माओवादीको अस्तित्व र पहिचानका लागि नयाँ पार्टी गठन: बिप्लव
२० असार, नेपालगञ्ज । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले माओवादीको अस्तित्व र पहिचान बचाउन पार्टी पुन:गठन गरेको बताएका छन् । आफूहरूले पुरानो राज्यसत्ता परिवर्तन नगरी देशमा परिवर्तन नहुने देखेपछी पार्टीमा यस्तै विचार बोक्नेहरू एकैठाउँमा गोलबद्ध भएको दावी गरेका छन् ।
पार्टी विभाजनपछि संगठन बिस्तार तथा राज्य समितिहरु पुनःगठनका लागी नेपालगञ्ज आइपुगेका सचिव चन्दले पत्रकारहरुसँग कुरा गर्दै आफुहरूले एमाओवादीको नेतृत्वलाई परिवर्तन गर्न नसकेका कारण नयाँ पार्टी खोल्नु परेको जिकिर गरे । पार्टी विभाजनपछि पार्टीका सम्पत्तिका लागि कार्यकर्ता भिडाउने पक्षमा आफूहरु नरहेको बताउँदै उनले आपसी समझदारीबाट विवाद सुल्झाउन आग्रह गरेको बताए ।
संविधानसभा असफल भैसकेकाले पुन: निर्वाचन गर्नु गलत हुने बताउँदै उनले गोलमेच सभा गरेर राजनीतिक समस्याको समाधान खोज्नुपर्ने धारणा राखेका थिए । सचिव बिप्लवले भने, ‘फेरी संविधानसभाको चुनाव गर्नु झुट र नक्कली कुरा हुनेछ । कतै उत्साह छैन ।’
नेकपा-माओवादीले आफ्नो पकड रहेको भनिएको थारूवान राज्यबाट आफ्नो संगठन बिस्तारको काम थालेको छ । आज नेपालगञ्जमा भएको भेलाले पूर्णबहादुर घर्तिमगर ‘आयाम’ लाई राज्य समिति इन्चार्ज र हरि ज्ञवाली अखण्डलाई सेक्रेटरी चयन गरेको छ । त्यस्तै, दाङ इन्चार्जमा इन्द्रजित थारु, बाँके इन्चार्जमा अशोक रोकाय, बर्दिया इन्चार्जमा सन्तोष चौधरी, कैलाली इन्चार्जमा श्रवण र कन्चनपुर इन्चार्जमा देवीदत्तलाई चयन गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।