कपन गुम्बाभित्रको मन्दिर र सार्वजनिक जग्गा संरक्षणमा जनता ताते

कपन अनलाइन 

काठमाडौँ : पौष २४ । कपनको पहिचानसँगै अर्थ राख्ने कपन डाँडो यतिखेर कपन गुम्बाको अधिनमा छ । कपनगढी भनेर चिनिने यस ठाउँमा कपन गुम्बा स्थापना भएपछि विगत आधा दशकदेखि स्थानीयको पहँुचभन्दा टाढा पुगेको छ ।

 

यस गुम्बाभित्र रहेको ७ रोपनी सार्वजनिक जग्गा र त्यसठाउँको परापूर्वकालको महांकाल मन्दिरसँग स्थानीयको सम्बन्ध कमजोर भएपछि स्थानीयहरु सो जग्गा र मन्दिर संरक्षणमा जागरुक भएका छन् । स्थानीयवासी लामो समयदेखि नित्य पूजासम्म गर्न नपाएको महांकाल मन्दिरलाई छोकिने गरी कपन गुम्बाले भवन निर्माण गर्न थालेपछि स्थानीयहरु आक्रोशित हुँदै नगरपालिका पुगेका छन् ।

 

नगरपालिकाले सार्वजनिक जग्गामा कसरी भवन बनाउन दियो तथा सार्वजनिक जग्गा संरक्षण र मन्दिर प्रवेश मार्गका लागि भनेर स्थानीयहरु डेलिगेसन गएका हुन् । बुनपा वडा नं. १३ र १८ का स्थानीयहरुका साथमा केही राजनीतिक दलहरुले नगरपालिका गएर उत्तेजक नारासमेत लगाएका थिए ।

 

पूर्व गाविस अध्यक्षहरु आत्माराम पौडेल र मिठाराम अधिकारी पनि स्थानीयहरुको साथमा पुगेको बताइएको छ । प्रधानपञ्चदेखि गाविस अध्यक्षसम्म बनेका आत्माराम पौडेल र १ कार्यकाल गाविस अध्यक्ष बनेका मिठाराम अधिकारीले यो विषयमा नगरपालिकामा आवाज उठाउँदा कपन गुम्बाको प्रतिनिधि पनि कपन गुम्बामा नै थिए ।
पौडेल र अधिकारी कपन गाविसको प्रमुख हुँदादेखिको समस्या भएकाले उनीहरु पनि यो दोषको भागिदार भएको कुरा पनि डेलिगेशनमा उठेको थियो । पौडेललाई कपन गुम्बाको पर्खाल लगाउँदा आर्थिक प्रलोभनमा परेको आरोप लाग्दै आएको छ । त्यसैगरी कपनलाई जापान बनाएको भन्दै हिँड्ने मिठाराम अधिकारीले आफ्नो महत्वपूर्ण कार्यकालमा कपन गुम्बामा रहेका सार्वजनिक जग्गाको लेखाजोखा र मन्दिरको प्रवेशको द्वार किन खोल्ने प्रयास गरेनन् भनेर यो विषय लामै समयदेखि विवाद बन्दै आएको छ ।

 

पौडेल र अधिकारी नै तत्कालिन गाविसदेखि हालसम्म कपनका तर्फका बाट लिडिङ गर्ने व्यक्ति भएका कारण उनीहरुले डेलिगेसनलाई नेतृत्व गरेर नगरपालिकामा ठूला आवाजले बोल्दा धेरैले उनीहरुलाई नै प्रश्न चिन्ह लगाएका थिए । भीडको नेतृत्व गरेर ठूलो आवाजले बोल्ने अधिकारी र पौडेललाई नगरपालिका प्रमुख तथा सहजीकरण सदस्यहरुले पनि गाली गरेको बताइएको छ । अधिकारी र पौडेलले नगरपालिका भ्रष्ट भएको आरोप लगाउन चाहेका थिए भने नगरप्रमुख र सहजीकरणका सदस्यहरुले उनीहरुको झाँको झारेको बताइएको छ ।

 

कपन भन्नाले कुनै ठाउँ विशेषको महत्वलाई बोध गरिने र त्यो कपन गुम्बाभित्र परेको थुम्को हो भन्ने जनश्रुति रहेको छ । कपनको डाँडो को अवस्थिति सामरिक हिसाबले पनि महत्वपूर्ण भएकाले यो ठाउँलाई सर्वसाधरणको प्रवेशबाट बन्चित गराइनु सर्वथा गलत भएको स्थानीय समाजसेवी तथा नेपाल सरकारका उपसचिव विसुकुमार केसी बताउँछन् ।

 

यो विषयलाई राजनीतिक दाउपेचभन्दा माथि उठेर धार्मिक र जातीय समस्या नआउने गरी हल गर्न आवश्यक रहेको केसीको तर्क रहेको छ । केसी भन्छन् यो समस्याको हल नगरपालिका लेवलबाट हुन सक्ला नसक्ला यसै क्षेत्रका सांसद गगन थापाल मन्त्री भएको अवस्थामा उनले पहल गर्न आवश्यक रहेको उनको भनाई थियो ।
स्थानीयहरु दैनिक नित्य पूजा गर्न पाउनुपर्ने मात्र हैन मन्दिरभित्र जान सहज बाटो हुन पर्ने मागका साथ अगाडि बढेका छन् सरकारी जमिनलाई गुम्बाभित्र पारेर निजी नाममा हाल साविक भएको भन्ने आशंका पनि उनीहरुको रहेको छ । कपन गुम्बा भने यो विषयमा मन्दिर र गुम्बा दुवै धार्मिक क्षेत्र भएकाले मन्दिरले सार्वजनिक जग्गामा पाउँछ भने गुम्बाले पनि पाउनु पर्ने दावी गर्दै आइरहेको छ ।
नगरपालिकामा आज भएको घम्साघम्सी कहिँकतै दलहरुको राजनीतिक दाउपेचमा मात्र सिमित भए पनि यसअघि नै नगरपालिकाले ३ दिन अघि यो समस्याको समाधानका लागि एक समिति निर्माण गरेको छ । समितिको संयोजकमा नगरपालिका प्रमुख स्वयम् रहने र सदस्यहरुमा सहजीकरणसमितिका सदस्यहरु र अमिन तथा प्राविधिकहरु रहनेछन् । यो समितिले यो समस्याको वास्तविकता अध्ययन गर्ने बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।