कविता के हो ?कविता के होइन ?
कपन अनलाइन
काठमाडौं ,पौष २६ /मिशन अधिकारी
हातका मैला सुनका थैला के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले ।
(महाकवि लक्ष्मीप्रसाद देवकोटा)
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई चार सपुत मरेर नगए
(कवि भूपी शेरचन)
कविता सरल हुनुपर्छ कि क्लिष्ट ? सिधा हुनुपर्छ कि बक्र ? सपाट हुनुपर्छ कि बिम्वात्मक ?
सबैभन्दा सरल भनेकै देवकोटाका माथिका हरफ जस्तै होलान् सायद, भूपी शेरचनका हरफ जस्तै होलान् सायद । सरल भनिएका यी हरफ सपाट छन् ?
मान्छे कवितामा एउटा कविको कविता मान्छे भित्र इश्वर, मान्छे भित्र राक्षस देखाउन पुग्छ । अंग–प्रत्यंगको बक्तव्यबाजी हैन कविता, त्यसैले मान्छेको
हृदयभित्र पस्न पुग्छ कविता । त्यसैले जति सरल भएपनि बिम्बात्मक हुन्छ कविता । जति सोझो देखिन्छ कवि त्यति बाङ्गो यात्रा हिड्छ कवि ।
कविता कसका लागि लेख्ने ? यो वाहियात प्रश्न हो । कविता निश्चित पाठक तोकेर लेखिन्नँ । कविता आफैं पाठक बनाउँछ । कविताका बिषय आफ्नै पाठक हुन्छन् ।
महाकवि पाब्लो नेरुदाले मिसन अधिकारीलाई पढाउछु भनेर कविता लेखेका पक्कै थिएनन्, तर म उनका कविता महाकवि लक्ष्मीप्रसाद देवकोटाका भन्दा बढी रुचिपूर्वक पढ्छु । कृष्ण सेन मेरा आदर्श कवि हुन् म कृष्ण सेन भन्दा बढी रुचिपूर्वक अवतार सिंह पास पढ्छु । त्यसैले कविताको कुनै भूगोल हुँदैन । कविता कविता हो ।
कविता देश बोकेर बिदेश पुग्छ । कविता बिदेश बोकेर देश आइपुग्छ । कविताको कुनै देश हुन्नँ । सिंगो ब्रम्हाण्ड कविको देश हो । कवितामा कविको हृदय बोल्छ, कवितामा कवि दिमागले सोच्छ । त्यसैले पारिजातले भनेकी छन् । जब कुनै दृष्य वा घटनाले मेरो शान्ति खलबल्याउँछ, मेरो कलम चल्छ ।
कविताको यौटै लक्ष्य हुनुपर्छ भन्ने म ठान्छु –मानव कल्याण । त्यसैले कवितासित धेरै ख्यालख्याल गर्ने छुट कविता लेख्नेसित हुन्नँ । कविता केवल मनका भाव थुपार्ने बिषय हैन ।
कविता यौटा हिलोमा फुलिरहेको कमलको फूल हुनुपर्छ– बस् !