मेरो मनको शान्त तलाउमा : मीनकुमार राई ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ९ ।
गाउँको शीतल हावा
माटोको मधुर सुगन्ध
गोधूलि साँझको मोहकता
साथी र आफन्तहरूको साथ
सबै छोडेर
सहरको मानव भिडमा
लाग्छ
म एक्लै हराइरहेछु
घण्टाघर
धरहरा
रत्नपार्क
टुँडिखेल
इतिहास बोकेको
यी ठाउँहरूको स्पर्शमा
आनन्दबोध किन हुन्न ?
अपनत्वबोध किन महशुस हुन्न ?
किन मन लोभिन्न अनायसै ?
गाउँका धुलाम्य बाटाहरू
पर खोलानेरको सामूहिक पँधेरो
सिरान गाउँको बर–पिपल
काइँला बडाबाको प्रेममय गालीहरू
समयको बहावले
किन सोहोरेर लाँदैनन्
स्मृतिको पानाबाट ?
सफा सहरको
चिल्ला बाटाहरूमा
अनुहारमा नक्कली मुस्कान टाँसेर
आफ्नै हतारोमा बतासिदै गरेका
सुकिला मान्छेहरू
मेरो गाउँको माल्दाइ जति पनि
किन खुशी देखिदैनन् ?
बेला बेला यस्तै प्रश्नहरूले
प्रहार गरिरहन्छन्
मेरो मनको शान्त तलाउमा ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
