नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै
कपन अनलाइन
काठमाडौं माघ १९ नेपाली कांग्रेसले सोमबार ७७ जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेसका १३ भातृ संगठनको आयोजनामा देशभर प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन हुन लागेको हो ।संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसत्तावाद उन्मुख कदम चालेको बताउँदै कांग्रेसले विरोधका कार्यक्रम गर्दै आएको छ ।यस्तै भ्रष्टाचार, कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भएको कमजोर प्रयासको विरोधमा पनि प्रदर्शन गर्न लागिएको कांग्रेसले जनाएको छ ।
सरकारले गत पुस ५ गते संसद विघटन गरेपछि कांग्रेसले त्यसको विरोधमा प्रदर्शन गर्दै आएको छ । जसअन्तर्गत आज महिला संघ, तरुण दल, नेपाल विद्यार्थी संघलगायतका १३ वटा भातृ संगठनले एकसाथ प्रदर्शन गर्न लागेका हुन् । आज हुने प्रदर्शनमा व्यापक जनसहभागिताका लागि १३ वटै भातृ संगठनले आइतबार एक संयुक्त विज्ञप्ति निकाल्दै अपिल गरेका छन् । सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै कांग्रेस विरोधमा उत्रिएको हो ।