जुम्लामा मतगणना सुरु, चन्दननाथमा काँग्रेस अगाडि
कपन अनलाइन
जुम्ला, १ जेठ । जिल्लाको चन्दननाथ नगरपालिका, पातारासी, हिमा, कनकासुन्दरी गाउँपालिकामा मतगणना सुरु भएको छ ।
चन्दननाथ नगरपालिकाको एक वडाबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो । पहिलो चरणमा ११२ मतगणना भएको उहाँले बताउनुभयो । जसमा नेपाली काँग्रेस प्रमुखका उम्मेदवार कान्तिका सेजुवालले ६६, उपप्रमुख जगतबहादुर खत्रीले ५३, नेकपा(माओवादी केन्द्र) का प्रमुखका उम्मेदवार अशोक श्रेष्ठले २८ र उपप्रमुख अप्सरा ज्यौपानेले ३० मत र नेकपा (एमाले) प्रमुखका उम्मेदवार शान्तिलाल महतले १०, उपप्रमुख मेनका रेग्मी चौलागाईंले आठ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।
त्यसैगरी नेपाली काँग्रेस वडाध्यक्षका उम्मेदवार जयबहादुर रावलले ६७ मत, नेकपा (माओवादी केन्द्र)का वडाध्यक्षका उम्मेदवार अमृतकृष्ण आचार्यले २५ मत र नेकपा(एमाले) वडाध्यक्षका उम्मेदवार दयादत्त हमालले १३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत न्यौपानेले जनाउनुभयो । गणना भएको मतमा दुई मत बदर भएको छ । जिल्लाका तीन गाउँपालिकाको मतपरिणाम सञ्चार सम्पर्क हुन् नसकेको थाहा भएको छैन । तिला, गोठीचौर, सिङ्जा र तातोपानी गाउँपालिकामा भने अहिले बिहानबाट मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । रासस