रिया साहित्य समाज द्वारा डा.रामप्रसाद ज्ञवाली सम्मानित
कपन अनलाइन
काठमाडौ,मंगसिर १७।
काठमाडौ कपनस्थित रिलायन्स इन्टरनेसनल एकेडेमी तथा रिया साहित्य समाजद्वारा १०९ औँ लक्ष्मी जयन्तीको अवसर पारेर यही मङ्सिर १६ गते शनिबार आयोजना गरेको उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगिता, कवि गोष्ठी तथा साहित्य स्रष्टा सम्मान कार्यक्रम अन्तर्गत वरिष्ठ साहित्यकार तथा समालोचक डा. रामप्रसाद ज्ञवालीलाई सम्मान गरिएको छ ।
वरिष्ठ साहित्यकार प्रा. राजेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कवि गोष्ठीमा वरिष्ठ साहित्यकार तथा समालोचक डा. रामप्रसाद ज्ञवालीलाई रू.२०,००५।– राशीको रिया साहित्य स्रष्टा सम्मान पुरस्कार प्रदान गरियो ।
रिलायन्स इन्टरनेसनल एकेडेमी तथा रिया साहित्य समाजद्वारा वि.सं. २०६९ मा स्थापित यो पुरस्कार तथा सम्मान यसअघि क्रमशः डा. शैलेन्दु प्रकाश नेपाल, प्रा.डा. कुमार बहादुर जोशी, प्रा.डा. चुडामणि बन्धु, प्रा.डा. महादेव अवस्थी र प्रा.डा. वासुदेव त्रिपाठीलाई प्रदान गरिएको थियो ।
काठमाडौँ उत्तर पूर्वी क्षेत्रका वरिष्ठ कवि, लेखक, साहित्यकार र समालोचक लगायत साहित्यका अनुरागीहरूको उल्लेख्य उपस्थिति रहेको यस समारोहमा कविहरू हेम प्रभाष, सुदेश सत्याल, नारायण निरासी, त्रिलोचन आचार्य, खेमराज पोखरेल, गोविन्द विनोदी लगायत अन्य नयाँ प्रतिभाहरू समेत २० जना भन्दा बढी कविहरूले कविता वाचन गरेका थिए ।
समारोहमा प्रा. डा. हेमचन्द्र नेपालले सम्मानित स्रष्टा डा. रामप्रसाद ज्ञवालीको व्यक्तित्व, नेपाली साहित्यमा उहाँको योगदानबारे चर्चा गरेका थिए । डा. ज्ञवालीले सम्मानपश्चात् कार्यक्रमा बोल्दै रिलायन्स इन्टरनेसनल एकेडेमी र रिया साहित्य समाजले प्रदान गरेको सम्मानले साहित्य क्षेत्रमा अझ अघि बढ्न हौसला मिलेको भन्दै विद्यालयले दिएको सम्मानप्रति कृतज्ञता प्रकट गरे ।
कार्यक्रमका प्रमुख अतिथि प्रा. राजेन्द्र सुवेदीले लक्ष्मीप्रसाद देवकोटाका कृतिहरूलाई लिएर वर्षेनी सम्पन्न हुँदै आएको वक्तृत्वकलाले विद्यार्थी वर्गमा देवकोटा साहित्यप्रति रुचि जगाउने र साहित्य अध्ययनमा उनीहरूको सहभागिता बढ्ने विश्वास व्यक्त गर्नुभयो । साथै विद्यालयहरूको यसप्रकारको रचनात्मक साहित्यिक कार्यक्रमले साहित्यकारहरूलाई भाषा साहित्यको उत्थानमा अग्रसर हुन प्रोत्साहन मिल्ने बताउनुभयो ।
उपत्यकाका २१ विद्यालयहरूको सहभागितामा पहिलो चरणको वक्तृत्वकला प्रतियोगिता मङ्सिर १५ गते शुक्रबार सञ्चालन गरी उत्कृष्ट सात वक्ताहरू छानिएका थिए र १६ गते सम्पन्न भव्य कवि गोष्ठी तथा स्रष्टा सम्मान समारोहबिच सात प्रतियोगीहरूबिच अन्तिम प्रतिश्पर्धा गराइयो । प्रतियोगितामा गणेश उच्च मा.वि., चपलीका छात्र सविन घिमिरे प्रथम, एस.ए.बी. पब्लिक स्कुल, मैतीदेवीका छात्र रुचि भुसाल द्वितीय, बि.एन. एकेडेमी, वसुन्धराकी छात्रा राधिका बोहरा तृतीय, नेपाल वेद विद्याश्रम, गौशालाका छात्र शिशिर रेग्मी र हिमशृङ्खला एकेडेमी, नयाँपाटीकी छात्रा निर्मला बुढाथोकी क्रमशः चौथो र पाचौँ स्थान प्राप्त गर्न सफल भएका छन् । विजेता विद्यार्थीहरूलाई आकर्षक ट्रफी, मेडल, प्रमाणपत्र र अन्य पुरस्कारद्वारा पुरस्कृत गरियो ।