भ्रष्टाचारमुक्त नगर बनाइने प्रतिबद्धता

कपन अनलाइन 

सिन्धुली, १३ जेठ । कमलामाई नगरपालिका सिन्धुलीका नवनिर्वाचित प्रमुख खड्गबहादुर खत्रीले नगरपालिकालाई भ्रष्टाचारमुक्त नगर बनाइने प्रतिबद्धता जनाउनुभएको छ ।

सिन्धुलीमाडीमा शुक्रबार पेसागत महासङ्घ नेपाल सिन्धुलीले आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा खत्रीले लामो समयदेखि स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा भ्रष्टाचार व्यापक मौलाएको र विकास निर्माणका कार्य सोचेअनुरुप नभएकाले भ्रष्टाचारलाई शून्यमा झारिने बताउनुभयो । कहीँकतै कुनै कर्मचारीले सेवा प्रवाह गर्दा सेवाग्राहीसँग नियम विपरीत पैसा लिइएको जानकारी प्राप्त भएको १० मिनेटमा नै त्यस्ता कर्मचारीलाई कारबाही गरिने चेतावनी उहाँले दिनुभयो ।

आफू निर्वाचित भएको १५ दिनभित्र र आफूले पद छाड्नु १५ दिनअघि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने बताउँदै उहाँले आफूले पाउने भत्ता खुत्रुकेमा बचत गरेर एक नमुना काममा लगानी गर्नेसमेत जानकारी दिनुभयो । नगरका खानेपानी, सडक र विद्युत्का समस्या समाधान गर्ने गरी सम्बन्धित पक्षसँग आवश्यक परामर्श भइरहेको पनि उहाँले बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।