गोकर्णेश्वर नगरपालिकामा स्थगित भएको दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान जारी

गोकर्णेश्वर नगरपालिकामा  स्थगित भएको दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान जारी

कपन अनलाइन

 काठमाडौं, असार ३ ।कोरोना भाइरसको त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण गोकर्णेश्वर नगरपालिकामा  स्थगन भएको दादुरा–रुबेला रोगविरुद्धको खोप अभियानले निरन्तरता पाएको छ ।गत चैत १० गतेदेखि शुरु भएको अभियान सरकारले लकडाउन घोषणा गरेपछि स्थगन भएको थियो । गोकर्णेश्वर नगरपालिकाका बिभिन्न वडामा  लकडाउनकै बीच पनि सुरक्षा प्रवन्धका  साथ  बालबालिकालाई दादुरा–रुबेला रोगविरुद्धको खोप लगाइएको थियो ।

कोभिड १९ को महामारीको अवस्थामा लकडाउनका कारण गोकर्णेश्वर नगरपालिका वडा नं ८ र ९ मा चैत्र १३ गते स्थगित भएकोराष्ट्रिय दादुरा रुबेला खोप अभियान (९ महिना देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जोरपाटी स्वास्थ्य चौकीले असार २ र ३ गते गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित   जोरपाटी स्वास्थ्य चौकी आरुबारीमा सम्पन्न गरेको छ भने   आगामी असार ६ गते शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित छहारी युवा क्लबमा लगाइने पनि गोकर्णेश्वर  स्वास्थ्य शाखाले  जनाएको छ । मंगलबार करिब ५० जना बालबालिकाले गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित   जोरपाटी स्वास्थ्य चौकी आरुबारीमा  दादुरा–रुबेला रोगविरुद्ध खोप लगाएका थिए ।राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत २०७६ चैत १० देखि २९ गतेसम्म दादुरा–रुबेला रोगविरुद्ध खोप अभियान सञ्चालन गर्ने समयतालिका लकडाउनका कारण प्रभावित भएको थियो ।अन्य खोप सेवा भने वैशाख दोस्रो सातादेखि नै शुरु भएका छन् ।

बाल मृत्युको कारणमध्ये दादुरासमेत एक भएकाले यसबाट बालबालिकालाई बचाउन सरकारले उच्च प्राथमिकताका साथ खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राथमिकता कार्यक्रमभित्र खोप कार्यक्रम रहेको छ ।सन् २०२३ भित्रमा नेपालबाट दादुरा–रुबेला निवारणको राष्ट्रिय प्रतिबद्धता रहेकाले अभियानको रूपमा खोप कार्यक्रम शुरु गरिएको हो ।नगर तथा वडाले  दादुरा रुबेला खोपबाट कोहि पनि बंचित नहुन भन्नको लागि घरदैलो कार्यक्रम तथा माइकिङ गरेर प्रचारप्रसार गरेको थियो।

दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाइरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुबेला भाइरस)कै कारणबाट हुने दादुराजस्तै देखिने संक्रामक रोग हो । यी रोगहरू सामान्यतया ५ वर्ष मुनिका बालवालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्नेछ । बालवालिकामा दादुराको संक्रमण भएमा गम्भीर प्रकारका जटिलताहरू हुनका साथै मृत्युसमेत हुन सक्छ ।रुबेला रोगको असरहरु दादुरा भन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्म हुने तथा गम्भीर प्रकारको जन्मजात हुने विकलांगहरू देखा पर्न सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । दादुरा रुबेला रोग लागेपछि यसको खास उपचार छैन । तर, यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्ग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षणअनुसार र जटिलताको उपचार गर्नुपर्दछ ।

रोगबाट बच्न नियमित खोपमार्फत बालवालिकालाई ९ र १५ महिनाको उमेरमा दादुरा–रुबेला खोपको दुई मात्रा लगाउनु पर्दछ । यदि सबै बालवालिका ९ र १५ महिना गरी दादुरा–रुबेलाको गुणस्तरीय खोपको दुई मात्रा दिएमा यो रोग पूर्णरुपमा नियन्त्रण र निवारण गर्न सकिन्छ । दादुरा–रुबेलाको भाइरस मानिसमा मात्र सर्दछ । यो भाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रही वृद्धि हुने र स्वाश नली एवं अरु भित्री अंगहरुमा संक्रमण गर्दछ । दादुरा–रुबेला दुवै रोग संक्रामक (रोग लागेको) व्यक्तिले खोक्दा, हाँछ्यु गर्दा निस्कने छिटा बाट एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ ।

तपाइँको प्रतिक्रिया ।