पिपिराझैँ पलाऊँ म : जनार्दन अधिकारी धड्कन

पिपिराझैँ पलाऊँ म : जनार्दन अधिकारी धड्कन

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २३।

आशाका किरणहरू
आस्थाको पहाडमा ठोक्किएर
बिहानीको हिमालजस्तै
बादलको घुम्टो खोलेर
मनमोहक सुन्दरताको
बेहुली बनिदिँदा
मनभरि उम्रेका छन्
प्रेमका पिपिरा
निराशाको
कालो बादल फाटेर
आशाको उज्यालो भरिएर
सुन्दर बनेको छ
मेरो मनको आँगन
खुसी छर्दै
जिन्दगीमा
प्रेमको डालीभरि पलाएको
पिपिराझैँ पलाऊँ म !

वसन्तसँगै पलाएका
प्रकृतिका
अनन्त जिन्दगी
उजाड डाँडाहरू
उदास मनलाई
स्पर्श गर्दै बहेको
पवनको सामीप्यता
प्रेमील जोडीको
शव्द बोकेर
सुसाइरहेको
सल्लाघारीमै
कल्पनाको
धरातलबाट ब्युँझिएर
विपनामा
पिपिराझैँ पलाऊँ म !

मनभित्रको प्रेम
मौनता खोलेर
साहस गरी
प्रस्तावको थुप्रोबाट
उत्तरको आशाविना
बगाएको नदीले
दायाबाया किनारमा
छोडेको बगरजस्तै
उब्जेको प्रश्नको
पिपिराजस्तै
उत्तरको प्रतीक्षामा
सम्भावनाको
पिपिराझैँ पलाऊँ म !!

सहकार्य : कपन बानेश्वर साहित्यक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।