ओशो : शम्भु प्रकृति (कथा)
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २ ।
मध्य किशोरावस्थामा थिएँ । कुरो २०५२ को हो । देशमा भर्खर दशक लामो द्वन्द शुरू भएको थियो । मैले कलेज भर्ना भएको साल नै मुलुकमा नयाँ संक्रमण हुँदै थियो । हामीजस्ता थुप्रै युवाहरुको भविष्यमाथि कुठाराघात भैरहेको थियो भ्रष्ट शासकहरु बिदेशी हस्तक्षेप र दलालहरुले गर्दा । भुराजनीतिक रुपले अत्यन्त संबेदनशिल नेपालमा तथाकथित जनयुद्ध शुरूवात भयो जसले हाम्रो देशलाई कम्तीमा २० बर्ष पछाडी धकेल्यो ।
मेरो जीवनमा पनि नयाँ विकास भैरहेको थियो । भर्खर एस.एल.सी. पास गरेर कलेज भर्ना भएर र काम गरेर अघि बढ्दै थिएँ । नयाँ नयाँ साथीहरु बन्दै थिए देशभरका । हामी सातजनाको एउटा ग्रुप थियो । म, कृष्ण, देवेन्द्र,बिनित, ज्ञानदिप, कृष्णजी र पुरुषचन्द्र गरेर हामी चर्चित थियौं पढ्न र बाहिरी क्रियाकलापमा अगाडि । यहि बेलामा कृष्णजीले उपन्यासहरु लेख्दै प्रकाशित गर्न थाल्नुभयो । हामीहरूले त्यसको प्रचारप्रसार र सार्वजनिकीकरण भुमिका खेल्यौं । नेपाल कमर्स क्याम्पसमा देशभरका विद्यार्थीहरुको जमघट हुने बाताबरण थियो । नजानिदो प्रकारले मैले खोजेको जस्तो परिस्थिति बिद्यमान थियो यहाँ । विभिन्न थरी बिचारधारासङ्ग परिचित हुँदै गैरहेको थिए म । पूंजीवाद, समाजवाद,साम्यवाद आदि आदि ।
आई. कम. दोस्रो बर्षको परीक्षा दिएर नतिजा कुरेर बसेको थिएँ २०५४ सालमा । क्याम्पस नजिकै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पछाडि एउटा स्टेशनरी पसल थियो बाल मुकुन्दजीको। मेरै क्याम्पस सहपाठीको एउटै कक्षामा पढ्ने । २०५३ साल माघ ५ गते शनिबार(१८ जनवरी सन् १९९७)को कान्तिपुर कोशेलीमा मैले स्तम्भकार लिलाराज खतिवडाको ओशो रजनीश सम्बन्धी लेख पढिसकेको थिएँ । उक्त लेखले ममा एक किसिमको हलचल ल्याएको थियो । बाल मुकुन्दजीको पसलमा ओशोको एउटा हिन्दी प्रवचनको किताब रहेछ “शिक्षा नये प्रयोग” भन्ने । उहाँसङ्ग कुरा गर्दै मैले त्यो किताब मागें – “मलाई यो किताब दिनुस् न” भनेर । “यसको मुल्य कति हो मित्र ?” मैले सोधेँ । उहाँको जवाफ थियो – “२० रुपैयाँ आई.सी. नेपाली ३२ रुपैयाँ ।”
म सङ्ग जम्मा २० रुपैयाँ मात्र थियो । मैले भनें –“मसङ्ग अहिले ३२ रुपैयाँ छैन । म अहिले यो किताब लैजान्छु ।१२ रुपैयाँ अर्को चोटीमा दिउँला है ।” किताबमा रुचि लिएको देखेर उहाँले किताब मलाई दिनुभयो र मैले घर लिएर आएँ ओशोको किताब । धेरै दिनसम्म त्यो किताब पढ्दा मेरो पुरै धारणा नै बदलियो । म रुढीबादी र परम्परावादी रहिन । पुरै क्रान्तिकारी बन्न पुगेँ । बाल मुकुन्दजीको पैसा तिरेँ केहि दिनमा । उहाँप्रति निकै कृतज्ञ छु जीवनभर किनभने त्यो सानो घटनाले मेरो जीवन बदलियो ।
ओशोका हरेक शब्दहरु मर्मस्पर्शी र क्रान्तिकारी छन् । उनको मुख्य सन्देश हो ध्यान । उनी स्वयं भन्दछ्न् –“मेरो मुख्य सन्देश ध्यान हो ।” उनका हरेक प्रवचन र ब्याख्याको पछाडि ध्यान जोडिएको छ । मलाई पनि उनले ध्यानसङ्ग जोडिदिए । मैले उनलाई कहिले भेट्न पाइन किनभने उनको महापरिनिर्वाण हुँदा सन् १९९० को १९ जनवरीमा म ५ कक्षा सकेर बसेको थिएँ । ओशो नेपाल आउँदा त म झन् सानो थिएँ । ममा हरेक सृजनशीलता र अध्ययनशीलता ओशोकै कारणले पैदा भए । उनीले ममा अनेक कुराको बिज रोपिदिए । एकप्रकारले म पुर्ण भएँ ।
कृष्णजी साझा प्रकाशनमा प्रुफ रिडरको पदमा कार्यरत हुँदा त्यहींको पुस्तकालयबाट ओशोका पुस्तकहरु ल्याउँदा मलाई पनि पढ्न दिनुहुन्थ्यो । ओशोको पहिलो पुस्तक पढेर ममा आएको परिवर्तन आजसम्म मेटिएको छैन र मेटिनेपनि छैन । बिश्वमा सबभन्दा बढी ओशोकै पुस्तकहरु प्रकाशित छन् ७०० कोसंख्यामा र अडियोभिडियो टेपहरू हजारौं छन् । त्यो रेकर्डलाई आजसम्म कसैले तोड्न सकेको छैन । सम्पुर्ण विषयमा बोल्ने एकजना बुद्धपुरुष ओशोमात्र हुन् । त्यसैले आजको एक्काइसौं शताब्दीमा उनीलाई नपढ्ने र नबुझ्ने मनुष्य नयाँ मनुष्य हुन नै सक्दैन ।
नेपालमा चलेको त्यत्रो द्वन्दले मलाई प्रभावित गर्न सकेन ओशोले भनेजस्तै जसरी गान्धीलाई बेलायतमा हुँदा पुरै युरोपमा चलेको माक्र्स र डार्विनको हावाले छोएन । दोलखातिरका मेरो मीत सानोबुबा नाता पर्ने गङ्गा कमरेड वा विश्व कार्कीले धेरै पटक माओवादी आन्दोलनमा लगाउनको लागि कन्भिन्स गर्न खोज्नुभएको थियो । तर उहाँहरु सफल हुनुभएन मेरो घरमै आएर ढुकेपनि । “नेपालमा राजसंस्था र तपाईंहरुको शान्तिपुर्ण अवतरणको बिकल्प छैन ।” मैले भन्थें उहाँहरुलाई जुन कालान्तरमा सत्य सावित भयो । म बामपंथी भएपनि शान्तिपूर्ण संघर्षको पक्षधर थिएँ जहिले । म माक्र्सवादी र समाजवादी– साम्यवादी हुँ तर म त अहिले पुर्वीय तथा वैदिक साम्यवादी भएको छु हेगेलजस्तै आध्यात्मिक भौतिकवादी वा भौतिकवादी अध्यात्मवादी र हाम्रा भगवान शिव,कृष्ण, देवीदेवता,ऋषिमुनीहरु र बुद्ध जस्तै ।ओशो स्वयंपनि यस्तै थिए जोरवा दि बुद्ध ,जो बिद्रोही थिए र कसैसँग कुनैपनी कुरामा सम्झौता गरेनन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
