सेमेस्टर प्रणालीको विरोधमा विद्यार्थीहरू

सेमेस्टर प्रणालीको विरोधमा विद्यार्थीहरू

सरकारले यसै वर्षदेखि लागू हुने गरी उपत्यकाभित्रका सबै आंगिक क्याम्पसहरूमा सेमेस्टर प्रणाली लागु गर्ने भन्दै फारम भर्न निर्देशन दिएको भएपनि विद्यार्थी संगठनहरूले त्यसको विरुद्धमा उठेर उपत्याकाभित्रका आंगिक क्याम्पसबाट भर्ना फारम खोसेका छन् ।

एक वर्षअघि नै विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा समेष्टर प्रणाली लागू भएको भएपनि यो वर्षबाट मात्र आंगिक क्यापम्समा अनिवार्य सेमेष्टर प्रणाली लागू गर्न लागेको त्रिभुवन विश्वविद्यालयको पहिलो गाँसमै ढुँगा परेको छ । लागु भइसकेका क्याम्पस एवं संकायहरूमा समेत सेमेष्टर प्रणालीले प्रभावकारी भूमिका खेल्न नसकेको अवस्थामा सबै क्याम्पसमा सोही प्रणाली अनुरुप लगाउने भनेपछि विद्यार्थी संगठनहरू आक्रोशित भएका थिए ।

एक दर्जनभन्दा बढी विद्यार्थी संगठनहरूले तत्काल सेमेष्टर प्रणाली लागु गर्न आवश्यक पूर्वाधार नभएको भन्दै त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराएको भएपनि त्रिविले संगठनहरूले अघि सारेको प्रस्तावको बेवास्ता गर्दै आइरहेको थियो ।

स्नातकोत्तर तह पढाइ हुने सबै आंगिक क्याम्पसहरूमा सेमेष्टर प्रणाली लागु गर्न खोजेको त्रिविले सम्बन्ध प्राप्त कलेजहरूले भने चाहेबमोजिममात्र सेमेष्टर प्रणाली लागु गर्न सक्ने जनाउँदै आएको छ । सेमेष्टर प्रणाली अनुसार ६÷६ महिनामा परीक्षा हुनुपर्छ तर परीक्षा भएको एक वर्षसम्म पनि रिजल्ट प्रकाशन नगर्ने त्रिविले सेमेष्टर प्रणालीमा जाँदैमा तत्कालै नतिजा प्रकाशन गर्न सक्छ भन्ने नरहेको भन्दै आइरहेका विद्यार्थी संगठनहरूका प्रतिनिधीहरूले जानकारी गराए । सेमेष्टर प्रणालीमा जाँदा अहिले स्नातकोत्तर गर्न इच्छुक सबै विद्यार्थीहरूलाई समेट्न नसक्ने उनीहरूको तर्क रहेको छ ।

तपाइँको प्रतिक्रिया ।