ने. का. क्षेत्र नं. ४ का सभापति न्हुच्छेनारायण श्रेष्ठ संगको अन्तर्वार्ता
सोझो हिसाबको मान्छे राजनीतिमा टिक्न सक्दैन भन्ने भनाइलाई थोरै मात्रै राजनीतिकर्मीले विफल बनाइरहेका छन् । तीमध्ये काठमाडौ जिल्ला क्षेत्र नंं. ४ का नेपाली कांग्रेसका सभापति न्हुच्छेनारायण श्रेष्ठ पनि एक हुन् । चुनिखेल गाविसमा स्थायी बसोबास भएका उनी पूर्णकालीनरुपमा राजनीतिमा समर्पित छन् । राजनीतिबाहेक अरु कुनै पेशामा आबद्ध नदेखिएका न्हुच्छेनारायण गएको नेपाली कांग्रेसको अधिवेशनमा गगन थापाको टोलीबाट क्षेत्रीय सभापति भएका थिए । राजनीतिको उतारचढाव सँगै हाल आएर आफ्नै सहकर्मी साथीहरु(क्षेत्रीय समितिका अन्य सदस्यहरु)बाट पाखा लगाइँदै गरेको हल्ला चलिरहेको बेला न्हुच्छेनारायण श्रेष्ठसँग कपन अनलाइनले गरेको राजनीतिक वार्ता ः
प्रश्न ः राजनीति गरुँ जस्तो कसरी लाग्यो ?
न्हुच्छेनारायण श्रेष्ठ ः राजनीति समाजसेवाको एक महत्वपूर्ण अंग हो । समाजसेवाप्रतिको मेरो लगावले मलाई राजनीतितिर डोर्यायो । विसुद्ध सेवाको भावना व्यक्त गर्न राजनीतितिर उन्मुख भएको हँु ।
प्रश्न ः राजनीतिभन्दा बाहिर बसेर समाज सेवा गर्न सकिन्नथ्यो र ?
न्हुच्छेनारायण श्रेष्ठ ः म ०४२ सालको सत्याग्रहबाट राजनीतिमा हाँकिएको मान्छे हुँ । त्यो बेला देशको शासन परिवर्तनका लागि राजनीतिको कुनै न कुनै अंगमा समाहित हुनुपर्ने अवस्था थियो । राजनीति शुरु गरेर आफूलाई समाजसेवा उन्मुख बनाएँ भन्दा हुन्छ ।
(फोटो: सागर बैजु)
प्रश्न ः राजनीति गर्छु भनेर शुरु गरेको २७ वर्ष भैसक्दा अझ पनि यहाँलाई म राजनीतिबाट समाजसेवा गरिरहेको छु जस्तै लाग्छ ?
न्हुच्छेनारायण श्रेष्ठ ः बिभिन्न अरु नेताहरुका कारण राजनीति धेरै अर्थम कमाउ नीति भएको देखिएको घटनाले मानिस राजनीतिबाट अत्यन्त दुःखी भएको अवस्था चाहिँ हो तर राजनीति समाज सेवाकै एक अंग हो । मैले यो राजनीतिको यो उमेरसम्म आइपुग्दा कुनै पनि दिन राजनीतिलाई समाजसेवाभन्दा कमजोर बनाएर हेरिन । अझै पनि जतिसम्म राजनीति गर्न सक्छु, यसलाई समाजसेवाको रुपमा अगाडि बढाउन चाहन्छु ।
प्रश्न ः के राजनीति अब पेशा भएको हो ?
न्हुच्छेनारायण श्रेष्ठ ः पेशाभन्दा पनि अम्मल चाहिँ भएको आभाश हुन्छ । राजनीतिबाट कमाइन्छ वा कमाउनु पर्छ भन्ने धारणा नराख्ने मजस्ताका लागि राजनीति पेशा त हुनै सक्दैन । तर अम्मल चाहिँ भएको भयो अब । नाम र इज्जतका लागि राजनीतिमा छु कि जस्तो लाग्छ । किसानी गरेर खान पुग्ने परिवारको भएकोले मेरो अर्काे कुनै पेशा पनि छैन । ४७ वर्षको भएँ । अझै राजनीतिलाई आफ्नो जीवनको समाजसेवाजन्य पेशाको रुपमा अगाडि बढाउने चाहना छ ।
प्रश्न ः कतिपय मानिस राजनीतिलाई पेशा भन्छन्, राजनीति सम्पूर्णमा पेशा हुन सक्छ ?
न्हुच्छेनारायण श्रेष्ठ ः यो उनीहरुको भूल हो । पेशा भनेपछि त्यसबाट कमाएर आफ्नो जीविकोपार्जन पनि गर्नु भन्ने बुझिने भएकोले कम्तिमा कांग्रेसको राजनीति गर्नेले राजनीतिलाई पेशा भनिरहेको छ भने गलत भनिरहेको छ । राजनीतिबाट कमाउने भनेको दाम हैन नाम वा वदनाम हो । जसले घरको चुल्हो चाहिँ जल्दैन । मैले क्षेत्रीय सभापति भैसकेपछि २।३ लाख खर्च गरिसकेँ ।
प्रश्न ः बिना पेशा कसरी बाँचिरहनु भएको छ वा यो खर्च कसरी गरिरहनु भएको छ ?
न्हुच्छेनारायण श्रेष्ठ ः म किसान परिवारको हुँ । मलाई खाना खान धानले पुग्छ । करिब १०० मुरी धान फल्ने खेत छन् मेरा । मेरो बा को म एक्लो छोरा भएकोले मेरो खर्च पनि अलि कम नै छ । अन्य खर्चका लागि मैले करिब २ रोपनी जग्गा बेचिसकेको छु । जग्गा बेचेको पैसा बैंकमा राखेर खर्चको भागबण्डा लगाउने गर्छु । अरु कुनै पेशा छैन । कुनै काम छैन । बाउ बाजेको सम्पत्तिमा रमाउन पाएको छु ।
प्रश्न ः कपनसँगको सम्बन्धको हिसाबले पनि यहाँलाई अरु चुनिखेलमा राजनीति गर्नैहरुभन्दा अब्बल मानिन्छ । कपनसँगको नाता कस्तो हो ?
न्हुच्छेनारायण श्रेष्ठ ः कपन र चुनिखेलको सम्बन्ध दाजु भाइको जस्तै हो । ०६२।०६३ को आन्दोलन मा चुनिखेल कपन, गणतन्त्र जपन भनेर नारा नै बनाएको थियौं । यहाँका धेरै पुराना मानिसहरु हाम्रा दौतरी हुन् । सँगै खाइ खेलेका मानिसहरु थुप्रै छन् । सत्याग्रहको बेलामा पनि कपनबाट कृष्णप्रसाद चालिसे, निलाम्बर पन्थीलगायत नेताहरुले हामीलाई साथ लिएको हुँदा राजनीतिक रुपमा पनि कपनसँगको नाता पूरानो हो मेरो ।
प्रश्न ः ०४९ को निर्वाचनमा जित्नु भयो । पछि ०५४ को निर्वाचनमा हार्नु भयो । खासै उन्नति प्रगति गराउन सक्नु भएनछ हैन चुनिखेललाई ?
न्हुच्छेनारायण श्रेष्ठ ः ०५४ सालको चुनावमा त विकासको जति सुकै काम गरे पनि हार्ने किसिमको वातावरण थियो । वामदेव गौतम गृहमन्त्रि भएर चुनाव हुँदा चुनिखेलमा आफ्नो जस्तो केही पनि थिएन । हामी अलि बढि हाम्रा कामप्रति विश्वस्त पनि भएछौं जिती हालिन्छ भनेर चुनावी कुनै तिकडमतिर लागिएन विपक्षीहरुको देशैभरी माहौल थियो । तैपनि मात्रै ६५ भोटले मात्रै जिते उनीहरुले ।
प्रश्न ः आफूले गाविस अध्यक्ष हुँदा केही बूँदागत रुपमा भन्न सकिने उल्लेखनीय काम गर्नु भयो ?
न्हुच्छेनारायण श्रेष्ठ ः ०४७ अघि चुनिखेललाई कतैबाट पनि मोटरबाटोले छुँदैनथ्यो । म अध्यक्ष भएपछि चपली गाउँदेखि जगडोलको भन्ज्याङसम्म मैले नै डोजर लगाएर बाटो खोलेको हुँ । कपनबाट पनि मेरो नै पालामा चुनिखेलसम्म बाटो बिस्तार गरेको हो । ०५१ सालमा धोविखोलाको पूल बनाएँ(चुनिखेल चपली जोड्ने) । त्यो बेला गाविसमा सरकारी अनुदान पनि थिएन । काम गर्न सहज पनि थिएन । सरकारी अनुदान जम्मा ५० हजार आउँथ्यो । अहिले १८ लाख आउँछ । त्यतिखेर कांग्रेसको सरकार भएकोले कारणले मात्र केही काम गर्न पाएको हुँ । तथापि २७ लाख पूल, ८।८ लाखको दुईवटा स्कूल भवन, २१ लाखको धोविखोलाको पानी प्रयोग गरिने सिँचाई, २४ लाखको खानेपानीको काम मेरो पालामा हुन पायो । गाविस भवन थिएन । ४ वर्ष मेरै घरमा गाविस चलाएर पछि गाविस भवन बनाएँ ।
प्रश्न ः राजनीतिमा कहाँ पुग्छु जस्तो लाग्छ ?
न्हुच्छेनारायण श्रेष्ठ ः म निष्ठापूर्ण राजनीतिको पक्षधर हुँ । सभासद् भएर मन्त्रि हुन पाउँछु कि जस्तो लाग्छ । हेरुँ, मूख्यकुरा आफ्नो क्रियाशिलताको हो, त्यो कुरामा म कञ्जुस्याईं गर्दिन ।
प्रश्न ः राजनीतिमा चाक्सिबारीसँग यहाँ सम्बन्ध पूरानो मानिन्छ, अहिले पनि सम्बन्ध कायम छ कि टुट्यो ?
न्हुच्छेनारायण श्रेष्ठ ः ०४२ सालतिरै गणेशमान सिंह ज्यू चुनिखेलमा आउने भएको थियो । त्यसबेलादेखि नै उहाँहरुसँग परिचय भएको हो । पछि चाक्सिबारीमा नै गएर मैले पार्टीका सदस्यता लिएँ । प्रकाशमान सिंहसँग परिचय र भेटघाट बढ्यो । उहाँ कहिलेकाँही मेरो घरमा आएर बस्नु भएको छ । उहाँलगायत मार्सलजुलुम शाक्य, शिवध्वज बस्नेत, कृष्णप्रसाद चालिसेलगायतको प्रेरणाबाट कांग्रेसमा कृयाशील भएको हुँ । ०४६ को आन्दोलनमा जाँदा जाँदा चाक्सिबारी आफ्नै घरजस्तै भएको थियो । ०४९ को स्थानीय चुनावमा प्रकाशमान सिंहले मलाई नै गाविस अध्यक्षमा उठ्नु पर्छ भनेपछि म चुनावमा होमिएको हँु । प्रकामान सिंहज्यू काठमाडौं सभापति हुँदा म चुनिखेलको उपसभापति थिएँ । प्रकाशमान सिंहसँगको व्यक्तिगत सम्बन्ध अझै पनि मेरो र पारिवारिक खालको छ ।
प्रश्न ः अब त राजनीतिमा गुट छ । प्रकाशमान सिंहकै गुटमा हनुहुन्छ कि ?
न्हुच्छेनारायण श्रेष्ठ ः राजनीतिकरुपमा म कहिले पनि गुटको पछाडि लागिन । लाग्दिन पनि । म नेपाली कांग्रेसको सिपाही हो । ४ तारे झण्डाप्रतिमात्र मेरो वफादारी छ । रुख चिन्ह नै मेरो पहिचान हो । बीचमा पार्टी फुटेपछि प्रकाशमान सिंहसँग केही मनमुटाव भए मेरा । म रुखमा नै रहेँ । नेताहरु सबै आदरणीय हुनुहुन्छ । तर मेरो गुटगत निष्ठा छैन । गएको जिल्ला अधिवेशनसम्म पनि उहाँसँग म रुष्ट नै थिएँ । जिल्ला अधिवेशनमा पनि मैले उहाँको गुटभन्दा फरक भिमसेनदाश प्रधानज्यूलाई जिताउन सहयोग गरेको हुँ । फेरि केन्द्रिय अधिवेशनमा सुशिल कोइराइला सभापति र प्रकाशमान सिंह महामन्त्रि भनेर प्यानल बनेपछि भने मैले प्रकाशमान सिंहलाई भोट हालेँ ।
प्रश्न ः पछिल्ला दिनमा कपनका रामकृष्ण के.सी.लाई तपाईंले बोकेर हिँड्दा गुटगत राजनीतितिर प्रवेश भएको जस्तो लाग्दैन ?
न्हुच्छेनारायण श्रेष्ठ ः रामकृष्ण के.सी र हामी एउटै थालमा खाएर हिँडेका मान्छे हो । उहाँ कांग्रेस हो । नेपाली कांग्रेसको जो कोहीलाई सहयोग गर्नु पर्छ भन्ने धारणा भएको मजस्तो मान्छे ले रामकृष्ण के.सी.जस्तो आफ्नै परिवारको सदस्यसरहको मानिसलाई केही सहयोगी हुँदा यसमा कुनै गुटगत धुँवा देख्नु बेइमानी हो । त्यसमाथि बोकेर हिँडेको केही होइन । उहाँको नाममा आएको एउटा प्रस्तावको मैले समर्थन गरेको हुँ । योग्य व्यक्तिलाई पार्टीमा ठाउँ दिनु राम्रै हो भन्ने मेरो धारणा हो ।
प्रश्न ः क्षेत्रको अधिवेशनमा गगन थापाको प्यानलबाट जितेकोे क्षेत्रीय समितिमा पनि तपाई अहिले एक्लो हुनुहन्छ रे नि ? उपाध्यक्ष, सचिव तपाईको विपक्षमा छन् भन्ने हल्ला चलेको छ ?
न्हुच्छेनारायण श्रेष्ठ ः त्यस्तो केही छैन । मेरो अगाडि अहिलेसम्म कुनै बिरोध नगरेको हुँदा म यो हल्लालाई निराधार मान्छु । मैले राखेको प्रस्तावलाई अहिलेसम्म उहाँहरुले पूर्ण साथ पनि दिनु भएको छ । केशवजी अलि चाँडै कुरा बुझ्नु हुन्न तर बुझेपछि फेरि हामी सँगै हिँडेको अवस्था छ । केशवजीले भनेको कुरा काट्ने पनि कोही छैन, श्यामजीले भनेको कुरा काट्ने पनि कोही छैन र मैले भनेको कुरा काट्ने पनि कोही छैन । हामी सबै पदाधिकारी एक छौँ । सँगै बसेपछि कहिले काहीँ सानोतिनो कुरामा खटपट हुनसक्छन् तर समग्रमा कुनै मनमुटाव वा भ्रम छैन । हाम्रो व्यवहारमा कुनै परिवर्तन छैन । मैले त केशवजीलाई मेरो कामप्रति कुनै खोट छ भने कार्यबाहक दिन्छु पनि भनेको छु ।
प्रश्न ः राजनीतिको अबको लक्ष्य के हो तपाईंको ?
न्हुच्छेनारायण श्रेष्ठः स्थानीय चुनावमा म भाग लिन्न । सांसदको चुनावमा उठ्ने धारणामा छु । कतिपय कुरा मैले चाहेर मात्र पनि हुन्न होला । तैपनि क्षेत्र नं. ४ मा ने.का. को तर्फबाट करिब ८० प्रतिशत सम्भावना मेरो छ जस्तो लाग्छ तर यदि गगन थापा क्षेत्र नं. ४ को उम्मेदवार हुने कुरा भयो भने म उम्मेदवार हुन चाहन्न ।
– केशव पाठक