एमाले बुनपा संगठन कमिटि आक्रमक प्रचारप्रसारको तयारीमा
कपन अनलाइन, काठमाडौँ । एमाले बुनपा संगठन कमिटीले नयाँ स्वरूप पाएपछि संगठन चुनाव केन्द्रित हुने भएको छ । दीपक निरौलाको नेतृत्वमा बनेको एमाले बुनपा संगठन कमिटीले प्रचारप्रसारका क्षेत्रमा अब्बल बनाउने हिसाबले अगाडि बढ्ने तयारी गरेको छ । आज प्रथम पूर्ण बैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेपछि कपन अनलाइनसँग कुरा गर्दै संयोजक निरौलाले आउँदो १९ गते नगर संगठन कमिटीको कार्यालय उद्घाटन गर्ने बताए । निरौलाका अनुसार सो दिन सबै वडा कमिटिलाई एक-एकवटा ल्यापटप र प्रिन्टर उपलब्ध गराउने तयारी रहेको छ । भने सबै वडा कमिटीमा इन्टरनेटको सुबिधा पनि हुनेछ । संयोजक निरौलाले आगामी शुक्रवार बुनपामा बसोवास गर्ने सबै खाले मिडियाकर्मीसँग भेटघाट र अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको बताए । यस भेककै कुशल बक्ताको रूपमा परिचित निरौलाले अबका सबै गतिबिधि पूर्णत: चुनाव केन्द्रित हुने बताए ।
स्मरणीय रहोस् बुनपामा दीपक निरौलाका साथै बिदुरबिक्रम खड्का, कुसुम कार्की, उद्वब खरेल, जयराम थापा र सुन्दर पुर्कुटी एमालेका तर्फबाट मेयर पदका आकांक्षू हुन् । एमालेले नगर कमिटिलाई शक्तिशाली बनाएर दीपक निरौलालाई संयोजक बनाएपछि एमालेबाट मेयर पदका दावी गर्नेहरूको भीडमा निरौलालाई सबैले एक नम्बर भन्न थालेका छन् ।
आज बुनपा भंगालमा भएको सपथ ग्रहण कार्यक्रममा ४५ जना नगर कमिटि सदस्यले सपथ ग्रहण गरे भने आगामी १९ गते नगर संगठन कमिटिको कार्यालय उद्घाटन कार्यक्रम रहेको संयोजक दीपक निरौलाले जानकारी दिए । कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रदेश कमिटि सदस्य तथा केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उपस्थित हुने छिन् ।
यस अघि आज भएको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथिका रूपमा एमाले काठमाण्डू जिल्ला अध्यक्ष कृष्ण राई उपस्थित भए । राइले चुनावी तयारी र नगर संगठन कमिटिको भूमिकाको बारेमा बोलेका थिए । काठमाडौँ एमालेका शक्तिशाली अध्यक्ष राइले भोलिका दीन देखि १२ हजार एमाले कार्यकर्ता काठमाडौँको चुनावी प्रकृयामा परिचालन हुने बताउँदै केहि समय पहिला नयाँ सदस्य भएका र केन्द्रीय कमिटिले स्वीकृत गरिएका नयाँ सदस्यहरुलाई विशेष कार्यक्रम गरेर सदस्यता वितरण गरिने जानकारी दिएका थिए ।