चार मुक्तक : उर्मिला कोइराला

चार मुक्तक : उर्मिला कोइराला

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १६ ।

भित्रभित्रै छट्पटिन्छु भन्न पनि सक्दिन म
एकान्तमा पिल्सिन्छु भन्न पनि सक्दिन म
वर्षातमा उर्लिएर बगेको त्यो भेलजस्तै,
मनैदेखि धमिलिन्छु भन्न पनि सक्दिन म ।

मैले बनाएको भाँडाकुँडा पनि चोखो चुलो हुन्छ
मैले कुँदेको मूर्ति पुजेर ऊ झन् ठूलो हुन्छ
मै जस्तो हाड, छाला, मासुले बनेको त्यो मान्छे
कस्तो अचम्म ! मैले छुने बित्तिकै ऊ बिटुलो हुन्छ ।

यही माटोलाई पसिनाले भिजाऊँ जस्तो लाग्छ
सिमा मिचिदैछ अचेल, देश बचाऊँ जस्तो लाग्छ
धन कमाउने बहानामा विदेशतिर धाउनुभन्दा
भोकै दिन काट्ने हेरेर चित्त बुझाऊँ जस्तो लाग्छ ।

पिडित महिलाको यो चित्कार कहिलेसम्म आखिर ?
बढ्दै छ क्रुर दानवी व्यवहार कहिलेसम्म आखिर ?
बाउ दाजूबाटै चेली लुटिन्छे र बेचिन्छे अचेल भने,
पुरुषको पशुत्व र अत्याचार कहिलेसम्म आखिर ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।