जीवनराम श्रेष्ठ :खेलकुद र राजनीतिमा सकृय व्यक्तित्व (सनिवार विशेष )

जीवनराम श्रेष्ठ :खेलकुद र राजनीतिमा सकृय व्यक्तित्व (सनिवार विशेष )

कपन अनलाइन

काठमाडौ,पौष २२ ।

जीवनराम श्रेष्ठ बिगत तीन दशकदेखि निन्तर राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँको राजनीतिक यात्रा १४ वर्षको कलिलो उमरमै सुरु भएको हो । वि.स.२०३६ सालमा सिङ्गो देशलाई जगाउदै सुरु भएको विद्यार्थी आन्दोलनले तत्कालिन पञ्चायती शासनको मुटु नै हल्लाएको थियो । जसको उभारलाई थेग्न नसकेपछि तत्कालिन सरकार जनमतसंग्रह गराउन बाध्य भयो । त्यही विद्यार्थी आन्दोलनबाट प्रभावित श्रेष्ठ त्यसको केही समयपछि नै तत्कालिन भूमिगत नेकपा (माले) मा आवद्ध हुँदै काठमाडौँका भित्री बस्तीहरुमा आन्दोलनको वातावरण निर्माणमा सक्रिय हुनु भयो । कलिलो उमेरमै उहाँले पार्टीको संगठन निर्माण, विस्तार, नेतृत्वको सुरक्षा जस्ता जिम्मेवारीहरु निर्भिकतापुर्वक पुरा गर्नुभयो ।

श्रेष्ठको बाल्यकाल

जीवनरामको जन्म बुवा कृष्णराम र आमा वसन्तमाया श्रेष्ठको कोखबाट वि.स.२०२२ साल पुष १५ गते काठमाडौँको स्वयम्भुमा स्थित धिमेलोहं टोलमा भएको हो । उहाँ श्रीमति प्रतिभा जोशी र दुई छोराहरु सफलराम तथा साहसरामका साथ डल्लु आवासमा बस्दै आउनुभएको छ । सानैदेखि जुझारु एवं सरल स्वभावका उहाँको खेलकुद र राजनीतिप्रति समान लगाव थियो । प्रगतिशिल विचारलाई अगाडि बढाउन राजनीति आवश्यक भएको ठान्ने श्रेष्ठ खेलकुद पनि व्यक्तिगत स्वास्थ्य र राष्ट्रको गरिमाका लागि उत्तिकै जरुरी छ भन्ने कुरामा दृढ हुनुहुन्छ । व्यवस्थापन विषयमा स्नातक गर्नुभएका श्रेष्ठ आफ्नो व्यक्तिगत इच्छा भन्दा सामाजिक उत्तरदायित्व स्वरुप राजनीति र खेलकुद संधै आफ्नो प्राथकितामा रहेको बताउनुहुन्छ । नेपालमा श्रेष्ठ लगायतका अगुवाहरुको निरन्तरको संघर्षपछि प्रमुख राजनीतिक दलहरुले खेलकुदलाई आफ्नो एजेण्डा बनाएको कुरा सर्वस्वीकार्य जस्तै भएको छ ।

श्रेष्ठको राजनीतिक जीवन

जीनराम श्रेष्ठको राजनीतिक जीवनको सुरुवात २०३६ साल तिर सुरु भएको हो । उहाँले तत्कालिन भूमिगत नेकपा (माले) मा आवद्ध हुँदै पञ्चायत विरोधी आन्दोलनमा योगदान गर्नुभयो । तत्कालिन समयमा सेल, शाखा, वडा, नगर हुँदै जिल्ला कमिटीमा रहेर उहाँले पार्टीले दिएका सम्पुर्ण जिम्मेवारीहरु सफलतापुर्वक पुरा गर्नुभयो । वि.स. २०४३ सालमा काठमाडौँ वडा नम्बर १५ को सक्रिय दलको सचिवका रुपमा जनआन्दोलन सफल बनाउन र पार्टी विस्तारमा महत्वपुर्ण भूमिका खेल्नुभयो । २०४६ सालमा प्रजातन्त्र पुर्नस्थापनाका लागि भएको आन्दोलनमा उहाँ निकै सक्रिय भूमिकामा रहनुभयो । २०४७ सालमा पार्टीको युवा संगठन गठनका रुपमा वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठन भएको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (प्ररायु संघ) को संस्थापक मध्यका एक हुनुहुन्छ श्रेष्ठ । २०४८ सालमा भएको संघको प्रथम सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भई रचनात्मक विभाग प्रमुख छानिनु भयो । त्यसपछि संघको विभिन्न जिम्मेवारी पुरा गर्दै उहाँ उपाध्यक्ष भएर समेत काम गर्नुभयो ।

यही बीचमा उहाँ २०४९ सालमा भएको स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको १५ नम्बर वडाको वडाध्यक्ष भई नमुना काम गर्नभयो । उहाँको कार्यकालमा सडक, ढल, पार्क, आधुनिक कार्यालय भवन निर्माण जस्ता उदारहणीय काम सम्पन्न भए । यसले उहाँको राजनीतिक उचाई र लोकप्रियतालाई थप उचाई प्रदान ग¥यो । पञ्चायती शासन कालभर पछाडि परेको यो वडाले विकासको सही मार्ग लिएको श्रेष्ठकै कार्यकालमा हो । त्यतिबेला जीवनराम श्रेष्ठले १३ नम्बर वडाका तत्कालिन जनप्रिय अध्यक्ष जीवनराज मानान्धर अस्वस्थ भएपछि त्यस वडाको अध्यक्षका रुपमा समेत भूमिका निर्वाह गर्नुभयो ।

दोश्रो जनआन्दोलन परिचालनका लागि श्रेष्ठलाई पार्टीले काठमाडौँका भित्रि वस्तीहरुमा खटाएको थियो । तत्कालिन राजा ज्ञानेन्द्रको निरङकुश शासनका विरुद्ध जनतालाई सचेत बनाउँदै सडकमा ओराल्ने कार्य साँच्चिकै चुनौतिपुर्ण नै थियो । तर उहाँले त्यसलाई कुशलतापुर्वक सम्पन्न गर्नुभयो । २०६५ सालमा बुटवलमा भएको नेकपा (एमाले) को आठौँ महाधिवेशनमा उहाँ केन्द्रीय कमिटिमा निर्वाचित भई काठमाडौँ जिल्ला इन्चार्जका रुपमा भूमिका निर्वाह गर्नुभयो ।

पार्टी राजनीति र जनपक्षिय राजनीतिलाई संग संगै अगाडि बढाउनुभएका जीवनराम श्रेष्ठले २०७० सालको संविधानसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ मा उम्मेदवार बन्दै निकटतम प्रतिस्पर्धी बन्नुभयो । निर्वाचनमा विभिन्न कारणले सफलता प्राप्त गर्न नसकेपनि उहाँले २०७२ सालको भूकम्पका बेला राहात र उद्दारमा आफुलाई दिलोज्यानले समर्पण गर्नुभयो । यसका अलावा जन सरोकारका विषयमा पनि उहाँले आफुलाई झनै सक्रिय बनाउनुभयो । त्यही सक्रियता, समग्र निर्वाचन क्षेत्र विकासको दीर्घकालिन योजना र इमान्दारिताको कदर गर्दै पार्टीले उहाँलाई संघीय प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा पुनः दोश्रो पटक प्रतिश्पर्धाको मैदानमा उतारेको छ । श्रेष्ठ २०७१ सालमा काठमाडौँमा सम्पन्न पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनबाट लोकप्रिय मतसहित दोश्रो कार्यकालका लागि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो ।

खेलकुद क्षेत्रमा जीवनराम

तत्कालिन नेकपा (माले) तथा हालको नेकपा (एमाले) भित्र खेलकुदको विषय प्रवेश गराउन उहाँको अग्रणी भूमिका रहेको छ । केही वर्ष अघिसम्म खेलकुद फौजी संगठन र केही सम्भ्रान्तहरुका लागि मात्र आवश्यक छ भन्ने मानसिकता थियो । तर जीवनराम श्रेष्ठ लगायतका सीमित युवाहरुको निरन्तरको संघर्षले आज खेलकुदमा सर्वसाधारणको पहुँच विस्तार भएको छ । स्वस्थ जीवनका लागि खेलकुद भन्ने मुख्य सिद्धान्तलाई नेपाली समाजमा स्थापित गराउन श्रेष्ठको विशेष भूमिका छ ।

२०५३ साल जीवनराम श्रेष्ठको जीवनमा केही योगदान दिन सक्ने नयाँ आयाम बनेर आयो । यही वर्ष नेकपा (एमाले) का तर्फबाट उहाँ राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव नियुक्त हुनुभयो । त्यही छोटो अवधिमा उहाँले चीन सरकारसंग सुमधुर सम्बन्ध बनाएर चीनकै सहयोगमा आठौँ साफ खेलकुद प्रतियोगिताको पुर्वाधार निर्माणमा महत्वपुर्ण भूमिका खेल्नुभयो । ललितपुरको सातदोबाटोमा निर्मित पुर्वाधार सम्पन्न स्विमिङ पुल, सुटिङ रेन्ज, त्रिपुरेश्वर स्थित रंगशाला र अन्य खेल मैदानको स्तर वृद्धि उहाँकै योगदान हुन ।

दोश्रो पटक २ ०६३ सालमा राखेपको सदस्य सचिव नियुक्त भएपछि दश वर्ष सम्म सञ्चालन हुन नसकेको वृहत पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०६५ काठमाडौँमा भव्यतापुर्वक सम्पन्न भयो । जसले खेलाडिहरुको खेल जीवनमा केही उत्साह ल्याउने काम ग¥यो । यही अवधिमा उहाँले मुलुकको समग्र खेलकुद विकासका लागि दुरगामी सोचका साथ नयाँ नीति एवं कार्यक्रमका रुपमा ‘भिजन ट्वान्टी ट्वान्टी’ अगाडि सार्नु भयो ।

यो नीतिले खेलकुदमा क्रमिक योजनावद्ध विकास गर्दै सन् २०२० सम्ममा ओलम्पिक पदक जित्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गर्नुभयो । जीवनराम श्रेष्ठले नै मुलुकमा पहिलो पटक स्पोर्टस एकेडेमी स्थापना गर्ने पहल गर्नुभयो । तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालबाट मकवानपुरको हेटौँडामा त्यसको शिलान्यास गरी  कार्य प्रारम्भ गराउनुभयो । तर अस्थिर राजनीतिले गर्दा कार्यकाल पुरा गर्न नपाउँदै दीर्घकालिन महत्वका कार्यक्रमहरु पुरा गर्न नपाउँदै सदस्य सचिवको पदत्याग गर्नुभयो ।

खेलकुद परिषद्मा दुई पटक नेतृत्वमा बस्दा चार वर्षको कार्यकाल पुरा नहुँदै श्रेष्ठले सरकार परिवर्तनपछि नैतिकताका आधारमा राजिनामा दिनुभयो । श्रेष्ठ नेपाल ओलम्पिक कमिटीको महासचिव हुँदै हाल अध्यक्ष हुनुहुन्छ । यही आधारमा ओलम्पिक कमिटी अफ साउथ एशियाको अध्यक्ष तथा नेपाल स्की संघको अध्यक्ष हुनुहुन्छ ।

जीवनराम श्रेष्ठले एउटा राजनीतिकर्मी र खेलकर्मीका हैसियतमा विश्वका विभिन्न देशको भ्रमण गर्नुभएको छ । उहाँ राजनीति मात्र नभएर अन्तराष्ट्रिय सम्बन्ध र कुटनीतिक मामिलाका जानकार हुनुहुन्छ । नेपालको विकास र सम्वृद्धिका लागि धेरै विदेशी मित्रहरुले दिएका सुझाव र स्थानीय आवश्यकताका विषयमा उहाँ विज्ञ हुनुहुन्छ ।

 

तपाइँको प्रतिक्रिया ।