भिमान सिन्धुली पदयात्रा : वासुदेव पौड्याल (भद्र)
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २३।
स्रष्टा भिमान कमला तट सिन्धुलीमा
पूर्खा शहीद रघुनाथ धरा जरामा ।
श्रद्धा दिने कलम पुष्प कवित्व स्रष्टा
हुन् धन्य मातृ –अनिता परिवार द्रष्टा ।।
भिमान सिन्धुली यात्रा वास गौरन टोलमा
कमलाको किनारामा स्रष्टा साहित्य साधना ।
सेवामा कर्मका डोब शहीद रघुनाथ छन्
स्मृति योग्य हुँदा गाथा श्रद्धाका उच्च पात्र हुन् ।।
ऐतिहासिक योद्धाको सौन्दर्य सिन्धुली गढी
कैयौं शहीद आजाद देवकोटा ऋषि सरि ।
क्रान्तिकारी धराधाम भिमान कमला नदी
चुरे पर्वत सौन्दर्य खोल्सा छन् रक्तवाहिनी ।।
इतिहास बने साक्षी गौरन टोल गर्वित
मृत्तिका कण कोट्याए गाथा छन् रक्तरञ्जित ।
गढी यो सिन्धुली क्षेत्र शौर्यचर्चा प्रसिद्ध छन्
वीरका चिरगाथाका साथमा राष्ट्रभक्ति छन् ।।
जुनार सुन्तला जात डल्ला सुन फलाउने
चुरे सौन्दर्यको क्षेत्र वर्षा घोर डराउने ।
घुम्ती सौन्दर्य छन् मार्ग नागबेली सुरम्यका
त्रासदी खहरे खोला रोशीको भीति गर्जना ।।
दोहोरी पर्व मेलामा ,खेतमा गीत संस्कृति
पाखा पर्वत झंकार दिन्छन् झैं नृत्यमा गति
कृषिमा नगदे खेती भौतिकी नव सिर्जना
अनेकौ जात सद्भाव मानवीय सचेतना ।
सिन्धुलीमा कलाकार प्रतिष्ठान कलाघर
गीत, सङ्गीत संस्कार लोक भाका सरोवर ।
शब्दका मृदुभाषा छन् कर्मका सुर तालमा
रोदी मादल दोहोरी मेला उत्सव तिर्सना ।।
अन्न भण्डारमा सिद्धि किल्ला पहाड मार्ग छन्
घुम्ती पैह्रो नदी खोल्सा बर्षाती त्रस्त बेग छन् ।
पाखा पर्वत छन् रम्य देखिन्छ दुलहीपन
गन्तव्य सिन्धुली यात्रा स्रष्टाका जोशिने मन ।।
प्रसिद्ध कमलामाई पूर्वी नेपाल सिन्धुली
अनेकौं तीर्थको सार पुण्य गङ्गा समान यी ।
चुरे पर्वतका साक्षी सिसौ र खर घारीमा
फुर्लुङे जालका माझी घर छन् खेतबारीमा ।।
सहकार्य : कपन बानेश्वर साहित्यक साप्ताहिक
