आचार्यका कवितामा रुपान्तरणको सन्देश
कपन अनलाइन
काठमाडौँ, १३ जेठ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा तीन वर्षदेखि भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ३७ औँ शृङ्खलामा कवि विधान आचार्यले आफ्ना एक दर्जन कविता पावर प्वाइन्टका माध्यमबाट प्रस्तुत गर्नुभएको छ ।
हरेक महिनाको दोस्रो शुक्रबार काठमाडौँ उपत्यका र बाहिर रहेर नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने एक प्रगतिवादी साहित्यकारका एक दर्जन कविता सुन्ने र ती कवितामाथि टिप्पणी गर्ने, स्रष्टाको व्यक्तित्व उजागर गर्ने, सिर्जनामा निखार ल्याउने उद्देश्यका साथ सो शृङ्खला थालनी गरिएको मञ्चका अध्यक्ष राम विनयले जानकारी दिनुभयो ।
नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले स्रष्टाले साहित्यका माध्यमबाट मुलुकमा एकता र शान्तिको सन्देश दिनुपर्ने बताउनुभयो । वाचित कवितामाथि टिप्पणी गर्दै साहित्यकार श्यामलले आचार्यको उहाँका कविताले रूपान्तरणको सन्देश सम्प्रेषण गरेको र मुलुकको माया गर्नुपर्ने आग्रह गरेको बताउनुभयो ।
महासङ्घका अध्यक्ष खगेन्द्र राईले अब यो यात्रामा लघुकथाले समेत प्रवेश पाउनु उपयुक्त हुने सुझाव दिँदै यस्ता कार्यक्रम खुला चोक र मोफसलमा समेत लैजान प्रयत्न गरिनुपर्छ र साहित्यलाई जनतासँग जोड्नुपर्छ भन्नुभयो ।
मञ्च काव्य विभाग प्रमुख डा विन्दु शर्माले आचार्यका कवितामा गहनता रहेको र उहाँ सुन्दर विम्बयोजनाका साथ ओजपूर्ण अभिव्यक्ति सम्प्रेषण गर्न सफल रहेको धारणा राख्नुभयो । आगामी अठ्तिसौँँ शृङ्खलामा उमेश उपाध्यायलाई प्रस्तुत गरिने जानकारी मञ्चका उपाध्यक्ष रमेश पोखरेलले दिनुभयो । रासस