो पालोमा आउथे खरर पढेर जान्थे, मानौं कविता पाठ गर्नु भनेको लादिएको कुनै जिम्मेवारीबाट सरक्क पन्छिनु हो ।

साँच्चै भन्ने हो भने म त्यहाँ केही सुनाउनु भन्दा पनि साहित्य खोज्न गएको थिए, स्थानिय लोककथामा लुकेको इतिहास, स्थानिय गाथा जो सिलोकको रुपमा गाइने गरिन्छ त्यसमा पाइने पिडा, हेलीत अवस्थामा रहेको तर पुरानो हो भन्ने ठाउँमा पुगी अवशेषसँग मित्रतागासी लेख्ने मनसुवा थियो ।

तर हाँडी खोला ओर्लिने ओरालोले शरीर यती गलायो की गाउँलेहरूसँग भला कुसारी गर्ने, कैलाश र बैकुण्ठमा पुगी गुफा अवलोकन गर्ने, आग्रामा निकै पहिलेदेखि बन्द गरिएको खानी हेर्ने र हाँडी दह भन्ने ठाउँमा पुग्न साथै पूर्वतर्फ डाडाँमा रहेको हत्पते राजाको दरवार भनेको ठाउँमा पुग्ने हिम्मत नै भएन । पेन किलर मान्सपेसीमा सबैले दल्नु त सामान्य हो प्रायः हामीसँग गएका सबैले सिटामोल चै खानै प¥यो ।
पालुङ्गका राजकुमार भाइले जानकारी गराए अनुसार उनी कामविशेषले आग्रामा एक रात बसी पालुङ्ग पुग्दा ३ दिनसम्म हनहनी ज्वरोले सुतेका थिए रे धन्य हामी मध्ये कसैले पनि त्यो नियती भोग्नु परेन ।

हत्तेरीका, अभागी शीतल, फेरी खोलाको त्यही अजङ्गको पहरोमा थकित–गलित गोडालाई भीमसेनपातिको लौरोको भरमा घिसार्दै उक्लिने भइस् । मानीसको चरा झैं पखेटा भइदिएको भए पनि हुन्थ्यो, पखेटा फडफडाएर पहराको टुप्पोमा पुगिन्थ्यो । आनन्द पुर्वक नाच्दै रमाउदै म त मनपरेको डाँडा कान्लामा जान्थे हुँला ।

पखेटा नभएको हुँदा कार्यक्रममा बटुलेको आनन्द विहानै उक्लिनु पर्ने पहराको पिडामय यात्रा संझदा विलाएर गयो । तै हाम्रो पीडा महसुस गरेका इन्द्रायणी मा.वी.मोरियाका प्र.अ.नारायण कार्किले सजिलो बाटोबाट पालुङ्ग पु¥याइदिनको लागि शिक्षक कल्याण तामाङलाई हाम्रो साथमा लगाइदिनु भयो । सकेरै चिया विस्कुटको आतिथ्य स्वीकार गरी मेरो सहयात्री भीमसेनपातीको लौरोलाई सुमसुम्याउँदै ७ बजे घरको लागि पाइला चाले ।
अँ एउटा कुरा भन्न बिर्से काठमाडौं जाने मसान र जनकराज भाई महादेववेसी तर्फ हिडे । र हामी, सूर्यको आभा देखिन थालेपछि कल्याण सरको अगुवाईमा इन्द्रायणी मा.वी.लाई दाहिने पारेर उकालो लाग्दै गयौं । हेरे, बाटो भरी चिप्लेकिरा शिशुको लिड जस्तै, त्यसलाई नकुल्ची पाइला बढाउदै गयौं ।

ज्यानमारा बाटो नभएको हुँदा सुस्तै गतिमा हिडे पनि एक आपसमा विचार आदान प्रदान गर्दै उक्लि रहेउ । पहरा, बन पाखामा फुलेको फूल, सूर्यको स्पर्शले नाचीरहेको फूल । आहाँ, कस्तो रमाइलो लाग्दो रहेछ ।
हिड्नु भनेको गतिसिल हुनु हो । गति नहुनु भनेको मृत्यु हो, गति हुनु भनेको जीवनमा प्रतिक्षण कष्ट अनुभव गर्न तयार भएर रहनु हो । आफूलाई आफैले अध्ययन गर्नु भनेको सबभन्दा राम्रो हो । विरहको बोध चित्तको मूल बोध हो भने पिडाको बोध शरिरको मूल बोध हो । यो अनादि दुःख जीवनको अनन्त निधि हो । उसैबाट नै थुप्रै किसिमका प्रेरणाहरू मानिसले प्राप्त गर्दछ ।

केही पाउनको लागि, रमाइलो गर्नको लागि, केही खोज्नको लागि, केही दिनको लागि बरोबर यात्रा गर्दछ मानिस र सुख दुःखको अनुभूति बटुल्दछ । कहिले आफ्नो प्रतिभा प्रस्फुटन गर्दछ, कहिले बडप्पन देखाउँछ । साहित्यिक प्रतिभा जनसमुदाय बीच लुटाउनु (देखाउनु) को आफ्नै आनन्द छ । ऐसेलुखर्क ! हो ऐसेलुखर्कलाई छलेर उक्लदा पनि आनन्द प्राप्त भयो, किनभने हाँडीखोलाको पहरामा ओर्लिदाको पीडा चीत्तबाट हटिसकेको थियो । ‘म’ भनी स्वप्रतिष्ठा बढाउनु दुःखको रुप हो ।
हामी हिडेको बाटोमा गैरीगाउँ लमतन्न परेर आफूभित्र असंख्य बेदना संगालेर पल्टिएको भेटियो । गैरिगाउँको दुःख भकुण्डे भीर पनि रहेछ, ओहो भीरको नाम सुन्ने वितिकै जिउँ सिरिङ्ग गरेर आउछ ।

भकुण्डे भीरको बाटो ठाडो उकालो या ओरालो नभएर देव्रे तिरको पहरा कपेर (फोडेर) तरपाइलो गोरेटो बाटो बनाएको हुँदा हिड्न डर लागे पनि नौ नाडी चाही गलेन । हरिया रुख विरुवा, ठाउँ ठाउँमा पानीको मुहानले यात्रा निरस बन्न दिएन । मौसम फलेको, सुन्तलाको दाना झुण्डेको, लप्सीको दाना नियाल्दै, भीर पाखामा फर्सि झुण्डेको हेर्दै डाँडाबासमा विश्राम गर्ने कुरो गर्दै गलित थकित र कुस्ति खेल्दै गरेको आन्द्राको वास्ता नगरि यात्रा जारी राख्यौं । जीवनको आनन्द लिनुछ भने पहाडी बाटोमा पैदल यात्रा गर्नुपर्दो रहेछ ।
पाइला पछाडी पर्छ, फेरि अगाडी बढ्छ । बुझ्दै जादा जुन पाइला पछाडी पर्छ त्यसमा भएको गतीले नै बाटो तय गरेको थाहा हुन्छ । बाटो सकिन्छ र अत्यन्त उचित समयमा त्यो सकिएको हुन्छ । जसले गतीको नियम पालन गर्दैन उसको लागि समय नै बच्दैन । उसको लागि हुनु नहुनु एकै हो ।

त्यस्तैलाई त हामी जड भन्दछौं । हिडदैं जादा भरखरै बन्दै गरेको मोटर बाटो भेटेका थियौं । अगाडी बढ्दै जादा पहाडी रमणीय चटक्क मिलेको डाँडाबास बजार भेटियो । भोक साम्य पार्न एउटा पसलमा भात पकाउन भनियो, सेल र चियाले भोकलाई पर धकेली डाँडाबासको पर्यटक स्थल बनाउन मिल्ने वृक्षारोपण गरेको क्षेत्र अवलोकन गर्न गयौं । सल्लाका रुखहरू राम्ररी हुर्किसकेका थिए । कल्याण सरलाई आग्रा गा.बि.स.को डाँडाबासको डाँडाबाट देखिने सौन्दर्यको बारेमा थाहा थियो र त हामीलाई अबलोकन गराउन लग्नुभयो, अनुपम सौन्दर्य अवलोकन गर्दा थकानलाई विर्सन पुग्यौं ।
डाँडाबासबाट आमन्त्रक रमेशमोहन अधिकारी छुटिनु भयो, वहाँ आफ्नो कार्यक्षेत्रतर्फ लाग्नुभयो । आग्रा मोरियाको पीडा मनमा लेशमात्र पनि बचेको छैन । अप्ठ्यारो भिर पहरामा हिडीयो, मृत्यु नआइपुगेको हुँदा कुनै दुर्घटना हुन पाएन ।

मानौ साहित्य साधनलाई प्रकृतिले पनि सघाउँछ । साहित्य साधक जोखिम मोल्न डराउँदैनन्, अनुभूति पढेर बटुलेको भन्दा परेर बटुलेको जीवन्त हुन्छ, त्यसैले दुष्कर यात्रा, असहज परिस्थितीमा पनि पश्चिम नेपालमा खगेन्द्र संग्रौला पुग्नुभएकै थियो काललाई जीतेर अकाल पुरुष बनेर ।

सुनेको थिए अनुभूतीको लागि आदरणीय मनु ब्राजाकी भौतारिनु हुन्थ्यो रे ! घुम्न–डुल्न, पैदल भ्रमण गर्न औधी रमाउने र सहयात्रीलाई हसाउदै यात्रा गर्ने नियात्राकार दाजु निर्मोही व्यास विनाको हाम्रो यो यात्रा थियो ।

धन्य मान्नुपर्दछ मोरियाका युवतीहरूलाई जो साहित्यबारे केही सिक्नको लागि, आफ्ना रचनाको गुण दोष केलाउन लगाउनका लागि मोरियाको हाम्रो बास स्थल बिष्णु सरको घरमा ११ बजे रातीसम्म बसी रचना सुन्ने सुनाउने गर्दै रहे । कृतज्ञ छु मोरियाका कोपीलासँग स्वच्छ, पवित्र, उन्मुक्त सहचर्यगरी डा.घनश्याम र मलाई पनि ३० वर्ष अघिको समय स्मरण गर्न बाध्य बनाउने मसान उपासक, अनुप तिमल्सिना र जनकराज प्रति ।

तपाइँको प्रतिक्रिया ।