शून्य प्रतिवेदन : धिरज बराल (लघुकथा )
कपन अनलाइन
काठमाडौं साउन १०।
उसलाई घाइते अवस्थामा कसले अस्पताल पु¥यायो भन्ने विषय अज्ञात थियो । एउटा अनुसन्धान समिति त्यसबारे छानबिन गरिरहेको थियो ।
त्यसै क्रममा समितिका सदस्यहरूले विभिन्न तस्बिर देखाउँदै चेत फर्कँदै गरेको बिरामीलाई प्रश्न गर्न थाले–
“एकपटक राम्ररी सम्झिनुस् त– कतै यो दयाको अनुहार त थिएन ?”
उसले अस्वीकारको टाउको हल्लायो ।
“सहानुभूतिको ?”
उसले फेरि टाउको हल्लायो ।
“सहयोग ?”
उत्तर फरक आएन ।
“परोपकार त पक्कै हुनुपर्छ ?”
उसको टाउको फेरि ‘होइन’ मा हल्लियो ।
केहीबेर मौनतापछि समिति संयोजकले गम्भीर स्वरमा भन्यो,
“जीवनभरको अनुभवमा निःस्वार्थ उद्धारको एउटा पनि आधार नदेखिनु… अस्वाभाविक छ ।”
“त्यसो भए प्रतिवेदनको निष्कर्षमा के लेख्ने, सर ?”
संयोजकले कलम उठायो ।
“निष्कर्ष : उद्धारको मानवीय आधार प्रमाणित भएन ।”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
