जीवनमृत्यु : डा. टीकाराम पोखरेल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ,असार २०।
पृथ्वीलोकमा मान्छेहरु स्वच्छिक मृत्युवरण गर्ने लाइनमा तँछाडमछाड गरिरहेका थिए । ‘तँ पहिले मर्ने कि म पहिले’ भन्ने होडबाजीले झडपको स्थिति सिर्जना भएको थियो ।
स्वच्छिक मृत्युको चाप बढेकाले यमराजको डायरीमा मृतकहरुको नामलिष्ट चढाउन समेत चित्रगुप्तलाई हम्मेहम्मे परेको थियो ।
मृतकको नाम व्यवस्थापनमा समस्या भएपछि यमराजले स्वच्छिक मृत्यु रोक्न यमदूतलाई पृथ्वीलोकमा पठाएका थिए ।
यमदूतले स्वच्छिक मृत्युको लाइनमा बसेकाहरुलाई यमराजको सन्देश सुनाउँदै भने– ‘यमराजको हुकुम छ, अति आवश्यक परेकाले मात्र स्वच्छिक मृत्युवरण गर्नू, अरुले नियमित प्रक्रियाबाट देहत्याग गरेर यमलोक आउनू ।’
स्वच्छिक मृत्युवरण गर्न लाम लागेकाहरुले आफ्नो मृत्युको अत्यावश्यकताको औचित्य पुष्टि गर्न थाले ः
एउटाले भन्यो– ‘म परीक्षामा अनुत्तीर्ण भएँ । मैले आत्महत्या गर्नैपर्छ ।’
अर्कोले भन्यो– ‘मेरो व्यवसाय घटामा गयो, ऋणले चुर्लुम्म डुबेँ, अब बाँच्नुको अर्थ नै छैन ।’
तेस्रोले थप्यो– ‘मैले जीवनमा केही प्रगति गर्न सकिनँ, मसँगैकाले कति धेरै प्रगति गरे । त्यसैले म कुनै पनि हालतमा बाँच्न चाहन्नँ ।’
चौथोले भन्यो– ‘मलाई साथीभाइ, परिवार, समाज सबैले हेला गरे । अब म किन बाँच्नु ?’
पाँचौँले औचित्य पुष्टि गर्न खोज्यो– ‘मेरा प्रियजन सबै मरेर गए, अब मलाई एक्लै बाँच्नु छैन ।’
लाम लागेकाहरु क्रमशः आफूले स्वच्छिक मृत्युवरण गर्नुपर्नाको औचित्य पुष्टि गर्न खोज्दै थिए । यमदूतसँगै आएका चित्रगुप्त स्वच्छिक मृत्युवरण गर्नैपर्ने र पछि नियमित प्रक्रियाबाट मृत्यु भए नि फरक नपर्नेहरुको विवरण छुट्ट्याएर बहिखातामा टिप्दै थिए ।
स्वच्छिक मृत्युवरणको लामबाहिर निस्केर एक युवकले भन्यो– ‘मसँगै आत्महत्या गर्न लाम लागेकाहरुको कुरा सुनेर म आत्महत्या नगर्ने निष्कर्षमा पुगेँ । यस्तो निरर्थक कुरामा अमूल्य जीवन खेर फाल्नु हुन्न । म बाँच्न चाहन्छु, किन कि यसरी अर्थहीन कारणबाट आत्महत्या गर्न लागेका यी सबैलाई मैले बचाउनु छ ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
