दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरनाको अस्तित्व सङ्कटमा
कपन अनलाइन
तेह्रथुम: दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरना तेह्रथुममा छ भनेर धेरैले पढेको हुनुपर्छ । तर दुर्भाग्य यो छ कि संरक्षण र प्रचार प्रसारमा चासो नदिइँदा झरनाको अस्तित्व नै सङ्कटमा पर्दैछ । बर्सेनि लाखौँ रुपैयाँ झरना क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा खर्चिए पनि अवस्था जस्ताको त्यस्तै रहेको छ ।
वर्षामा केही हँुदासम्म पानी खस्ने झरना हिउँद लागेपछि सुकेर झरना हो कि होइन भन्ने छुट्याउन मुस्किल पर्ने अवस्थामा छ । झरनाको आसपासमा भएको पानी पनि स्थानीयवासीले अलैँची बगान तथा खेतबारी सिँचाइका लागि कुलोमा लगेका छन् । झरनाको शिरबाट सडक निर्माण भएपछि झरनामा पानी सुक्दै गएको स्थानीयवासी बताउँछन् ।
झरनाको करिब चार किलोमिटर माथिबाट म्याङलुङ–सक्रान्ति सडक खण्डको सडक सञ्चालनमा छ । यो सडक निर्माण भएको करिब सात वर्ष बितेको छ । गतवर्ष झरनासम्म पुग्न सडक सुविधाका लागि ट्र्याक खोलिएको थियो । अहिलेसम्ममा वर्षाका कारण स्काभेटर लगाएर खनिएको सो सडकका अधिकांश स्थानमा पहिरो झरेर भत्किइसकेको छ । झरनासम्म पुग्न सकिने गोरेटो बाटोको समेत मर्मत, सम्भार हुनसकेको छैन । झरना झरेको खोल्सीमा आधा मात्रै झरना देखिन्छ, बाँकी झाडी र रुख बुट्यानले छोपेका छन् ।
झरनामाथिबाट सडक खनिएपछि सुक्दै गएको मुहानकोसमेत संरक्षण गरिएको छैन । मुहान आसपासबाट बग्ने पानी पनि स्थानीयवासीले अलैँची बगान र खेतबारी सिँचाइका लागि लगेपछि झरनाको अस्तित्व नै सङ्कटमा पर्दै गएको छ ।
पछिल्लो वर्ष स्थानीयवासीको माग बमोजिम जिल्ला विकास समितिको बजेटले झरना नियाल्न सकिने पुल निर्माण गरिएको छ । तर झरनामा पानीनै सुक्न थालेपछि हेर्न आउने आगन्तुक निराश भएर फर्कने गरेका छन् ।
झरनाको प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको भन्दै स्थानीय बासिन्दाले त्यसतर्फ ध्यान दिन बर्सेनि सरकारसँग माग गर्दैआएका छन् । प्रशस्त पर्यटकीय सम्भावना बोकेर पनि सरकारीस्तरबाट संरक्षण र प्रचारप्रसारमा ध्यान नपुग्दा झरना ओझेलमा परेको उनीहरुको गुनासो छ ।
तीन सय ६५ मिटर अग्लो स्थानबाट झरेको मनोरम यो झरना नेपाल तथा दक्षिण एसियाकै सबैभन्दा अग्लो झरना हो । त्यसो त तेह्रथुमका इसिबु र सम्दु गाविसको सीमा क्षेत्रमा अवस्थित मनोरम यो झरनाको विकासका लागि बर्सेनि पर्यटन कार्यालय, काँकटभिट्टा र जिल्ला विकास समितिले लगानी गर्दै आएका छन् ।
त्यतिमात्रले झरना क्षेत्रलाई उजिल्याउन पर्याप्त नहुने पूर्व जिविस उपसभापति तेजमान कन्दङवाले बताउनुभयो । “झरनाको विकासका लागि स्थानीयवासीको चासो पनि कम छ,” कन्दङवाले भने – “यसका लागि सरकारीस्तरबाटै एकीकृत गुरुयोजना नै बनाएर काम गर्नुपर्ने आवश्यकता छ ।” निजी तथा सरकारीस्तरबाट समेत कुनै प्रचारप्रसार नभएकाले पर्यटकीय महत्व बोकेको झरना ओझेलमा परेको स्थानीयवासी नवीन चोङवाङले बताउनुभयो ।
प्राकृतिक रुपमा बनेको यो झरनाको बीच प्रत्येक दिनजसो सप्तरङ्गी इन्द्रेणीको दृश्य देखिन्छ । मौसम सफा रहेको र पारिलो घाम लागेको समयमा अग्लो स्थानबाट झरेको झरनामा लागेको इन्द्रेणीको दृश्य अझ मनोरम देखिने स्थानीय इसिबु उच्च माविका प्रधानाध्यापक रामप्रसाद तिमल्सिनाले बताउनुभयो ।
झरनाको यही विशेषताका कारण अहिले पनि बर्सेनि सयौँको सङ्ख्यामा पैदलयात्री अवलोकनका लागि आउने गरेका छन् । “झरना हेर्न देशी विदेशी सबै आइपुग्छन्,” तिमल्सिनाले भन्नुभयो – “अझ वर्षायामका महिनामा त झरना हेर्नेको घुइँचो लाग्ने गर्दछ ।” तर झरनाको आसपासको क्षेत्रको विकास, प्रचारप्रसार र पर्यटकीय वातावरण बनाउन नसक्दा उल्लेख्य विकास हुन नसकेको उहाँको भनाइ छ ।
जिल्ला विकास समिति र पर्यटन कार्यालय झापाले प्रत्येक वर्ष झरनाको संरक्षण र विकासका लागि कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तर प्रतिफल उल्लेख्य छैन । यस क्षेत्रका आधा दर्जनभन्दा बढी गाविसका बासिन्दाको पर्यटकीय गतिविधिसँग जोडिएको यो झरनाको प्रचारप्रसार गरी पर्यटक भित्र्याउन सके आयआर्जनमा समेत वृद्धि हुने स्थानीयवासी बाबुराम नेपालीले बताउनुभयो ।
कसरी पुग्ने झरनासम्म ? झरनासम्म पुग्न अहिलेसम्म राम्रो सडक सुविधा छैन । सदरमुकामबाट म्याङलुङ–सक्रान्ति सडक भएर झरनाको शिरसम्म पुग्न सकिन्छ । त्यसपछि करिब एक घन्टा पैदल हिँड्नुपर्छ । तर यो सडक खण्डको खोरुङ्गा खोलामा पुल नहुँदा वर्षाका अधिकांश महिना अवरुद्ध हुने गरेको छ ।
यस्तै, पाँचथरको फिदिमबाट जिल्लाको पूर्वी सक्रान्ति बजार हुँदै मध्यपहाडी लोकमार्ग भएर इसिबुसम्म पुग्न सकिन्छ । त्यहाँबाट पनि करिब एक घन्टाको पैदलपछि झरनासम्म पुग्न सकिन्छ । तर सो सडक पनि निर्माणाधीन भएकाले भरपर्दो भने छैन । झरनासम्म पुग्न यातायात सुविधा भरपर्दो नहुँदा सदरमुकाम र पूर्वी सक्रान्ति बजारबाट करिब एक दिन पैदल हिँड्नुपर्ने हुन्छ ।
सरकारीस्तरबाट तत्काल बजेट छुट्याएर काम थालिनुपर्नेमा स्थानीय बासिन्दाले आवाज उठाउँदै आएका छन् । तर झरना क्षेत्रको विकास र प्रचारप्रसारमा स्थानीय बासिन्दाले समेत त्यति धेरै चासो दिइएको पाइँदैन । रासस