सहिद धर्मभक्त माथेमाको पूर्ण कदको शालिक प्रतिस्थापन
कपन अनलाइन
काठमाडौं, माघ १३ । सहिद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थान सिफल उकालोमा उनको पूर्ण कदको शालिक प्रतिस्थापन गरिएको छ ।
सहिद सप्ताहको दोश्रो कार्यक्रम माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा महानगरका प्रमुख एवं सहिद सप्ताह मूल समारोह समितिका संयोजक बिद्यासुन्दर शाक्यले शालिक अनावरण गरेका हुन् ।शालिक कलाकार महेश तुलाधरले तयार पारेका हुन् ।
शालिक अनावरणपछि बोल्दै मेयर शाक्यले भने सहिद त धरै छन् तर नाम भन्ने बेला चार सहिदको नाम आउँछ किनभने उहाँहरुले व्यक्तिगत उन्नतिभन्दा माथि उठेर सामुहिक समृद्धिका लागि ज्यानको बाजी लगाए । त्यो बाटो हामीले अनुसरण गर्नुपर्छ । नागरिकले अधिकारका प्राप्तिका क्षेत्रमा हात लागेका उपलब्धीलाई संस्थागत र जनताको हितमा प्रयोग गर्नुपर्छ ।
उक्त कार्यक्रममा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले समृद्धि र बिकासले मात्र सहिदको सपना पूरा हुने धारणा राखिन । अहिले हामीले प्राप्त गरेको स्वतन्त्रता सहिदले दिलाएको हो, उनले भनिन ।
सो कार्यक्रममा महानगरको वडा नं. ७ का वडाध्यक्ष शुद्धकुमार डंगालले सहिदको सपना पूरा गर्न भौतिक समृद्धिसँगै चेतनामा पनि समृद्धि हुनुपर्ने टिप्पणी गरे ।
उक्त कार्यक्रम बोल्दै शिक्षाबिद् एवं त्रिभुवन बिश्वबिद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले, महानगरले सहिदहरुको पूर्ण कदको शालिक निर्माण गर्न लगाएपछि सहिदको बलिदानीका बारेमा नयाँ पुस्तालाई स्मरण गराउन सजिलो भएको बिचार राखे । सहिदको बलिदानी सम्झना गर्ने गराउने दिशामा महानगरले गरेको काम प्रशंशनीय छ, शालिक निर्माण गर्न लगाउनु त्यसको उदाहरण हो धारणा राख्ने क्रममा माथेमा गुठीका अध्यक्ष नरेशरामभक्त माथेले खुशी व्यक्त गरे ।
पहिलो पटक २०५३ माघ १३ गते नेपाली काँग्रेसका सर्वोच्च नेता गणेशमान सिंहले अहिलेको स्थानभन्दा करीब ५ मिटर पूर्वमा अनावरण गर्नु भएको शालिक अर्धकदको थियो । सडक विस्तारका क्रममा शालिक भत्काउनु पर्ने भएपछि साबिकभन्दा पश्चिमतर्फ सारिएको थियो । यसरी सार्ने क्रममा पुरानो कालो रङ्गको अर्ध कदको प्रस्तर शालिकको सट्टा नयाँ सेतो रङ्गको ढलोटको सालिक बनाइएको थियो । गएको बर्ष शालिकलाई भण्डारेश्वर धार्मिक सेवा समितिले सुनौलो रङ्ग लगाएको थियो । यस बर्ष महानगरले करीब १० लाख रुपैयाँ लागतमा पूर्णकदको कालो रङ्गको शालिक निर्माण गराएको हो ।
माथेमा काजी परिवारका थिए । उनले आफ्नो सम्पन्नताभन्दा नागरिकको स्वतन्त्रता र सम्पन्नतालाई महत्व दिए । त्यसैले अहिले प्राप्तभएको राजनीतिक उपलब्धीमा धर्मभक्तको योगदान शव्दमा कम हुनेमा बक्ताहरुको जोड थियो ।
वि. सं. १९९७ साल माघ १३ गते, काठमाडौंको सिफलमा रहेके बकाइनोको रुखमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो । वि. सं. १९६६ साल आश्विन १ गते काठमाडौंको ओमबहालमा जन्मनु भएका माथेमालाई तत्कालीन शाशकहरुको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोप लगाई मृत्दयुण्ड दिएका थिए ।
तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराजशास्त्री, धर्मभक्तमाथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो ।
धर्मभक्त माथेमा तत्कालीन राजा त्रिभुवनका व्यायाम शिक्षक थिए । उनले प्रजातन्त्रका पक्षमा काम गर्न राजालाई प्रजा परिषद्को सदस्यसमेत बनाएका थिए ।
फोटो सौजन्य:काठमाडौं अनलाइन