(कविता) प्रश्न
– शान्त शिसिर
सधै अघि बढ्ने भन्दथिस् आखिर पुग्ने कहाँ हो ?
सबै मेरै बनोस् भन्दथिस् ठाउँ राख्ने कहाँ हो?
केहि गर्नुछ भनि रातदिन पसिना बगाउदथिस् त
नहुदा मजाले हाँस्थिस् पाउदा निरस किन हो ?
चुचुरो भेट्छु भन्थिस् सफलताको भेट्दा उदास किन हो ?
नाम दाम इजत भए जीवन स्वर्ग बन्छ भन्दथिस त्
पाएपछि सबै कंगाल झैँ अझ आशा किन हो ?
सँधै दाउमा मात्रै लाग्दछ जीवन यहाँ पासा किन हो ?
बैरीलाई मित्र बनाउछु मित्रलाई सहयात्री भन्दथिस त्
को मित्र को बैरी चिन्न नसक्ने दोसाँध किन हो ?
बगाई आशु बह पोख्न नसक्ने मनमा वाधा किन हो ?
बूझ बेलैमा तेरो केवल आफ्नो भन्ने त्यहि चिता मात्र हो
एकभारी दाउरा एकमाना चामलका लागि यो लडाई किन हो ?
के बौलाये मान्छे सबै एउटा रुँदा आर्काको बडाइ किन हो ?
पुग्नुछ माथि भनि दगुरिस धेरै तल हेर्दा किन हतास भो?
आधि बन्दछ पवन पनि जीवन पलभरको बतास भो ।
कपन १ काठमाडौँ