मोटरसाइकल चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौंका विभिन्न स्थानबाट मंगलबार मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई ट्राफिक प्रहरीलेनियन्त्रणमा लिएको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका १ घर भइ काठमाडौंको बिजुलीबजार बस्ने १८ वर्षीय उच्वल लामालाई बागमती प्रदेश ०२-०४३ प ६२ २८ नम्बरको मोटरसाइकल सहित काठमाडौंको एयरपोर्ट नजिकै शंकाष्पद अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । वास्तविक नम्बर बा ९२ प ७३ १९ रहेको उक्त मोटरसाइकल काठमाडौंको चमतीबाट हराएको भनि कन्हैया प्रसाद महतोले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
लामालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा ललितपुरको गोदावरी नगरपालिका २ लाकुरीभञ्ज्याङमा लुकाइराखेको बागमती प्रदेश ०२-०५३ प ६६ ९९ नम्बरको अर्को मोटरसाइकल समेत फेला परेको थियो । काठमाडौंको पशुपती शवगृह स्थित पार्किङ स्थलबाट हराएको बागमती प्रदेश ०२-०४५ प ६२ ९६ नम्बरको मोटरसाइकल खोजतलासका लागी सागत राना मगरले निवेदन दिएका थिए । नियन्त्रणमा आएका लामालाई आवश्यक अनुसन्धानका लागी प्रहरी वृत्त स्वयम्भू पठाइएको छ ।
त्यस्तै, काठमाडौंको महादेवस्थानबाट पनि हिजै चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बागमती प्रदेश ०२-०३४ प २६८२ नम्बरको मोटरसाइकलसहित ललितपुरको गोदावरी नगरपालिका २ का ३० वर्षीय सुरेश सिलवाललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त मोटरसाईकल ललितपुरको एकान्तकुना स्थित सुजुकी ट्रायल सेन्टर नजिकबाट हराएको भनि रामकुमार के.सि.ले खोजतलासको लागि निवेदन दिएका थिए । पक्राउ परेका सिलवाललाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक उमा प्रसाद चतुर्वेदीले जानकारी दिएका छन ।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता चतुर्वेदीलेसम्पूर्णमा अनुरोध गरेका छन ।