ज्येष्ठ नागरिक : जीवनाथ पोखरेल ( कविता )

ज्येष्ठ नागरिक : जीवनाथ पोखरेल ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ९ ।

मेरो कर्म श्रेष्ठ भयो वा भएन
ज्येष्ठ होस् वा कनिष्ठ,कर्म श्रेष्ठ हुनुपर्दछ
त्यो लवज भने कतै गएन
हो त अग्रज वा अनुज
जसले हजारौँ भोटाहरु फटायो
अनगिन्ती हिँउद र बर्षादहरु कटायो
जाडोले कठ्याङग्रिए पनि
काम्यो तर अनि आफुमा दम छ भनेर छाम्यो
हो त्यही हो यहाँको ज्येष्ठ नागरिक ।
यहाँका हजारौँ बिकृती र बिसङ्गतिका
साक्षी बन्यो ऊ,
भोलीको चिन्ताले पोल्यो उसलाई,
भित्र भित्रै आगो बल्यो मुटुमा
सहेर बस्यो खान नपाउँदा पनि
पेट कस्यो,
तर, आफ्नो कहर कहेन कसैलाई
किनकी ति भोलीका मुनाहरु
न टाक्सीउन् भनेर ।
एउटा बुढो बाघ
जसका दाह्रा नङग्रा खिइसकेका छन्
जो टुलुटुलु हेर्छ तर बोल्दैन
ऊ आफ्नो गुह्य पनि खोल्दैन
त्यसैले त तिमीले बुझ्नु पर्दछ कि ऊ
किन दुःखी छ भनेर ।
यो उसका लागि होइन,
हो केबल, तिम्रा लागि
जो भोली सुनहरा संसार बनेर आवस्
सुवाश बनेर देश देशावर छावस्
भाइचारा बनोस् हामी बीचमा
हो त्यही हो कामना सबैमा ।
यतिबेला त त्यहाँ अर्कै ज्येष्ठ आइसकेको हुन्छ
ती नयाँ अनुजहरु अग्रज भइसकेका हुनेछन्
सबैको मुटु मुटुमा स्नेहले छुनेछन्
हो,त्यस बेला हामी हेरौँला माथिबाट
तिम्रो एक मुठी पिण्ड र तर्पनको
आशै आशमा,अनि फुलपाती पाएर खुसी हुने
हो हामी,कालान्तरमा यही हो चक्र
जहाँ नयाँ पालुवाहरु आउँछन्
ती पुराना पातहरु त्यस बेला सुकेर झर्नेछन् ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।