नासुर : कात्यायन (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ,असार २०।
“न आत्तिनु ल ?” केही सुई लगाउँदै वहाँले भन्नुभयो ।
फेरि भन्नुभयो, “कम्मरमुनि अचेत हुन्छ, दुख्दैन !”
“खुट्टा उचाली हेर्नू त !” उहाँले नै भन्नुभयो ।
उचाल्न खोजें, गोडाहरू । सकिनँ, मैले । त्यसै भनें, “सकिनँ !”
“ल अब ठीक भयो । त्यो मनिटरमा हेर्दै गर्नु ल ?”
उहाँले भनेजस्तै हेर्दै गएं । उहाँ कुरा गर्दै, गोलीगाँठो वरिपरि चिर्दै हुनुहुन्थ्यो । भन्नुभयो, “दुख दिनेलाई राख्नु हुन्न, फाल्न पर्छ !”
एक्कासि फेरि सोध्नु भयो, “किन चुपचाप तपाईं ? आत्तिन पर्दैन, सब ठीक हुन्छ अब !”
म नि बोलोस् जस्तै गरेर बेलाबेला मतिर हेर्दै हुनुहुन्थ्यो, सोधें, “डाक्टर, अरु के केले दुख दिन सक्छन् ? र, काटेर नै फाल्न पर्छ ?”
उहाँले सहज रूपले भन्नुभयो, “क्यान्सर, पत्थरी, एपेन्डिक्स, अल्सर … यस्तै गाँठागुठीहरू नि !”
मैले सहज हुँदै भनें, “ए ! दुख दिने नासुरहरू ?”
सहमतीमा डाक्टरले शिर हल्लाउनु भयो ।
नर्सले घाउमा पट्टी लगाउँदै उहाँलाई जिस्काइन्, “हरेकदिनका हरेक समाचारहरूका मुख्यरूपमा उल्लेख हुने, देशका नासुरहरूलाई के गर्ने नि डाक्टर ?”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
